ad ad

समाज


मोरङमा किशोरी हत्या गर्ने पूर्वप्रहरीको बयान : अर्कैलाई मार्न खोजेको थिएँ, उनलाई मारेछु

मोरङमा किशोरी हत्या गर्ने पूर्वप्रहरीको बयान : अर्कैलाई मार्न खोजेको थिएँ, उनलाई मारेछु

नेपालखबर
बैशाख ५, २०८१ बुधबार १९:४४, काठमाडौँ

गत फागुन २१ गते मोरङको पथरी शनिश्चरे नगरपालिका ७ मा १५ वर्षकी किशोरी ज्ञानमती राईको हत्या भयो। हत्याको आरोपमा प्रहरीले त्यसै राति मोरङको ग्रामथान गाउँपालिका ४ घर भई हाल बाराको सिमरा उपमहानगरपालिका २ बस्ने ३८ वर्षीय धीरेन कुमार खाँ चौधरीलाई गर्‍यो।

चौधरी नेपाल प्रहरीकै पूर्व कर्मचारी हुन्। उनी अहिले कर्तव्य ज्यानको कसुरमा कारागारमा छन्। जिल्ला न्यायाधीश प्रकाश कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। ज्ञानमतीको हत्या आरोपमा जेल पुगेका धीरेनले अनुसन्धानका क्रममा अर्कै व्यक्तिको हत्या गर्न गएको तर आफैंसँग प्रेममा रहेकी ज्ञानमती मारिएको पछि मात्रै थाहा पाएको बताएका छन्।

खोटाङको ऐसेलुखर्क गाउँपालिका ६ घर भएकी ज्ञानमती दाजु नाता पर्नेको घरमा बसेर पढ्थिइन्। धीरेन भने प्रहरीको जागिर छाडेर वैदेशिक रोजगारीमा गएका थिए। वैदेशिक रोजगारीमै रहँदा छोराका बाबु धीरेनसँग ज्ञानमती नजिकिइन्।

उनीहरू बिवाह गर्नसम्म तयार भए। एक पटक त घरबाटै भागिसकेका थिए। तर विराटनगरको नाकाबाट प्रहरीले फर्काइदिएपछि ज्ञानमतीलाई भगाउने धीरेनको योजना पूरा हुन पाएन। त्यसपछि परिवारले थाहा पाए। दुवैका परिवार आएर उनीहरूलाई बुझेर लिएर गए।

त्यसपछि दुई जनाको बीचमा पनि दूरी बढ्दै गयो। त्यही दूरीले हत्यासम्म पुग्यो।
 

अनुसन्धानमा धीरेनले भनेका थिए–अर्कैलाई मार्न गएको थिएँ
हत्यामा संलग्न अभियुक्त धीरेन २०६४ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए। ७ वर्षपछि उनले २०७१ सालमा प्रहरीको जागिर छाडे।

प्रहरीको जागिर छाडेका धीरेन २०७३ सालमा वैदेशिक रोजगारीका लागि कुवेत पुगे र त्यहाँ ४/५ वर्ष काम गरे। बीचमा एक पटक छुट्टिमा आएर गएका धीरेन ११ महिना पहिले नेपाल फर्किएका थिए।

धीरेनकी श्रीमती पनि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छिन्। पछिल्लो समय धीरेनको श्रीमतीसँग बोलचाल थिएन। श्रीमतीसँग सम्बन्ध बिग्रनु पहिले नै उनी ज्ञानमतीसँग नजिक भइसकेका थिए।

सुरुमा इमोबाट कुरा गरेका उनले पछि कुवेत हुँदा ज्ञानमतीकै नामको फेसबुक चलाउँथे। विदेशबाट फर्किएपछि उनले पथरी बजारमा पुगेर ज्ञानमतीलाई भेटे। त्यसको २०-२५ दिनपछि उनी फेरि ज्ञानमतीलाई भेटेर फर्किए।

त्यतिबेलासम्म उनीहरूको भागेर बिवाह गर्ने सल्लाह भइसकेको थियो। ज्ञानमती परिवारको सल्लाहबिनै धीरेनसँग भारत भाग्न तयार भइन्।

२०८० को असारमा उनीहरू जोगबनी नाका पुगे। तर उनीहरू भारत छिर्नै लाग्दा एउटा संस्थाले उनीहरूलाई पक्राउ गर्यो। धीरेनलाई प्रहरी कार्यालयमा बुझायो। ज्ञानमतीलाई संस्थाले नै राख्यो र परिवारलाई बोलाएर जिम्मा लगायो।

दुई दिन प्रहरी कार्यालयको हिरासतमा बसेर धीरेन छुटे। त्यसरी पक्राउ परेर छुटिसकेपछि भने उनीहरूको सम्पर्क टुट्दै गयो। तर परिवारलाई छलेर आकलझुकल कुरा गर्न भने छाडेका थिएनन्।

तर ज्ञानमतीका अविभावकले यो कुरा थाहा पाएपछि धीरेनलाई फोन गरेर आइन्दा ज्ञानमतीसँग कुरा गरेको थाहा पाएमा राम्रो नहुने चेतावनी दिएका थिए।

ज्ञानमतीका दाइले थर्काए पनि ज्ञानमती भने लुकीलुकी उनीसँग कुरा गर्थिन्। एक दिन ज्ञानमतीले गरेको फोन धीरेनका छोराले उठाए। ज्ञानमतीले उनलाई परिवारको बारेमा सोधिन् र उनी धीरेनको छोरा भएको थाहा पाइन्।

त्यसपछि उनीहरूको सम्बन्धमा थप खटपट आयो। लामो समयसम्म उनीहरूको कुरा भएन। धीरेनले यही बिचमा आफ्नो र ज्ञानमतीको फोटो फेसबुकमा पोष्ट गरे।

ज्ञानमतीले फोन गरेर त्यो फोटो डिलेट गर्न भनेकी थिइन्। ज्ञानमतीका परिवारले पनि धीरेनलाई ‘अझै कुरा गर्दैछौ?’ भन्दै थर्काएका थिए।

त्यसपछि भने आफूले ज्ञानमतीका परिवारका व्यक्तिको हत्या गर्ने योजनाले गएको धीरेनले अनुसन्धानमा खुलाएका छन्।

धीरेन सिमराबाटै खुकुरी झोलामा लिएर गएका थिए। सिमराबाट उनी फागुन १९ गते बेलुका झापाको बस चढेर गएका थिए। २० गते बिहान पथरी बजारमा झरे। त्यो दिनभरी त्यहीँ डुलेर बेलुका बास बस्न विर्तामोड पुगे।

भोलिपल्ट विर्तामोडतिरै घुमेर दिउँसो फेरि पथरी फर्किए। त्यहाँ आएर उनलाई निक्कै समय ज्ञानमती बस्ने दाइको सुम्निमा होटल पत्ता लगाउन लाग्यो। झमक्क रात परेपछि उनी उक्त होटल नजिक पुगे। होटल नजिकै रहेको सुँगुरको खोर नजिक लुकेर बसेका थिए।

राति शौचालयको ढोका खोलेको आवाज आयो। धीरेनले त्यतिबेला आफ्नो साथमा रहेको खुकुरी लिएर ढोका बाहिर ढुकिरहेका थिए। शौचालयमा जाने ज्ञानमतीकै दाजु भाउजु भएको आशंकामा पछाडीबाट प्रहार गरेका थिए।

त्यतिबेला कसको हत्या गरेँ भन्ने आफूलाई थाहा नभएको धीरेनले बयानमा भनेका छन्। तर हत्या गरेर उनी खुकुरी लिएर त्यहाँबाट भागेका थिए। केही पर पुगेर जमेको पानीमा उनले खुकुरी फालिदिए।

त्यहाँबाट खेतको डिलैडिल भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउ परेपछि मात्रै आफूले ज्ञानमतीको हत्या गरेको थाहा पाएको उनले बयानमा भनेका छन्।

ज्ञानमतीको हत्या आरोपमा अहिले उनी कारागार पुगेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .