ad ad

खेल


क्यानडाविरुद्धको पहिलो वार्मअप खेलमा नेपाल ६३ रनले पराजित

क्यानडाविरुद्धको पहिलो वार्मअप खेलमा नेपाल ६३ रनले पराजित

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार ६:२३, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडाविरुद्धको पहिलो वार्मअप खेलमा ६३ रनले पराजित भएको छ। 

क्यानडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाली टोली ३ बल अगावै १ सय २० रन बनाउँदा अलआउट भयो। 

नेपालका लागि कुशल मल्लले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। ३० बलमा २ चौका र २ छक्का प्रहार गरेका कुशल कलिम सानाको बलमा रविन्द्रपाल सिंहको हातबाट क्याच आउट भए। 

१६ बलमा २ चौका र १ छक्का हानेका अनिल शाह २४ रन बनाउँदा पारगत सिंहको बलमा क्याच आउट हुन पुगे। 

ओपनर आशिफ शेख २२ र कुशल भुर्तेल १० रन बनाउँदा पेभेलियन फर्के। नेपालका ७ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपाललाई सस्तैमा रोक्न डिलोन हेलिगरले ४ विकेट लिए। जेरेमी गोर्डन र साद विन जफरले समान २ विकेट लिए। कलिम साना र पारगत सिंकले समान १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड पेरी क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रनको योगफल तयार पारेको थियो। 

क्यानडाका लागि निकोलस कीर्तनले सर्वाधिक ५२ रनको योगदान दिए। ३९ बलमा ४ चौका र २ छक्का हानेका निकोलस ललित राजवंशीको बलमा करण केसीको हातबाट क्याच आउट भए। 

रविन्द्रपाल सिंह ४१ र डिलोन हेलिगंर १३ रनमा नटआउट रहे। नरभित डालिवालले ३२, पारगत सिंहले १३ र आरोन जोनसनले १० रन थपे। 

नेपालका लागि अविनास बोहोराले २ विकेट लिए। करण केसी, सोमपाल कामी, गुल्सन झा, ललित राजवंशी र सागर ढकालले समान एक विकेट लिए। 

नेपालले दोस्रो वार्मअप खेलमा अमेरिकासँग बिहिबार खेल्नेछ। 

त्यसअपछि नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ। यो पटकको विश्वकप अमेरिका र वेष्ट इण्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन्। नेपालले विश्वकपमा समुह चरणका दुई खेल अमेरिकामा र दुई खेल वेष्ट इण्डिजमा खेल्नेछ। 

विश्वकपको समुह डी मा रहेको नेपालले २२ गते नेदरल्यान्डस्सँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। दोस्रो खेलमा ३० गते श्रीलंकासँग खेल्नेछ। 

समूह चरणको तेस्रो खेलमा असार १ गते दक्षिण अफ्रिकासँग तथा समूह चरणको अन्तिम खेलमा असार ३ गते बगंलादेशसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .