ad ad

समाज


प्रेम प्रस्ताव अस्वीकार गर्दा गयो सुष्माको ज्यान, ८ दिन बाटो ढुकेर गरे रुपेन्द्रले हत्या

प्रेम प्रस्ताव अस्वीकार गर्दा गयो सुष्माको ज्यान, ८ दिन बाटो ढुकेर गरे रुपेन्द्रले हत्या

तस्बिर : नेपाल प्रहरी


उजिर कार्की
चैत ४, २०८० आइतबार १३:१८, काठमाडौँ

प्रेम प्रस्ताव अस्वीकार गरेका कारण काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३ तारेभिरकी सुष्मा लामाको हत्या भएको खुलेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न त्यही गाउँका २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको छ। 

१८ वर्षकी सुष्मालाई रुपेन्द्रले मन पराउने र प्रेम प्रस्ताव गर्दा सुष्माले अस्वीकार गरेपछि हत्या गरेको खुलेको छ। रुपेन्द्रले सुष्मालाई ८ महिना पहिलेदेखि मन पराउने गरेको र प्रेम प्रस्ताव गर्दा सुष्माले अस्वीकार गरेको खुलेको छ। 

उनीहरु २ वर्ष पहिलेदेखि घाँस काट्न, बाख्रा चराउन सँगै जाने आउने गरेको रुपेन्द्रले बताएको प्रहरीले जानकारी दिएको छ। 

तर फोन तथा सामाजिक सञ्जालमा भने कुराकानी भएको देखिएको छैन। एकतर्फी माया गरेका रुपेन्द्रले पटक पटक प्रेम प्रस्ताव गर्दा पनि सुष्माले अस्वीकार गरेपछि हत्या गरेको प्रहरी समक्ष बताएका छन्। 

हत्या गर्नुभन्दा ८ दिन पहिलेदेखि उनले बाटोमा ढुकेर बसेको र खाल्डो खन्नका लागि ४ दिनदेखि कोदालो पनि लगेको खुलेको छ।

माघ २४ गते घटनाको दिन सुष्मा कलेज जाँदै गर्दा बाटो छेकेर रुपेन्द्रले प्रेम प्रस्ताव गरेका थिए। तर सुष्माले इन्कार गरेपछि पछाडिबाट घाँटी थिची अचेत बनाएर पुर्न पहिलै यकिन गरेका स्थानमा लगेर टाइ र जुत्ताको तुनाले कसेर हत्या गरेका थिए।

हात पनि पेटीले बाँधेका थिए। हत्यापछि उनले कुटोले खाल्डो खनेर पुरेका थिए। 

त्यसपछि मृतकको मोबाइल र पुस्तक भने उनले लिएर गएका थिए। सुष्मा बुढानिलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। 
२४ गते सुष्मा कलेज गएपनि घर फर्किएकी थिइनन्। त्यसको भोलिपल्ट उनले प्रयोग गर्ने फेसबुक सुष्मा मंगोलियनमा आफूले विवाह गरेको भनि पोष्ट भएको थियो। 

२०८० माघ २३ गते गुगलबाट अर्कै बेहुला बेहुलीको फोटो डाउनलोड गरेर सम्पादन गरी सुष्माको फेसबुकमा सरी सबैलाई म ३ दिनपछि आउछु लेखेर पोष्ट गरेपछि फेसबुक डिएक्टिभ गरिएको थियो। 

माघ २५ गते सुष्मा लामा तीनदिनदेखि हराएको भनि प्रहरी बृत्त बौद्धमा आफन्तले खोजतलासका लागि निवेदन दिएका थिए।

२५ गते मृतकका आफन्तले खोजतलासको लागि प्रहरी कार्यालयमा निवेदन दिन गएको कुरा मृतककी आमाले रुपेन्द्रको घरमा पुगेर कुरा गरेकी थिइन्।

उक्त कुरा गरेको रुपेन्द्रले पनि सुनेका थिए। त्यसपछि उनले माघ २६ गते मृतकको दिदीको फोन नम्बरमा म्यासेज गरी, ‘किन के को पुलिस रिपोर्ट गरेको म ३ दिनमा आउँछु भन्दाभन्दै कस्तो मान्छेहरु रहेछ अब आउँछु भन्ठानिरा होला, अब मलाई बाच्चा पनि भइसक्यो होला हामीलाई जेलमा हालेर के पाउँछ अब त टाढा गएर बस्ने हो, कसैले केहिको पनि चिन्ता लिनु पर्दैन हाम्रो’ भनेर उल्लेख गरिएको थियो। 

त्यति म्यासेज गरेर रुपेशले आफ्नो मोवाइल बन्द गरेका थिए। तर घटना भएको एक महिनापछि फागुन २४ गते साढे ४ बजेतिर तारेभीरको शिवपुरी राष्ट्रिय निकुन्जको जंगलमा दुईवटा हात मात्रै देखिएको शरीरको भाग पुरिएको अवस्थामा फेला परेको थियो। खोतलेपछि उक्त शव सुष्माको भएको खुलेको थियो। 

शवको पहिचान भएसँगै अनुसन्धानका लागि खटिएको प्रहरीले रुपेन्द्रलाई पक्राउ गर्न सफल भएको हो। उनलाई कर्तव्य ज्यानको कसुरमा कारबाहीका लागि प्रहरी बृत्त बौद्धमा पठाउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .