कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा गएको बिहीबार भएको पतिपत्नीको रहस्यमय हत्या प्रकरणको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान थालेको छ।
सीआईबीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीलाई अनुसन्धानमा सघाउन सुरु गरको हो।
शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित कटान टोलमा बिहीबार आफ्नै घरभित्र जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको हत्या गरेको अवस्थामा शव भेटिएको थियो।
घटनाको विस्तृत अनुसन्धान भइरहे पनि अहिलेसम्म शंकास्पद सबुत भने प्राप्त गर्न नसकेको प्रहरी स्रोतले जनाएको छ।
बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धानका लागि जिल्लामा रहेको सीआईबीको टिमले पनि अनुसन्धानमा सघाइरहेको प्रहरी स्रोतले जनाएको छ।
सिआइबीले मृतक श्रीमान् श्रीमतीको फोनकल डिटेलको विस्तृत अध्ययन गरेको हो।
‘कल डिटेल, लोकेसन हेर्ने काम गर्दै छौँ, यसमा सीआईबीको टिम पनि छ, तर त्यसको विस्तृत रिपोर्ट आएको छैन,’ एक प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘को–कोसँग के–के कुरा भएको थियो, त्यो हेर्दै छौँ। अहिले नै अनुसन्धानको निष्कर्षमा पुगेका छैनौँ।’
शव फेला परेको दिन धनगढीबाट तालिम प्राप्त कुकुर समेत मगाइएको थियो।
घटनास्थलबाट संकलित मोबाइल, कपाल, रगत, कपडा लगायतको विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
शनिवार मृतक दम्पतीको पोष्टमार्टम भएकाले आज (आइतबार) रिपोर्ट आउन सक्ने प्रहरीले जनाएको छ।
पोष्टमार्टम पछि भण्डारी दम्पतीको शनिवार नै अन्तिम दाहसंस्कार गरिएको छ। पोष्टमार्टम रिपोर्ट पछि केही तथ्य खुल्ने छ।
पोष्टमार्टम रिपोर्ट आएपछि घटनास्थलबाट संकलित भौतिक प्रमाणलाई ल्यावमा पठाउने प्रहरीको तयारी छ। प्रहरीका अनुसार अहिले मृतक भण्डारीको पारिवारिक पृष्ठभुमि अध्ययनको काम भइरहेको छ।

प्रतिक्रिया