समाज


चीनको वुहानमा रहेका नेपालीको उद्धारका लागि उड्यो विमान

चीनको वुहानमा रहेका नेपालीको उद्धारका लागि उड्यो विमान

नेपालखबर
फागुन ३, २०७६ शनिबार ११:२८,

कोरना भाइरसका कारण चीनको वुहानमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ उडेको छ।

शनिबार दिउँसो नेपाली समय ४ बजेर १ मिनेटमा नेपाल वायुसेवा निगमको वाइडबडी विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनका लागि उडेको हो।झण्डै एक महिना लामो रस्साकस्सीपछि नेपाल सरकारले चीनको हुबेइमा रहेका नेपालीलाई स्वदेश ल्याउन आज (शनिबार) नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चीनका लागि उडेको हो।

चीनेका हुबेई प्रान्तको वुहानबाट १८५ नेपालीलाई स्वदेश ल्याउन वाइडबडीको एयरबस ३३० जहाज दिउँसो पौने ३ बजे त्यसतर्फ उड्ने भने पनि त्यसको सवा १ घण्टापछि मात्रै विमान चीनतर्फ उडेको हो।

साे विमानमा  एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन्।

सो जहाज उडेको ३ घण्टा ३६ मिनेटमा वुहान पुग्ने र स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ। वुहानबाट स्थानीय समयअनुसार राति ११ बजे  १८५ नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

काठमाडौं आइसकेपछि चीनबाट फर्किएका ती नेपालीलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ।

नेपाली दूतावासको निर्देशनअनुसार नेपाल फर्कन चाहने हुबेई प्रान्तको वुहानलगायतका शहरका नेपालीहरुलाई ६ घण्टा अगावै विमानस्थल पुगिसक्न भनिएको छ। विमानस्थलबाट टाढाका सहरमा रहेका नेपालीलाई शनिबार बिहानैदेखि बसले बोक्न शुरु गरिसकेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले बताए।

‘सबै नेपालीहरुलाई बसको रुट, सम्पर्क व्यक्ति लगायत आवश्यक सम्पूर्ण विवरण दिइएको छ,’ उनले भने, ‘टाढा रहेका नेपालीहरु बिहानैदेखि बसमा हिँडिसकेका छन् भने नजिक हुने पनि हिँड्नेक्रममा छन्।’ 

यसरी ल्याइनेछ
वुहानबाट ल्याइने नेपालीमध्ये शंकास्पदई विमानको तोकिएको अन्तिम सिट (आइसोलेसनमा)मा राखिनेछ। काठमाडौं अवतरणपछि उनीहरूलाई अन्तिम ढोकाबाट निकालिनेछ।

स्वास्थ्य मन्त्रालयका अनुसार जहाजबाट ओराल्दा एक-अर्कालाई एक मिटरको दूरीमा राखिनेछ भने काठमाडौं ओर्लनेबित्तिकै विमानस्थलमा स्वास्थ्य परीक्षण गरिनेछ।

कोही शंकास्पद भए तोकिएको अस्पताल लगिनेछ। सामान्य अवस्थाका सबैलाई बसमा राखेर सीधै क्वारेन्टाइनमा पुर्याइनेछ।

नेपाल ल्याइने १ सय ८५ जनाका नेपालीका लागि ६० कोठा व्यवस्था गरिएको छ। उचित दूरीको फरकमा १ देखि ३ जनासम्म राख्ने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ।

क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ । स्वास्थ्य टोली आवश्यकताअनुसार चौबिसै घन्टा सेवामा रहनेछन्।

सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँचिनेछ। क्वारेन्टाइनमा पुगेको २४ घन्टाभित्र सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ भने र  १४ दिनमा अर्को जाँच गरिनेछ।

क्वारेन्टाइनमा बसेका बेला उनीहरूले अभिभावकसँग भेटघाट गर्न पाउने छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .