ad ad

समाज


१० दिनमा पनि पत्ता लागेनन् जिसी दम्पतीका हत्यारा, खटियो सीआईबीको टोली

१० दिनमा पनि पत्ता लागेनन् जिसी दम्पतीका हत्यारा, खटियो सीआईबीको टोली

उजिर कार्की
चैत २८, २०८० बुधबार १९:२०, काठमाडौँ

पर्वतको जलजला गाउँपालिका २ मल्लाज दह गाउँका दम्पतीको हत्या भएको १० दिन हुँदा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। 

चैत १९ गते ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। हत्याराले उनीहरूका गरगहना पनि लुटेका छन्। हत्यालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वत, गण्डकी प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी एकाइबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ। 

तर १० दिन पुग्दा पनि निचोडमा पुग्न नसकेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाइएको छ। सीआईबीबाट प्रहरी निरीक्षकको कमान्डमा बुधबार टोली घटनास्थलतर्फ लागेको सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीले बताए। यसअघि पनि सीआईबीले प्राविधिक सहयोग गर्दै आएको थियो। तर जिल्ला र प्रदेशबाट अनुसन्धानका लागि टोली नै माग भएपछि बुधबार घटनास्थलमै टोली पठाइएको हो। 

लुटपाट गर्ने उदेश्यले हत्या गरिएको निष्कर्ष निकालेको प्रहरीले हत्या कसले गरेको हो भन्ने पत्ता लगाउन भने अझै समय लाग्ने बताएको छ। 

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विकासराज खनालले भने, ‘हामी सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ। सीआईबीको टोली पनि मगाएका छौँ। भरेभोलि नै सीआईबीको टोली पनि आउँछ। टेक्निकल्ली अलिक बढी हेर्नु पर्ने भयो।’

अनुसन्धानलाई साँघुरो बनाउँदै लगेको बताए पनि निचोडमा पुग्न भने समय लाग्ने डीआईजी खनालले बताए। 

‘यो केसमा पनि अलिक समय लाग्यो, अपराधीले चलाखी गरेकाले पनि समय लागेको हो। टेक्निकल्ली केही अप्ठेरा पनि छन्। घुमाउरो बाटोबाट पक्राउ गर्नपर्ने अवस्था भएको मात्रै हो, तर अब छिट्टै टुंगोमा पुग्छौँ,’ खनालले नेपालखबरसँग भने। 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसालले पनि यो घटनाको अनुसन्धान निचोडमा नपुर्‍याएसम्म कार्यालय नफर्किने बताए। डीएसपी भुसाल नेतृत्वको टोली घटना भएकै दिनदेखि उक्त गाउँमा बसेर अनुसन्धान गरिरहेको छ।

‘हेर्नु पर्ने सबै पाटोमा हेरिरहेका छौँ। न्यारोडाउन गरिरहेका छौँ। अनुसन्धान साँघुर्‍याउँदै गएका छौँ। प्रदेश र सीआईबीको पनि सहयोग लिइरहेका छौँ। अनुसन्धानका विभिन्न चरणहरू हुन्छन्, ती कुराहरूलाई विश्लेषण गरेर छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने योजनामा छौँ,’ भुसालले नेपालखबरसँग भने, ‘घटना घटिसकेपछि हामीले प्रदेश र सीआईबीसँग पनि समन्वय गरिसकेका छौँ। समानान्तर अनुसन्धान अघि बढिरहेको छ। पहिले हामीले मात्रै गर्ने भएन भने अर्कोलाई जिम्मा लगाउने भन्ने हुँदैन। सबै युनिटहरू समानान्तर हिसाबले परिचालन भइरहेका छन्।’

घटना भइसकेपछि आशंकित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम प्रहरीले गरिरहेको छ। अहिलेसम्म करिब डेढ सय जनासँग सोधपुछ गरिसकेको प्रहरीको भनाइ छ। 

‘ल्याउने र सोधपुछ गर्ने काम सुरुबाटै भइरहेको छ। यसबीचमा करिब डेढ सय मान्छेसँग सोधपुछ गर्‍यौँ। तर हामीलाई शंका मात्रै लागेर भएन प्रमाणले ठहर गर्नु पर्‍यो। बिना प्रमाण ठ्याक्कै यसले नै हो हत्या गरेको भन्न गाह्रो हुन्छ। पहिलेपहिले बयानमुखी अनुसन्धान हुन्थ्यो तर अहिले प्रमाणमुखी हो। कुनै पनि केसमा प्रमाणले सपोर्ट गर्न पर्‍यो,’ डीएसपी भुसालले भने। 

घटना भएको दिनदेखि खटिएको डीएसपी नेतृत्वको टोली जिल्ला प्रहरी कार्यालय फर्किएको छैन। तर घटनास्थलमा कुनै पनि प्रमाण फेला नपर्दा अनुसन्धानमा प्रहरीलाई सकस परेको उनले बताए। मृतकको मोबाइल घटनास्थलमै फेला परेको छ। त्यसबाट पनि प्रहरीले कुनै सुराक फेला पार्न सकेको छैन। 

घटनास्थलमा टेलिकमका धेरै वटा टावरले काम गर्दा पनि अनुसन्धानमा समय लागेको हो। प्राविधिक रुपमा अहिले सीआईबीको समेत सहयोगमा प्रहरी यही विषयमा केन्द्रित भएको छ।

‘अब छिटै टुंगिन्छ, दिनै तोक्न त मिलेन तर अब धेरै समय लाग्दैन। धेरै टाढाबाट आएका व्यक्तिले गरेको होइन, यो जानकारबाटै भएको हो भन्ने देखिन्छ,’ डीएसपी भुसालले भने, ‘यो केस नसल्टिएसम्म म पनि जिल्ला प्रहरी कार्यालय फर्किन्न।’

लुट्ने उदेश्यले मारेको आशंका 
दम्पतीको हत्या लुट्ने उदेश्यले भएको प्रहरीको अनुमान छ। उनीहरू कास्कीको पोखरामा डेढ करोडको जग्गा किन्ने तयारीमा थिए। पहिल्यै बैना गरिसकेको जग्गा यही महिनाभित्रमा पास गर्ने तयारी थियो। 

त्यसका लागि उनीहरू रकम जम्मा गरिरहेका थिए। दुई वटा सहकारीबाट ऋण निश्चित गरिसके पनि रकम निकाल्न भने बाँकी रहेको देखिएको छ। 

यस्तै कोरियामा रहेका दुई भाइ छोराले पनि जग्गा पास गर्नका लागि पैसा पठाएका थिए। तर त्यो रकम पनि बैंकमै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैयाँ तत्कालै लिने जग्गाको कागजपत्र मिलाइसकेपछि अरु ऋण थप गर्ने सहमति भइसकेको थियो। 

मल्लाज बहुउदेश्यीय सहकारी संस्थाबाट २७ गते १० लाख रुपैयाँ लिने तयारी थियो। सहकारीले सबै प्रक्रिया पूरा भए पनि जिसी परिवारले नै २७ गते मात्रै पैसा लैजाने बताएका थिए। 

घरमा बाआमाको हत्या हुँदा जेठा छोरा बेनीमा र दुई छोरा दक्षिण कोरियामा थिए। उनीहरू बाबुआमाको हत्यापछि गत बुधबार घर फर्किए। उनीहरू फर्किएको भोलिपल्ट चार दिनपछि दाहसंस्कार गरिएको थियो। 

बिहीबार पोस्टमार्टम गरेर प्रहरीले शव जिम्मा लगाएपछि उनीहरूको एउटै चितामा अन्त्येष्टि गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .