World Cup 2026


अर्जेन्टिना र फ्रान्ससँगै ६ टोली विश्वकपको नकआउटमा

अर्जेन्टिना र फ्रान्ससँगै ६ टोली विश्वकपको नकआउटमा

लक्ष्मी जि.सी
असार ९, २०८३ मंगलबार १४:०, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत दोस्रो चरणको खेल जारी रहँदा ६ टोलीले नकआउटमा स्थान बनाइसकेका छन्। 

सोमबार राति र मंगलबार बिहान भएको खेलबाट साविक विजेता अर्जेन्टिना र उपविजेता फ्रान्स नकआउटमा पुगेका छन्। दुवै टोलीसँगै २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे पनि एक खेलअघि नै नकआउटमा पुगेको छ। 

समूह ‘आई’को खेलमा फ्रान्सले इराकलाई ३–० गोलले हरायो। अर्को खेलमा नर्वेले सेनेगलमाथि ३–२ गोलको संर्घषपूर्ण जित निकाल्यो। फ्रान्स र नर्वेको जितका एमबाप्पे र हालान्ड नायक बने। दुवैको नाममा दुई–दुई गोल रह्यो। 

समूह ‘जे’को खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोलले पराजित गर्दा अर्को खेलमा अल्जेरियाले जोर्डनमाथि २–१ गोलको पूनरागमन जित हात पा¥यो। पहिलो हाफको नवौँ मिनेटमा नै पेनाल्टीमा अग्रता लिने सुन्दर मौका अर्जेन्टिनाले पाएको थियो। तर त्यसमा मेस्सी चुके। पेनाल्टीमा गोल गर्न नसकेका मेस्सीले त्यसपछि दुई गोल गर्दै टोलीलाई जित दिलाए। 

यससँगै मेस्सीले विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान समेत बनाए। यसअघि फ्रान्सका जस्ट फन्टेन र ब्राजिलका जाइर्निन्होले यो उपलब्धि हात पारेका थिए। 

दोस्रो राउन्डअन्तर्गत अब समूह ‘के’ र ‘एल’को खेल हुन बाँकी छ। दुवै समूहका खेल मंगलबार राति र बुधबार बिहान हुनेछन्। 

मंगलबार राति पौने ११ बजे पोर्चुगल र उज्वेकिस्तान भिड्नेछन्। पहिलो खेलमा डीआर कंगोसँग १–१ को बराबरी गरेको पोर्चुगल आजको खेलमा जित्नैपर्ने दबाबमा छ। 

पहिलो खेलमा गोल गर्न नसकेका रोनाल्डो आजको खेलमा लयमा फर्कने विश्वास उनको समर्थकको छ। लयमा नहुँदा उनीमाथि दबाब बढेको छ। 

जारी विश्वकपमा मेस्सीसँगै केलियन एमबाप्पे, पहिलो पटक विश्वकप खेलिरहेका नर्वेका एर्लिङ हालान्ड उच्च लयमा छन्। 

विश्वकपमा डेब्यु खेल खेलिरहेको उज्वेकिस्तान पहिलो खेलमा कोलम्बियासँग ३–१ गोलले पराजित भएको थियो। आजको खेलमा पोर्चुगलविरुद्ध हार भोगेमा उज्वेकिस्तान एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ। 

पोर्चुगलसँग बराबरी गरेको कंगो आजको खेलमा कोलम्बियाविरुद्ध मैदान उत्रिँदै छ। यो खेल बुधबार बिहान पौने ८ बजे सुरु हुनेछ। आजको खेलमा कंगोलाई पराजित गरे कोलम्बिया एक खेल अगावै नकआउटमा पुग्नेछ। 

समूह ‘एल’को खेलमा इंग्ल्यान्डले क्रियसियालाई ४–२ गोलले हराएको थियो। अर्को खेलमा घानाले पानामा माथि १–० गोलको कठिन जित हात पारेको थियो।  

राति पौने २ बजे इंग्ल्यान्ड र घाना भिड्दै छन्। समूह चरणमा अपराजित रहेका दुवै टोली जित निकाल्दै एक खेलअघि नै नकआउटमा स्थान बनाउने लक्ष्यमा छन्। 

पहिलो खेलमा हार भोगेका पानामा र क्रोएशिया भने ३ अंक जोड्दै नकआउट खेल्ने सम्भावना जिवित राख्न चाहन्छन्। यो खेल बिहान पौने ५ बजे सुर हुनेछ। 

गोल्डेन बुटको दौडमा पाँच खेलाडी
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउनेछन्। त्यसका लागि केही नियम पनि छन्। गोल्डेन बुटको दौडमा रहने खेलाडीले सर्वाधिक गोल त गर्नुनै पर्छ तर दुई वा त्योभन्दा बढी खेलाडीले समान गोल गरे भने असिस्टको संख्या हेरिनेछ। यसका लागि फिफाले प्राविधिक टोली पनि बनाएको छ। 

यदी असिस्टको संख्यालाई ध्यानमा राख्दा पनि दुई वा बढी खेलाडीले समान गोल गरेछन् भने के हुन्छ त? त्यसका लागि भने विश्वकपमा खेलेको कुल मिनेटलाई हेरिनेछ। यस्तोमा कम मिनेट खेल्ने खेलाडी गोल्डेन बुटको विजेता बन्नेछ। 

छैटौँ पटक विश्वकप खेलिरहेको अर्जेन्टिनी कप्तान लियोनल मेस्सी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्। पहिलो खेलमा ह्याट्रिक गरेका मेस्सीले दोस्रो खेलमा पनि दुई गोल गरेका छन्। विश्वकपमा अर्जेन्टिनाले निकालेको दुवै जितमा मेस्सीले निर्णायक गोल गरे। 

अस्ट्रियामाथिको जितमा दुई गोल गर्दै मेस्सी विश्वकपको इतिहासमै सर्वाधिक गोलकर्ता बने। विश्वकपमा समग्रमा १८ गोल गरेका मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पारेका छन्। 

३८ वर्षको उमेरमा पनि उच्च लयमा रहेका मेस्सीलाई फ्रान्सका केलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्डले पछ्याइरहेका छन्। सर्वाधिक गोलकर्ताको सूचीमा मेस्सीलाई फ्रान्सका कप्तान केलियन एमबाप्पेले पछ्याइरहेका छन्। विश्वकपमा सेनेगल र इराकविरुद्ध लगातार दुई–दुई गोल गरेका एमबाप्पेले आफूलाई अब्बल सावित गरेका छन्।  

अघिल्लो संस्करणको गोल्डेन बुट विजेता एमबाप्पे चार गोल गर्दै सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन्। उनको पछि नर्वेका फरवार्ड एर्लिङ हालान्ड छन्। समूह चरणका दुई खेलमा चार गोल गरेका हालान्ड तेस्रो स्थानमा छन्। 

मेस्सी, एमबाप्पे र हालान्डको पछि जर्मनीका फरवार्ड डेनिज उन्डभ र क्यानडाका जोनाथन डेविड छन्। विश्वकपमा तीन गोल र दुई असिस्ट गरेका डेनिज सर्वाधिक गोलकर्ताको चौथो स्थानमा छन्। 

उनको पछि क्यानडाका जोनाथन तीन गोल गर्दै पाचौँ स्थानमा छन्। उनीलाई पछ्याउँदै १८ खेलाडीले दुई गोल आफ्नो नाममा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad