ad ad

समाज


हुम्लाको अदानचुलीकी तत्कालीन उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हुम्लाको अदानचुलीकी तत्कालीन उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०८० बुधबार १७:३७, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाकी तत्कालीन उप-प्रमुख सौमति रावल ऐडीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारले आदनचुली-३ स्थित ढकनीकुनादेखि मुढेघट्टसम्म आर्थिक वर्ष २०७४/७५ मा बनाइएको सिँचाइ योजानामा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो। 

अख्तियारले उपप्रमुख ऐडी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर मकरध्वज शाही, सव-इन्जिनियर जयराम छन्त्याल, योजना शाखा कर्मचारी एवम् सरसफाइ प्राविधिक मंगल भण्डारी, तत्कालीन लेखापाल दीपक नेपाली र केही वडाध्यक्षविरुद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ ८९ पैसा बिगो दाबीसहित मुद्दा दर्ता गराएको हो।

उनीहरूले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्डविपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी भएको कामभन्दा ४२ लाख २९ हजार ३५८ रुपैयाँ ८९ पैसा उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारको दाबी छ। 

यस प्रकरणमा अदानचुली-३ का वडाध्यक्ष दत्त विष्टले उक्त सिँचाइ निर्माण योजनाको फिल्डमा वास्तविक भन्दा बढी ४२ लाख २९ हजार ३५८ रुपैयाँ ८९ पैसा बराबरको काम भएको भनी सिफारिस गरेर भ्रष्टाचार गरेको दाबी पनि अख्तियारले गरेको छ। 

त्यसैगरी गाउँपालिका उप-प्रमुख ऐडी, अनुगमन समिति सदस्य मानबहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाले सिँचाइ निर्माण योजनाको वास्तविकभन्दा बढी काम भएको भनी गलत प्रतिवेदन पेश गरेको पनि अख्तियारको आरोप पत्रमा उल्लेख छ। 

उता उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीले गाउँपालिकासँग भएको सम्झौताविपरीत नापी किताब, उपभोक्तासम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराई भुक्तानी माग गरेर भ्रष्टाचार गरेको आरोप पनि अख्तियारको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .