राजनीति


माओवादी बैठकमा सांसदको प्रश्न– मन्त्री छान्ने मापदण्ड के हो?

माओवादी बैठकमा सांसदको प्रश्न– मन्त्री छान्ने मापदण्ड के हो?

नेपालखबर
फागुन २६, २०८० शनिबार १९:२१, काठमाडौँ

नेकपा माओवादी केन्द्रभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बेलाको मापदण्डबारे प्रश्न उठेको छ। कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार बसेको संसदीय दलको बैठकमा केही सांसदहरूले मन्त्री बनाउँदाको मापदण्डबारे प्रश्न राखेका हुन्। 

प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई के आधारमा मन्त्रिपरिषद् विस्तार भएको हो? भन्दै केही युवा सांसदहरूले प्रश्न गरेका थिए। सिन्धुपाल्चोकका सांसद माधव सापकोटा सुबोध, सिन्धुलीका सांसद लेखनाथ दाहाल र मोरङका सांसद अमनलाल मोदीले दलकै बैठकमा अध्यक्षसामु मापदण्डबारे प्रश्न राखेको एक सांसदले जानकारी दिए। 

‘आजको बैठकमा केही माननीयज्यूहरूले कडै प्रश्न राख्नुभयो,’ ती सांसदले नेपालखबरसँग भने, ‘आजको प्रश्नले अब यसअघि पार्टी शीर्ष तहबाट हुने निर्णयअघि नेतृत्वलाई सोच्नुपर्ने बनाएको छ।’

सांसद सापकोटाले बैठकमा मन्त्रिमण्डल विस्तारको मापदण्ड र आधार खोजी गरेका थिए। 

‘मन्त्रिमण्डल विस्तारको मापदण्ड के हो? के आधारमा गरियो?,’ सांसद सापकोटाले बैठकमा राखेको भनाई उदृत गर्दै एक सांसदले भने, ‘यसको जानकारी हुनुपर्छ कि पर्दैन?’

अन्य सांसदहरू दाहाल र मोदीले पनि यही विषयको पेरिफेरिमा रहेर आफ्ना कुरा राखेको ती सांसद बताउँछन्। 

खासमा यो पटक मन्त्रिपरिषद् विस्तार हुँदा सापकोटाको पनि चर्चा थियो। अन्तिम समयमा नारायणकाजी श्रेष्ठले नमानेपछि उनलाई गृहबाट परराष्ट्रमा प्रधानमन्त्रीले सारेका थिए। 

प्रधानमन्त्री निकट स्रोतका अनुसार नारायणकाजीले नमानेकै कारण माओवादीले नयाँ अनुहाररू मन्त्रिमण्डलमा समावेश गर्न नसकेको हो। 

शनिबारको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले नयाँ सत्ता समीकरण बनेपछि अब निभाउनपर्ने भूमिकाबारे सांसदहरूलाई प्रशिक्षित गरेका थिए। 

बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस भइसकेकाले अब गठबन्धनमा सहभागी अन्य दलसँग छलफल गरेर मात्रै त्यसबारेकोे छलफल अघि बढाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताएका थिए। 

गत फागुन १४ को प्रतिनिधि सभा बैठकमा कांग्रेससँगकै गठबन्धन सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेको थियो। 

‘पहिलाको अर्थमन्त्रीले बजेट कसिलो तरिकाले प्रस्तुत गर्नुभएको थियो,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै ती सांसदले भने, ‘अब त्यसलाई फुकाएर लैजाने भन्नेबारे पनि छलफल भयो।’

अहिलेको गठबन्धनबारे केही समय पहिल्यैदेखि होमवर्क भएको र अब यसलाई सफल बनाउनेगरी अघि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।

‘वामपन्थीको शक्ति कमजोर हुने भयो भनेर पहिलादेखि नै एक्सरसाइज भएको थियो,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै ती सांसदले भने।

नयाँ सत्ता समीकरण मन्त्रिमण्डलको पुनर्गठनको मर्म र कसरी अघि जाने भन्नेबारे नै संसदीय दललाई प्रष्ट पारेको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका थिए। ‘प्रधानमन्त्रीले स्पष्टका साथ सबै विषय राख्नुभयो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .