ad ad

समाज


सहारा बनेर आएका लघुवित्तले जब घरबार उजाडिदिए

आन्दोलनमा उत्रेका ऋणी भन्छन् : पैसा तिर्छौं भन्दा पनि सहिनसक्नु दुर्व्यवहार गरे
सहारा बनेर आएका लघुवित्तले जब घरबार उजाडिदिए

तस्बिर : सरोज नेपाल


राधिका अधिकारी
फागुन २७, २०८० आइतबार ११:१९, काठमाडौँ

उमेरमै श्रीमान प्यारालाइसिसले थलिए। एउटी भएकी छोरीको पनि घर बिग्रियो। एक बाली मकै र कोदो फल्ने पाखो बारीले आधा वर्ष पाल्थ्यो। बाँकी समय दुई छाक खानकै लागि मेलापात हिँड्नुपर्ने सल्यान दार्माकी सीता थापाको जीवन कठिन थियो।

पेट पाल्न मुस्किल सीताको अन्य आयस्ता थिएन। थलिएका श्रीमानको राम्रो उपचार गर्ने बाटो देखेकी थिइनन्। त्यही बेला गाउँ पसेको महिला सहयोगी लघुवित्तका बम सरले मायालु लवजमा भने, ‘ऋण लिएर श्रीमानको उपचार गर्नू आमा।’ 

पहिलोपटक ऋण दिन भन्दै लघुवित्त घर पसेको दिन सम्झँदै सीताले भनिन्, ‘बम सर भन्थे सबैले, उहाँको पूरा नाम के हो कुन्नि! मैले त मेरो तिर्ने बाटो छैन भनेकी हुँ। हामी तपाईंहरूजस्तै बेसहारालाई सहारा दिन गाउँ आएका भने। म सोझीले पनि पत्याएँ। अहिले हरेक दिन तेरो छोरी बेपत्ता पार्दिन्छौँ भन्दै धम्क्याउँछन्।’

श्रीमानले राम्रो उपचार पाउने, घर व्यवहार पनि सुधारिने आसमा सीताले ९ वर्षअघि १ लाख ऋण लिइन्। १ लाखको कागज गरेको लघुवित्तले उनको हातमा ८० हजार हालिदियो। २० हजार के शीर्षकमा किन काटियो, उनलाई थाहा छैन। अर्को वर्ष सोही लघुवित्तले २ लाख ऋण थपिदियो। सीताको पाखो बारीको लालपुर्जा राखेर। 

सीता जसोतसो ब्याज तिरिरहेकै थिइन्। लघुवित्तले पुनः ३ लाख ५० हजार ऋण लिनु भन्यो। निरक्षर सीतालाई लघुवित्तले आफूमाथि उपकार गरिरहेछ भन्ने भ्रम भइरह्यो। त्यसपछि उनको घरको लालपुर्जा पनि लघुवित्तले कब्जा गर्‍यो।

जब सीताको जायजेथा आफ्नो कब्जामा पर्‍यो, त्यसपछि लघुवित्तले सताउन थाल्यो। ‘जति पैसा तिरे पनि मेरो ऋण कहिल्यै सकिएन। ६ लाख ५० हजारको ब्याज ८ लाख तिरिसकेँ। लघुवित्तको सरले ब्याज तिर्न १ घण्टा ढिलो हुँदा पनि फाइन तिराएका छन्। अहिले ६ लाख ५० हजार ऋण बढेर ८० लाख भएको छ भन्छन्। म कहाँबाट तिरौँ?’ लघुवित्त पीडितको आन्दोलनमा काठमाडौँ आएकी सीताले प्रश्न गरिन्।  

यो बीचमा लघुवित्तले उनको दैलोमा थुप्रै पटक ताला लगाइसक्यो। कहिले एक्लै कहिले समूहमा आएर घरका सामान निकाल्दिने धम्की दिन्छन्। सीता रातभरि निदाउन सक्दिनन्। ‘एकदिन अस्पतालबाट श्रीमान् लिएर घर फर्किएँ। लघुवित्तका सरहरूले अघिअघि आएर ताला लगाइदिए,’ उनले गहभरि आँसु पार्दै भनिन्, ‘तेरो लोग्ने बोकेर कहाँ जान्छेस् जा भनेर मुख छोडे। श्रीमानलाई पिँढीमा बसाले र लौरो लिएर लगारे। यो उमेरमा अपाङ्ग श्रीमान् बोकेर कतिबेला निस्कनु पर्छ भन्ने भयले भएको पिठो पनि मिठो मानेर खान पाएको छैन।’

सीताको मनसाय आफूले लिएर ऋण तिर्नु नपरोस् भन्ने छैन। तर, लघुवित्तले तिर्नसक्ने रकमको कागज बनाएकै छैन। भाँडा माझेर भए पनि ऋण तिर्छु, घरमा आएर बारम्बार धम्की नदिनू भन्दा लघुवित्तका मानिसहरूले एकदिन खाँदै गरेको भातको थालमा थुकेर हिँडिदिए। त्यसपछि भने सीताको मन नमज्जाले कुँडियो। 

‘सम्झाउँदा सम्झाउँदा वाकदिक भएँ। भाँडा माझेर भएपनि तिर्छु भनिरहेकी छु, यस्तो नचाहिने काम गर्दै हिँड्छौँ। म तेरो पैसा तिर्दै तिर्दिनँ भनेर संघर्ष समितिमा आएकी हुँ,’ सीताले सुनाइन्। 

आन्दोलनरत सीतालाई यो आन्दोलनले न्याय दिन्छ कि दिँदैन थाहा छैन। तर, उनले सुनिन्, ‘लघुवित्त पीडितको समस्या समाधानका लागि संघर्ष समिति गठन भएको हो।’ त्यही सुनाइका भरमा काठमाडौँ आएकी सीता अहिले पनि लघुवित्तका कर्मचारीले घरमा गएर श्रीमान् र छोरीलाई धम्की दिइरहेको सुनाइनन्। ‘हिजो पनि घरमा सरहरू आएका थिए रे। उनीहरूले बाख्रा फुकाएर लैजान्छौँ भनेर धम्काएछन्। छोरीले रुँदै फोन गरेकी थिई। मैले केही भन्न सकिनँ।’

बुटवल बर्दघाटका मोती धरिकारको पनि पीडा उस्तै छ। धरिकारका आमाछोराले भरपेट खानका लागि पनि केही गर्नुपर्ने थियो। त्यही बेला उनका छोराले विदेश जाने योजना बुने। धरिकारले बर्दघाटमा रहेको नेष्डो लघुवित्तबाट छोरालाई विदेश पठाउन २ लाख ऋण लिइन्। छोराले विदेशबाट कमाएर पठाउला अनि ऋण तिरौँला भन्ने धरिकारको सपना पूरा हुन पाएन। विदेश गएको छोरो अक्सिजन सिलिन्डर विस्फोटमा परी गम्भीर घाइते भए।

यता धरिकारलाई नेष्डोले पटक पटक ऋण तिर्न ताकेता गरिरह्यो। जनेतेन किस्ता तिर्दै आएकी धरिकारलाई आर्थिक संकटले नराम्रोसँग गाँज्यो। उनले किस्ता पनि तिर्न सकिनन्। नेष्डोका कर्मचारी दैनिक धरिकारकहाँ आउन थाले। उनीहरू पैसा मात्रै माग्दैनथे। धम्क्याउने र अपशब्द प्रयोग गरी गाली गर्ने गरेको धरिकारले सुनाइन्। 

‘तैँले पैसा नतिरे तँलाई पाप लाग्छ, तेरो छोरो पनि उतै मर्छ, तँ पनि झुन्डिएर मर्। मरेपछि ऋण तिर्नु पर्दैन भन्दै कर्मचारीले घरमै आएर गाली गर्छन्,’ धरिकारले बरबर आँसु खसाल्दै दुखेसो पोखिन्, ‘विस्फोटमा परेर बल्ल बाँचेको छोरो मरोस् भनेर श्राप दिँदा एउटी आमाको मन कस्तो हुँदो हो।’ 

उनी ऋण लिएको भन्दा धेरै पैसा किस्ताका नाममा बुझाएको बताउँछिन्। तर साँवा घटेको छैन्। ‘किस्ता तिर्दा पनि एक दिन ढिलो भयो भने एक हजारको दरले जरिवाना लिएको छ। ठूलाबडालाई त्यस्तो त गर्दैनन् होला तर गरिब भएपछि के गर्नु, सहनुको विकल्प रहेनछ। म कुनै हालतमा तपाईंहरूको पैसा तिर्छु, भाग्दिनँ भन्दा पनि घरमा दैनिक आउने, घर नभेटे गाउँमा खोज्दै हिँड्ने, गाली गर्ने अनि कसरी सहनु?’ धरिकारले गुनोसो पोखिन्, ‘सहनै नसक्ने भएपछि सडकमा उत्रिएको हो।’  

ऋण तिर्न नसक्दा आत्महत्या
गुल्मी, गुल्मीदरबार– ५ का रवि सुनार अमरअर्बाथोकस्थित जनआधारभूत विद्यालयमा प्रावि तहमा पढाउँथे। उनले निजी स्रोतको १० हजार रुपैयाँ तलब बुझ्थे। यो आम्दानीले ३ सन्तानसहित पाँच जनाको परिवार पाल्न सकेनन्। घर–व्यवहार चलाउनकै लागि गाउँकै सूर्योदय लघुवित्तबाट ऋण लिए। सूर्योदयपछि उनले छिमेक, मैत्री र हाम्रो माइक्रोफाइनान्सबाट पनि ऋण लिएका थिए। 

मासिक १५ हजार किस्ता बुझाउनु पर्ने भएपछि उनले एकपछि अर्को संस्थाबाट ऋण निकालेका थिए। उनलाई किस्ता बुझाउन मुस्किल पर्दै गएको थियो। एकदिन उनी अघिल्लो वर्ष मंसिरमा स्कुल गएका बेला लघुवित्तका कर्मचारी घरमा आएर श्रीमती नेत्रकलालाई भैँसी बेचिदिने धम्की दिए। रवि घरमा थिएनन्, वित्तीय कर्मचारीले धेरै पटक फोन गरे। कक्षाकोठामा पढाइरहेका रविको फोन उठेन। उनीहरू विद्यालयमै पुगेर सबैको सामुन्ने धम्क्याए। त्यसपछि २०७९ मंसिर ५ मा उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरे। 

संघर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीका अनुसार अनुसार ऋणीले आत्महत्या गरेपछि समेत लघुवित्तहरूले परिवारलाई धम्क्याउन छाडेका छैनन्। पतिको आत्महत्यापछि लघुवित्तको धम्की सुन्न नसकेर नेत्रकला सानो काखे बालकसहित अहिले विस्थापित भएर भारत पुगेकी छन्। यसरी विस्थापित हुनेको संख्या ठूलो रहेको ज्ञवाली बताउँछन्।

नियमविपरीत कर्जा प्रवाह
कैलाली घोडाघोडी–१ की जुना सुनारको सम्पत्ति डेढ कट्ठा जग्गा र सानो घर हो। उनलाई १३ वटा लघुवित्तले ३१ लाख ऋण प्रवाह गरेका छन्। जुनालाई निर्धन लघुवित्तले दुई लाख ५० हजार, किसान लघुवित्तले ३ लाख, युनिक नेपालले २ लाख, महिलाले २ लाख ५० हजार, आशाले २ लाख, स्वदेशीले ५ लाख, एनआरएनले २ लाख, गणपतिले १ लाख, फरवार्डले १ लाख, जनउत्थानले १ लाख, विजयले २ लाख, कालिकाले ३ लाख र इन्फिनिटीले ४ लाख ऋण दिएका छन्। पहिलो लघुवित्तको ऋण तिर्न दोस्रो, दोस्रोको तिर्न तेस्रो गर्दै उनले ऋण लिएको लघुवित्तको संख्या बढेको हो। 

डडेलधुरा अमरगढी–८ की पार्वतीदेवी पार्कीले ९ वटा लघुवित्तबाट ९ लाख ९० हजार ऋण लिएकी छन्। उनी निगालोका डाला, डोको र भकारी बुनेर गाउँ–गाउँमा बेच्छिन्। तर, यति धेरै लघुवित्तको ऋण र ब्याज आफैमा असाधारण भार बनेपछि पार्वतीले पनि संघर्ष समितिसँग गुहार मागिन्। मोती र सीतासँग जस्तै पार्वतीसँग पनि दुर्व्यवहार थुप्रै चाङ छन्। 

ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले स्थापित लघुवित्त वित्तीय संस्थाहरूले ऋण असुलीका नाममा अनावश्यक दबाब र डर त्रास दिएका कारण थुप्रै ऋणीको थातथलोबाट उठीबास लागेको संघर्ष समितिका केन्द्रीय अध्यक्ष ज्ञवाली बताउँछन्। 

उनी भन्छन्, ‘नेपालमा गरिब र विपन्न परिवारलाई दया र दान होइन, सर्वसुलभ कर्जा चाहिएको छ भनेरै लघुवित्त संस्था स्थापना भएको थियो। सीप भएका, मिहिनेत र परिश्रम गर्न सक्ने भए तापनि वित्तीय पहुँचको अभावमा हात खुम्च्याएर बस्न बाध्य विपन्न परिवारमा बिनाधितो वित्तीय पहुँच पुर्‍याउन भन्दै स्थापना भएका लघुवित्त वित्तीय संस्था उद्देश्यअनुरूप सञ्चालन हुन नसक्दा त्यही विपन्न परिवारको बिचल्ली भएको छ।’

 

‘ग्राहकमा वित्तीय साक्षरता छैन, बिनाधितो पैसा पाएपछि ऋण लिइहाल्छन्। उनीहरूको यही कमजोरीको फाइदा उठाउँदै कयौँ लघुवित्तहरूले एउटै व्यक्तिलाई कर्जा दिन्छन्। धेरै संस्थाबाट पैसा ल्यायो । त्यसलाई कहाँ उपयोग गर्ने भन्ने ज्ञान छैन। हातमा परेको पैसा मनलाग्दी खर्च गरे। लघुवित्तले भुक्तानी माग्दा तिर्ने पैसा भएन। लघुवित्तले पनि नियमभन्दा माथि उठेर ब्याज असुली गर्‍यो। ऋणको भार बढ्दै गएपछि विपन्न वर्गका मानिस उठ्नै नसक्ने भए,’ उनले सुनाए।

लघुवित्तहरूले ४० प्रतिशतसम्म ब्याज असुलेको पीडितहरूको गुनासो छ। राष्ट्र बैंकले भने ब्याजको सीमा तोकेको छ। बैंकले १५ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने भने पनि प्रायः लघुवित्तले घुमाउरो बाटोबाट धेरै सेवाशुल्क लिने गरेको उनीहरूको गुनासो छ। राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा वार्षिक अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याजदर लिन पाउँदैनन्। लघुवित्त संस्थाले बचत र निक्षेप खाता सञ्चालन गरेबापत ग्राहकबाट कुनै पनि किसिमको सेवा शुल्क लिन पाउँदैनन्। 

राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाले बिनाधितो बढीमा ७ लाख र धितोमा बढीमा १५ लाख रुपैयाँसम्म मात्र कर्जा प्रवाह गर्न पाउँछन्। वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा सम्बन्धित ऋणीको अर्को संस्थाबाट कर्जा लिएको वा नलिएको यकिन गर्नु पर्ने समेत भनिएको छ। तर, आन्दोलनमा आएका अधिकांश पीडितले २० वटासम्म संस्थाबाट ऋण लिएको बताएका छन्। राष्ट्र बैंकको निर्देशनमा बिनाधितो सामूहिक जमानीमा वा धितो सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एक ऋणीले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिए नलिएको यकिन गरी यस व्यवस्था बमोजिमको एकल ग्राहक कर्जा सीमा ननाघ्ने गरी मात्र प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ। 

२०७५ सालमै राष्ट्र बैंकले गरेको एक अध्ययनले उद्देश्यअनुरूप लक्षित वर्गमा लघुवित्तीय सेवा पुग्न नसकेको देखाएको थियो। ‘संघीय संरचनामा लघुवित्तीय सेवाको पहुँच तथा संरचना’ विषयक अध्ययनले लघुवित्त संस्थाहरू सहरकेन्द्रित र नाफामुखी भएकै कारण अपेक्षाअनुसार सेवा लक्षित वर्गमा पुग्न नसकेको देखाएको हो। 

लघुवित्त संस्थाहरूमा बहुबैंकिङ व्याप्त रहेको राष्ट्र बैंकको अध्ययनमा पनि देखिएको छ। सर्वेक्षणका अनुसार लघुवित्त संस्थाबाट ऋण लिएका घरपरिवारमध्ये ७० प्रतिशतले एकभन्दा बढी संस्थाबाट ऋण लिएको देखाएको थियो। राष्ट्र बैंकको निर्देशनअनुसार हाल लघुवित्त वित्तीय संस्थाले एउटा ऋणीलाई बिनाधितो ७ लाख र धितोमा १५ लाख रुपैयाँभन्दा बढी ऋण दिन नपाए पनि आन्दोलनमा आएका पीडितहरूले बिनाधितो ३१ लाखसम्म ऋण लिएको बताएका छन्।

सकारात्मक पहल नभए आन्दोलन हिंसात्मक हुने चेतावनी 
अहिले देशभरका करिब ३ हजार लघुवित्त पीडित काठमाडौँमा छन्। यही फागुन ५ गते काठमाडौँ पसेका उनीहरू मुग्लिनबाट हिँडेरै काठमाडौँ आएका हुन्। यसअघि २ पटक काठमाडौँ आएर फर्किएका पीडितहरू सरकारले समिति बनाएर पनि केही काम नगरेकोले पुनः सरकारलाई झक्झक्याउन काठमाडौँ आएको संघर्ष समितिका केन्द्रीय अध्यक्ष ज्ञवालीले जानकारी दिए। 

ज्ञवालीका अनुसार आन्दोलनमा आएका पीडितहरूले आफ्नो खर्चको जोहो आफैँले गरिरहेका छन्। उनीहरूले काठमाडौँ आउँदा आफ्नो घरमा भएको अन्नपात लिएर काठमाडौँ आएका थिए। सुत्ने म्याट र पाल आफैँले बोकेर आएका पीडित खाद्यन्न सकिँदै गएपछि चिन्तामा रहेको ज्ञवालीले सुनाए। बुधबार आफ्ना माग पूरा गर्न ३ दिने अल्टिमेटम दिएको संघर्ष समितिले सकारात्मक पहल नभए आन्दोलनको स्वरुप परिवर्तन गर्ने चेतावनी दिएको छ।

लघुवित्त पीडित संघर्ष समिति सल्यानका जिल्ला अध्यक्ष खिमबहादुर राना भन्छन्, ‘सकारात्मक पहल भएन भने हाम्रो आन्दोलन हिंसात्मक पनि हुन सक्छ। शान्तिपूर्ण आन्दोलन गर्दा हामीलाई सुनिएन भने बाध्य भएर बाटो परिवर्तन गर्नु पर्ने हुन सक्छ।’ संसद् भवनमा पीडित महिला छिरेको घटनालाई सामान्य भन्दै राना भन्छन्, ‘हामीलाई बेलैमा सम्बोधन नगरे त्यो भन्दा ठूला आन्दोलनका रुप देखाउँछौँ।’

सल्यानमा मात्रै १ हजार लघुवित्त पीडित रहेको रानाको भनाइ छ। सल्यान जिल्लाको प्रतिनिधित्व गर्दै ५२ जना काठमाडौँ आएका छन्। देशभरबाट करिब ३ हजार पीडित काठमाडौँ आएको रानाले बताए। उनीहरू काठमाडौँ थापाथलीस्थित राममन्दिर, सिफल चौर र नयाँ बसपार्क क्षेत्रमा छरिएका बसेका संघर्ष समितिका केन्द्रीय अध्यक्ष ज्ञवालीले बताए। 

लघुवित्तविरुद्धको आन्दोलन २०७८ माघ १ गते गुल्मीको गुल्मी दरबार गाउँपालिबाट सुरु भएको थियो। त्यसपछि निरन्तर संघर्ष गर्दै पीडितले २०८० असार २८ देखि साउन १४ गतेसम्म १८ दिन आमरण अनशनसमेत बसे। सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव भूपाल बरालको नेतृत्वमा र संघर्ष समितिका तर्फबाट रमेश तामाङसहित ५ सदस्यीय वार्ता टोली बनाइएको थियो। त्यस बेला चारपटक वार्ता समेत भयो। तर, राष्ट्र बैंकले प्रतिनिधि नपठाएर असहयोग गरेकाले निकासमा बाधक भएको भन्दै पीडितहरू फेरि गत मंसिर ५ देखि आन्दोलित भएका थिए। फागुन १ गतेदेखि मुग्लिनबाट पैदल यात्रासहित ५ गते काठमाडौँ आएका उनीहरूले विभिन्न चरणमा आन्दोलन गरिरहेका छन्।

ऋण लिएपछि तिर्नुपर्नेमा आन्दोलित हुनु उचित हो त भन्ने प्रश्नमा संघर्ष समितिका अध्यक्ष ज्ञवालीले भने, ‘लघुवित्तहरूले जनतालाई अन्यायपूर्ण ऋणमा फसाएका हुन्। राष्ट्र बैंकको निर्देशन नमान्ने र जनतालाई आर्थिक र सामाजिक शोषण गर्ने काम भयो। निर्देशिका विपरीत काम गरेकाले यसको गल्तीको भागेदार लघुवित्त हुन्। नेपालमा लघुवित्तहरू असफल भएकाले यो खारेज हुनुपर्छ भनेर आन्दोलन भैरहेको हो।’

के छन् लघुवित्त पीडितका माग?
उनीहरूले सरकारसमक्ष ९ बुँदे माग अघि सारेका छन्। जसमा लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्नेलगायतका माग छन्। त्यस्तै, गरिब किसानलाई निःशुल्क ऋण प्रदान, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था हुनुपर्ने माग छ। समाजवादी अर्थतन्त्रको विकास, जनपक्षीय मौद्रिक नीति कायम, कालोसूची तथा धितो लिलाम फुकुवा, भूमिहीन तथा वित्तीय शोषणका पीडितहरूलाई मुआब्जाको व्यवस्था र प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्थ गर्नुपर्ने लगायत उनीहरूले माग गरेका छन्। यी मागका विषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने संघर्ष समितिको माग छ। आन्दोलनमा सहभागीहरूले आफ्ना माग पूरा नभएसम्म घर नफर्कने समेत बताएका छन्।

यसअघिको आन्दोलनका क्रममा प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएको तर त्यसो नभएकोले यो आन्दोलन गर्नु परेको लघुवित्तविरुद्धको संघर्ष समितिका अध्यक्ष ज्ञवालीले बताए।

थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .