ad ad

समाज


पाँचखालमा अमेरिका र अस्ट्रेलियासहित १८ देशका सेना जम्मा, १२ समूहमा तालिम

पाँचखालमा अमेरिका र अस्ट्रेलियासहित १८ देशका सेना जम्मा, १२ समूहमा तालिम

तस्बिर : रासस


नेपालखबर
फागुन १६, २०८० बुधबार १७:३०, काठमाडौँ

शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता अभिवृत्ति गर्न काभ्रेपलाञ्चोकको पाँचखालमा विभिन्न १८ देशहरुका सेना सम्मिलित अभ्यास तालिम भइरहेको छ।

फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम कार्यक्रम पाँचखालमा जारी छ। तालिममा अमेरिका, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इण्डोनेसिया, मङ्गोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ वटा देशहरुका सैनिक सहभागी रहेका छन्।

तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रका महासेनानी सञ्जित श्रेष्ठले बताए। उनकाअनुसार शान्ति सेनामा निकट भविष्यमा जाने सेनाहरुलाई मध्यनजर गरी तालिम गरिएको हो।

उनले १४ दिनको तालिममा १० वटा सैनिक टुकडीहरु विदेशका र दुई वटा नेपाली गरी १२ वटा सैनिक टुकडी रहेको बताए। नेपालको तर्फबाट भने निकट भविष्यमा शान्ति सेनामा समावेश हुने टुकडीलाई नै समावेश गरेको बताए।

एशियाका पाँच वटा देशमा हरेक वर्ष यस किसिमका तालिम हुने गरेको उनले बताए। जसमध्ये नेपाल, बंगलादेश, इण्डोनेसिया, मलेसिया र मंगोलिया रहेका छन्। शान्ति सेनामा रहँदा भएका केही कमी कमजोरीलाई तालिमले निखार्ने बताए।

शान्ति सेनामा विभिन्न देशमा जानुपर्ने र त्यहाँ समन्वयको अभाव हुने भएकाले यो तालिम विशेष गरी सहकार्य र समन्वयका लागि आवश्यक रहेको पनि बताए।

अभ्यास तालिमका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सेनानी सुरज बस्न्यातले शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरुले दैनिक गर्नुपर्ने मुख्य कामलाई निखार्न तालिम सञ्चालन गरिएको बताए।

उनले कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरुको सुरक्षा, नयाँ थपिएको काम सैनिकहरु कुनै ठाउँमा अड्कियो भने उनीहरुलाई ल्याउनुपर्ने कार्यहरु लगायतका कुराहरु तालिममा सिकाइएको बताए।

तालिममा संयुक्त राष्ट्र महासंघका परिवर्तित व्यवस्थाबारेमा पनि शान्ति सेनालाई जानकारी गराइएको बताए। शान्ति स्थापनाका दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसको समाधानका लागि तालिम सञ्चालन गरिएको पनि बताए।

अभ्यासमा १ हजार १ सय ६२ जना सैनिक सहभागी रहेको बताइएको छ। २८ जना सैन्य अधिकृतहरुले विभिन्न विषयमा तालिम दिइरहेका छन्। युद्ध भइरहेको देशमा पट्रोलिङ र कर्डन एण्ड सर्च अपरेसन कसरी गर्ने भन्नेसहित ३ वटा मुख्य विधामा तालिम भइरहेको छ।

राष्ट्रसङ्घको सामान ढुवानी गर्दा कसरी स्कर्टिङ गर्ने र मिसन इलाकामा शंकास्पद बिस्फोटक पदार्थ भेटिए कसरी डिस्पोज गर्ने भन्नेबारेमा तालिम केन्द्रमा तालिम गराइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .