ad ad

समाज


आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार ५:५६, काठमाडौँ

आज १७ औँ गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। गणतन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको खुसियालीमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ। 

राज्यको सम्पूर्ण शक्ति जनतामा निहीत हुनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको हो। 

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ गते आफैँले विघटन गरेको संसद् पुनःस्थापना गरेका थिए। त्यतिबेला आन्दोलनरत दलहरुले दिएको मार्गचित्रबमोजिम उनले संसद पुनःस्थापना गरेका थिए। 

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।

तत्कालिन विद्रोही शक्ति माओवादीको पनि समर्थनमा सञ्चालित २१ दिन लामो जनआन्दोलन, जनयुद्ध र जनआन्दोलनमा भएको हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएपछि संविधान सभा निर्वाचन गर्ने मार्गचित्र अनुसार संसद्‍ पुनस्र्थापना गर्न ज्ञानेन्द्र बाध्य भएका थिए। 

गणतन्त्र स्थापनाका लागि दोस्रो संयुक्त जनआन्दोलन जगका रूपमा स्थापित भयो। संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि तत्कालिन राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चलाएका थिए।

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो। पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लिएको थियो।

विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो। नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए। चक्रपथ मानवसागरले भरिएपछि तत्कालीन राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भएका थिए।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए। 

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो। विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। 

संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो। जसअनुसार अहिले संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरिरहेका छन्।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि सत्ताको नेतृत्वमा रहेका दलहरुले जनताको अपेक्षाअनुसार काम गर्न सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .