मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज (आइतबार) महाेत्तरीकाे कञ्चनवन आइपुग्दै छ।
धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौं दिन आज महोत्तरीको भंगहा नगरपालिका–८ स्थित कञ्चनवन आइपुग्ने भएको हो।
कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख सञ्जीव साहले बताए। तिर्थालुहरूलाई संघीय तथा प्रदेश सरकारका मन्त्रीहरूले स्वागत गर्ने बताइएको छ।
तिर्थालुहरूलाई रङ, अबिर, फूलमाला लगाएर भव्य स्वागत गरिने नगरप्रमुख साहले बताए। त्रेतायुगमा सीता र भगवान् रामले रङ खेली होली मनाएको धार्मिक विश्वास छ।
यहाँ आउने श्रद्धालुले एकअर्कालाई रङ, अबिर दलेर होली शुभारम्भ गर्ने धार्मिक एवं पौराणिक परम्परा रहेको मिथिला बिहारी डोलाका महन्थ राम नरेश दासले बताए।
तीर्थालुलाई स्वागत गर्न कञ्चनवनस्थित बिहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचा सरसफाइ गरी चिटिक्क पारिएको छ।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदामा सुरु हुने यो परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाका दिन सम्पन्न गरिने परम्परा छ।
कञ्चनवनमा परिक्रमा यात्रीका लागि परिवार, कुटुम्ब, इष्टमित्रले भोजन लिएर जाने चलन छ। घरमा विभिन्न परिकार बनाएर परिवारका सदस्य महोत्तरीको कञ्चनवन पुग्छन्।

प्रतिक्रिया