समाज


सुनथराली विमानस्थल उद्घाटनमा नेता र मन्त्रीको जम्बो टोली, जहाज उड्ने टुंगो छैन

सुनथराली विमानस्थल उद्घाटनमा नेता र मन्त्रीको जम्बो टोली, जहाज उड्ने टुंगो छैन

तस्बिर : नेपालखबर


दिनेश बुढा
फागुन १४, २०८० सोमबार १४:७, सुर्खेत

कालिकोटको नरहरिनाथ गाउँपालिका–१, कोटवाडास्थित सुनथराली विमानस्थल निर्माण थालिएको ३८ वर्षपछि नियमित उडान हुन सकेको छैन। तर यो विमानस्थलको औपचारिक उद्घाटनका लागि भन्दै संघदेखि प्रदेश सरकारका मन्त्रीहरूको लावालस्कर सुनथराली पुगेको छ। 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल उद्घाटन गर्ने कार्यतालिका थियो। तर, विशेष कारणवश प्रधानमन्त्री नगएपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अन्यमन्त्री तथा नेताहरूको जम्बो टोली कालिकोट पुगेका छन्।

खड्कासँगै विमानस्थल उद्घाटन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसी, कर्णालीकी उपसभामुख यशोधा न्यौपाने, कर्णालीका पूर्वमुख्यमन्त्रीहरु जीवनबहादुर शाही र महेन्द्रबहादुर शाही लगायत जम्बो टोली कालिकोट पुगेको छ।
 

उक्त टोली सुर्खेतबाट तारा एयरको विमान चाटर्ड गरेर कालिकोट लागेको हो। सामान्य विमानस्थल उद्घाटनका लागि संघदेखि प्रदेशसम्मका मन्त्रीहरूको लावालस्कर कालिकोट लागेपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

‘एउटै जहाज चढेर यतिका नेता, मन्त्री माननीय? त्यो नि एउटा एयरपोर्ट उद्घाटन गर्न?’ नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकन्चन भारतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

‘कालिकोट र कर्णालीका जनताले गाडी चढेर कालापहाड होइन, सधैँ काठमाडौँ र सुर्खेत आवतजावत गर्न पैसा कमाउने वातावरण बनाउछौं भन्ने संकल्प गरेर आउनुहोला,’ उनले भनेका छन्, ‘सुनथराली एयरपोर्ट आज उद्घाटन भएपछि ३६५ दिन नै चल्छ भन्ने प्रतिबद्धता गरेर आउनु होला शुभयात्रा ‘माननीय उपप्रधानमन्त्रीज्यू, माननीय नागारिक उड्ययन मन्त्रीज्यू, माननीय मुख्यमन्त्रीज्यू, प्रदेशका माननीय मन्त्रीज्यू, माननीय उपसभामुखज्यू, माननीय प्रतिनिधि सभा सदस्यज्यू, माननीय  प्रदेशसभा सदस्यज्यूहरू।’

यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अन्य प्रतिपक्ष दलहरू राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले सदनमा विवादितमन्त्रीको जवाफ मागसमेत गरिरहेका छन्। 

प्रतिपक्षी दलहरूले विभिन्न विषयमा विवादित बनेका मन्त्रीहरूको राजीनामा माग समेत गरेका छन्। तर, प्रतिनिधिसभा बैठक निरन्तर चलिरहँदा विवादित बनेका नागरिक उड्डयनमन्त्री सुदन किराती संसद छलेर बाहिर हिँडिरहेका छन्।

उडानको छैन टुङ्गो
विमानस्थल उद्घाटन भए पनि नियमित उडानको भने अझैसम्म पनि टुङ्गो लागेको छैन। देश संघीयतामा गएसँगै साविक कर्णालीका ४ जिल्ला प्रदेश राजधानी सुर्खेतसँगको सिधा हवाई सेवाको पहुँचबाहिर छन्। 

२०७४ अघि साविक कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा सुर्खेत विमानस्थलबाट नियमित रूपमा हुँदै आएका उडानहरू त्यसयता नेपालगञ्जबाट हुँदै आएका छन्। 

जसले हवाई सेवा प्रयोग गरी प्रदेश राजधानी आउन लुम्बिनी प्रदेशको नेपालगञ्ज धाउनुपर्ने बाध्यतामा नागरिकहरू छन्।

काठमाडौँ–सुर्खेत सिधा हवाई उडान हुने विमानस्थलमा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको कार्यालयसमेत सुर्खेतमा छैन। 

अझ नेपाल वायुसेवाले सुर्खेत विमानस्थल भएर कर्णालीका कुनै पनि जिल्लामा हालसम्म एउटा पनि उडान भरेको अवस्था छैन।

यस्तै, यस विमानस्थल निर्माणको सुरुवात २०४२ सालबाट गरिएको थियो। तत्कालीन जिल्ला विकास समितिले विमानस्थल निर्माणका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, देशमा चलेको सशस्त्र द्वन्द्वले विमानस्थललाई अघि बढ्न भने दिएन। 

द्वन्द्वको चपेटामा पर्दा विमानस्थल निर्माण कार्यमा निकै सुस्तता आयो। २०६३ मा माओवादी र राज्य पक्षबीच शान्ति सम्झौता भएपछि मात्र विमानस्थल निर्माणले गति लिएको थियो। 

विमानस्थलमा ६ सय ४० मिटरको धावनमार्ग निर्माण गरिएको छ।

यस्तै, बारम्बार यस विमानस्थलमा परीक्षण उडानसमेत गरिएको थियो। यसअघि २०७३ साल माघ २९ मा परीक्षण उडान गरिएको थियो।

त्यसको ७ वर्षपछि अर्थात् २०८० वैशाखमा अन्तिम परीक्षण उडानको तयारी थियो। तर, वैशाखको पहिलो हप्ताबाट विमानस्थलमा परीक्षण उडानको तयारी भए पनि फागुन १३ गते आइतबार पुनः परीक्षण उडान सफल भएपछि आजबाट विमानस्थलको औपचारीक उद्घाटन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .