समाज


हुम्लाको चंखेलीमा भ्रष्टाचार : जनप्रतिनिधि र कर्मचारीविरुद्ध एक महिनाबीचमा तीनवटा मुद्दा

हुम्लाको चंखेलीमा भ्रष्टाचार : जनप्रतिनिधि र कर्मचारीविरुद्ध एक महिनाबीचमा तीनवटा मुद्दा

फाइल तस्बिर


नेपालखबर
चैत १, २०८० बिहिबार १५:३६, काठमाडौँ

हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

गत फागुन १० र २२ गते दुईवटा भ्रष्टाचर मुद्दा चलाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चंखेलीका तत्कालीन अध्यक्ष धनलाल चौलागाई र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित १० जनाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा चलाएको हो। 

फागुन १० गते दायर गरिएको मुद्दामा भने तत्कालीन अध्यक्ष चौलागाईं मुछिएका थिएनन्। त्यसबेला अख्तियारले तत्कालीन प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

फागुन १० मा अख्तियारले तत्कालीन प्रशासकीय अधिकृत शाहीसहित इन्जिनियर, वडाध्यक्षसमेतविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।

 

उक्त मुद्दाका क्रममा अख्तियारले अनुसन्धान हुँदै जाँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढाले आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालित फिल्ड निर्माण कार्यमा फिल्डको वास्तविक कार्यभन्दा बढी मूल्याङ्‍कन गरि भ्रष्टाचार गरेको जनाएको थियो। तर त्यो मुद्दामा तत्कालीन अध्यक्ष चौलागाईंलाई विपक्ष बनाइएको थिएन।

अख्तियारले फागु २२ गते दायर गरेको मुद्दामा भने अध्यक्ष चौलागाईं र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ९ जनालाई विपक्षी बनाउँदै मुद्दा चलाएको थियो। 

आयोगले उक्त मुद्दामा गाउँपालिकाकै वडा नम्बर ३ का तत्कालीन अध्यक्ष शालिग्राम ऐडी, निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर वली, लेखापाल धर्मवीर पल्लीमगर, असिस्टेन्ट सव-इन्जिनियर अजबहादुर बुढा तथा उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंशबहादुर ऐडीसहित ८ जनालाई प्रतिवादी बनाएको थियो।

गाउँपालिकाको वडा नम्बर ३ मा मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा आर्थिक वर्ष २०७४-०७५ मा १० लाख २९ हजार ३२५ रूपैयाँ बराबर अनियमितता तथा भ्रष्टाचार गरेको अभियोगमा कैद तथा सजाय मागसहित अख्तियारले फागुन २२ गते मुद्दा चलाएको थियो। 

अख्तिायरले उनीहरूविरुद्ध नै बिहीबार पनि अर्को भ्रष्टाचार मुद्दामा चलाएको छ। 

गाउँपालिकाको वडा नम्बर तीन स्थित ब्याफु खानेपानी मर्मतका लागि आर्थिक वर्ष २०७४/७५ मा छुट्टाइएको रकम हिनामिना गरेको ठहरसहित अख्तियारले उनीहरूविरुद्ध एक महिनाबीचमा तेस्रो मुद्दा चलाएको हो।

बिहीबार चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब-इन्जिनियर हर्कधन बुढाले गैरकानुनी लाभ र सरकारलाई हानी पुर्‍याउने नियतले वास्तविक काम भएकोभन्दा ५ लाख १५ हजार १०८ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्ट्राचार गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन्। 

जनप्रतिनिधि र कर्मचारीहरूले मिलेर ब्याफु खानेपानी मर्मत योजनाको फिल्डमा नापी किताब बमोजिम काम नभए पनि काम भएको भनी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्तासम्बन्धी फर्जी बिल भर्पाई बनाउने, चेकजाँच गर्ने, प्रमाणित र टिप्पणीमा सही गरेको दाबी अख्तियारले गरेको छ।

अख्तियारले उनीहरूविरुद्ध ५ लाख १५ हजार १०८ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन एवम् बिगो असुलउपर गर्न माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .