समाज


बंगलादेशमा सगरमाथा तस्बिर प्रदर्शनी

बंगलादेशमा सगरमाथा तस्बिर प्रदर्शनी

नेपालखबर
जेठ १९, २०८१ शनिबार १२:१८, काठमाडौँ

सगरमाथा दिवसका अवसरमा बंगलादेशको राजधानी ढाकामा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ।

ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एन्ड पिपल’ शीर्षकमा तीनदिने प्रदर्शनी आयोजना गरेको हो।

बंगलादेशका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री साबेरहुसेन चौधरी, परराष्ट्र मन्त्रालयका सचिव मसुद बिन मोमेन र बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले प्रदर्शनीको संयुक्त रूपमा शुक्रबार उद्घाटन गरे। प्रदर्शनी बंगलादेश शिल्पकला एकेडेमीमा जारी छ। 

प्रदर्शनी उद्घाटन समारोहका प्रमुख अतिथि  चौधरीले नेपाल बंगलादेशीहरूलाई मनपर्ने गन्तव्य मध्येको एक भएको र सगरमाथालगायत हिमालप्रति उनीहरूको विशेष आकर्षण रहेको बताए।

जलवायु संकटको अग्रपङ्क्तिमा हिमाल रहेका बताउँदै उनले विश्वव्यापी जलवायु वार्तामा हिमालका समस्या सम्बोधन गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिएको उक्त दूतावासले जनाएको छ।

विशेष अतिथि परराष्ट्र सचिव मोमेनले नेपाल र बंगलादेशबीच विद्यमान सुदृढ सांस्कृतिक एवं जनस्तरको सम्बन्धबारे चर्चा गर्दै पर्वतारोहण र पदयात्रा दुवै देशका जनताको साझा साहसिक मनोभाव भएको बताए। उनले प्रगाढ पारस्परिक सम्बन्धको प्रशंसा पनि गरे। 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले सगरमाथा दिवस पृथ्वीको सर्वोच्च शिखरको पहिलो ऐतिहासिक आरोहणको सम्झना मात्र नभएर पर्वत र पर्वतीय पर्यावरणको महत्त्व झल्काउने अवसर पनि  भएको बताए। 

राजदूत भण्डारीले जलवायु परिवर्तनको प्रकोपबाट समग्र हिमाली क्षेत्रको संरक्षणमा जोड दिँदै  उनले प्रदर्शनी नेपाली र बंगलादेशी पर्वतारोही, पदयात्रा र फोटोग्राफरले खिचेका तस्बिरमार्फत नेपालका हिमाल र प्राकृतिक दृश्यलाई बंगलादेशी नागरिकसमक्ष प्रस्तुत गर्ने प्रयास भएको बताए। 

शिल्पकला एकेडेमीका सचिव सलाहुद्दिन अहमदले तस्बि प्रदर्शनीआयोजना गरेर सगरमाथा दिवस मनाउन दूतावासबाट भएको प्रयासको प्रशंसा गरे। 

प्रदर्शनीका सहजकर्ता इनाम उल–हकले बंगलादेशमा पर्वतारोहण र साहसिक पर्यटनका उदीयमान प्रवृत्तिबारे जानकारी दिए। उनले प्रदर्शनीमा समावेश प्रत्येक तस्बिरले साहस, दृढ संकल्प र लचिलोपनका बेग्लै कथा बताउने  उल्लेख गरे। 

त्यस अवसरमा गत मे १९ मा सगरमाथा आरोहण गरेका बंगलादेशी नागरिक मोहदबाबर अली र सन् २०१३ मा सगरमाथाको चुचुरो चुम्नुभएका स्वर्गीय खालिद हुसेनकी पत्नी श्रीमती तहमिना शैलीलाई पनि सम्मान गरिएको थियो। 

उद्घाटन समारोहमा बंगलादेश सरकारका कर्मचारी, ढाकास्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विद्वत्वर्ग, पर्वतारोही, पदयात्री, फोटोग्राफर, सञ्चारकर्मीहरूका साथै बंगलादेशी समाजका  सबै क्षेत्रका प्रतिष्थित व्यक्तिसहित तीनसय भन्दा बढी अतिथिको उपस्थिति थियो।

बंगलादेश शिल्पकला एकेडेमी र बंगला पर्वतीय पदयात्रा क्लबको सहयोगमा आयोजित प्रदर्शनीमा बंगलादेशी तथा नेपाली पर्वतारोही, पदयात्रा तथा फोटोग्राफरका एक सय २० तस्बिर समावेश छन्।

प्रदर्शनी आइतबारसम्म जारी रहनेछ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad