काठमाडौँको बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएका बस बिसौनी सञ्चालनमा ल्याइएको छ।
६२ लाख रुपैयाँमा निर्माण भएका २ वटा फल्चा शैलीका बस बिसौनी सञ्चालनमा ल्याइएको हो। बस बिसौनीकाे आज बिहान बाजागाजासहित उद्घटन गरिएकाे छ।
काडमाडौँ महानगरपालिकाले कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बस बिसौनी निर्माण गरेको हो। जहाँ बस्नका लागि काठकै मेच राखिएका छन्। विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएको छ।
काठमाडौँ १० का वडाध्यक्ष रामकुमार केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको बताउँदै जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना विगार्नु नहुने बताए।
उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबैको सामूहिक दायित्व भएकोमा जोड दिए। ‘हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएका छौँ। राजनीतिक दलहरुसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा नपरुन्,’ उनले भने।
यस क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन्। बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको विसौनी मंगलबारबाट सञ्चालनमा आएको छ। बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको विसौनी असार भित्र सञ्चालनमा आउने वडाध्यक्ष केसीले बताए।
फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि स्थानीयबासीले निगरानी गर्नेछन्।
निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले भने, ‘हामीले सुरु गरेको यो नमूना बस विसौनी अन्यत्र स्थानमा पनि विस्तार हुँदै जानेछ।’
स्थानीयहरुको निगरानीमा नगर प्रहरीले सहयोग गर्ने नगर प्रहरीले जनाएको छ। कार्यक्रममा महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो जिम्मेवारी हो। हामी यस्ता सम्पत्तिको दुरुपयोग हुन दिँदैनौँ।’
Shares

प्रतिक्रिया