समाज


कोरियाबाट आउनेलाई क्वारेन्टाइनमा नराखिने, घरमै ‘सेल्फ आइसोलेसन’ मा बस्न सुझाव

कोरियाबाट आउनेलाई क्वारेन्टाइनमा नराखिने, घरमै ‘सेल्फ आइसोलेसन’ मा बस्न सुझाव

यज्ञराज जोशी
फागुन १६, २०७६ शुक्रबार १०:०,

कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रहेका कोरिया लगायत देशबाट आउने नेपालीलाई अलग्गै क्वारेन्टाइनमा नराखिने भएको छ। उनीहरुलाई घरमै ‘सेल्फ आइसोलेसन’ मा बस्न सुझाव दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई सरकारले भक्तपुर खरिपाटीस्थित नेपाल प्राधिकरणको तालिम केन्द्रमा १४ दिने क्वारेन्टाइनमा राखिरहेको छ।

‘हामीले कोरियालगायत देशबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने सोचेका पनि छैनौं,’ स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता सागर दाहालले भने, ‘कोरियामा दशौँ हजार नेपाली छन्। अन्य देशबाट पनि आइरहेका छन्। सबैलाई राख्न आवश्यकता पनि नहोला, सम्भव पनि नहोला। उनीहरुलाई सेल्फ आइसोलेसन, होम क्वारेन्टाइनमा राख्नेगरी हामीले छलफल गरिरहेका छौं।’

चीनपछि हाल सबैभन्दा बढी कोरोना संक्रमित दक्षिण कोरियामा देखिएका छन्। त्यहाँ १३ जनाको मृत्यु भइसकेको छ भने २४ सय हाराहारी पुगेको छ।

कोरियामा हाल ३५ देखि ४० हजार नेपालीहरु रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। यहीबेला पनि थुप्रै नेपाली भिसा अवधि सकिएका कारण र केही नेपाली कोरोनाकै डरका कारण दैनिक त्रिभुवन विमानस्थलमा उत्रने क्रम जारी छ। विमानस्थल अध्यागमन कार्यालयका अनुसार कोरियाबाट यस फेब्रुअरी महिनामा मात्रै १६ सय ४२ जना त्रिभुवन विमानस्थलमा ओर्लिएका छन्। फर्केका नेपालीहरु क्वारेन्टाइनमा बस्नुपर्ने वा नपर्ने भन्ने दुविधामा छन्।

स्वास्थ मन्त्रालयका सह–प्रवक्ता दाहालले भने विमानस्थलमा चेकजाँचका क्रममा शंकास्पद देखिए थप परीक्षणका लागि अस्पताल लगिने, नभए सेल्फ क्वारेन्टाइनमा बस्न लगाइने बताए।

त्रिभुवन विमानस्थलमा थर्मल स्क्यानरमार्फत परीक्षण गर्दा एक सय डिग्री फरेनहाइटभन्दा माथि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा अप्ठ्यारो देखिए कोरोनाको आशंकामा बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परीक्षण तथा उपचारका लागि पठाउने गरिन्छ।

सेल्फ क्वारेन्टाइनमा केमा ध्यान दिने?
माघ दोस्रो साता वुहानबाट फर्केका एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण भएको स्वास्थ मन्त्रालयले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो। शंकास्पद भनेर टेकु अस्पताल गएका उनलाई स्वास्थ्य रिपोर्ट आउनुअघि नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

पछि हङकङमा पठाइएको उनको नमुनाको रिपोर्टमा कोरोना संक्रमण देखिएपछि अस्पतालले ती बिरामीलाई घरमै सेल्फ क्वारेन्टाइनमा राखिएको थियो। अहिले स्वस्थ रहेका उनको घरपरिवार, छरछिमेक र साथीभाइमा पनि कुनै स्वास्थ्य समस्या नदेखिएको उपचारमा संग्लन डा. शेरबहादुर पुनले बताए।

‘उनीसँग चीनकै बेइजिङ, सांघाईबाट आएकालाई समेत सेल्फ क्वारेन्टाइनमै राखिएको हो। सय बढीको त मैले नै घरमै गएर जाँच गरेँ होला,’ डा. पुन भन्छन्, ‘चीन लगायतका देशमा देखिएका ठूलो संख्याका सबै संक्रमितलाई अस्पतालमै भर्ना गर्न सजिलो छैन। धेरै सेल्फ क्वारेन्टाइनका रुपमा घरमै बसिरहेका छन्। कोरियालगायत देशबाट आउने ठूलो संख्याका नेपालीहरुलाई पनि त्यसो गर्न सकिन्छ।’

सेल्फ क्वारेन्टाइनलाई कसरी सुरक्षित बनाउने भन्ने कुनै मापदण्ड नभएको प्रवक्ता दाहाल बताउँछन्। तर, सेल्फ क्वारेन्टाइनमा रहनेहरुलाई नियमित चिकित्सकीय परामर्श र चेकजाँच गराउन मन्त्रालय तयार रहेको उनले बताए।

‘सेल्फ क्वारेन्टाइनलाई कसरी मनिटरिङ गर्ने भन्नेबारे केही मापदण्ड छैन। विश्व स्वास्थ्य संगठनले भने अनुसार नै गर्ने हो,’ उनले भने, ‘यद्यपि विमानस्थलमा नै यात्रुलाई कसरी बस्ने, चिकित्सक लगायतसँग सम्पर्क कसरी गर्ने भन्नेबारे जानकारी गराउछौं।’

सेल्फ क्वारेन्टाइनमा रहनेहरुले घरबाट बाहिर ननिस्कने, परिवार तथा समुदायसँगको दूरी राख्ने, आफ्ना सामान अरुलाई प्रयोग गर्न नदिने, साबुनपानीले नियमित हात धुने, मास्क लगाउने, छुट्टै शौचालय प्रयोग गर्ने, अरुको मोबाइल तथा तौलिया नछुनेजस्ता होसियारी अपनाउनुपर्ने टेकु अस्पतालका चिकित्सक अनुप बाँस्तोला बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad