राजनीति


नेकपा सचिवालय बैठक बस्दै, नेताहरुले मन मिलेको सन्देश देलान्?

नेकपा सचिवालय बैठक बस्दै, नेताहरुले मन मिलेको सन्देश देलान्?

नेपालखबर
फागुन १८, २०७६ आइतबार ४:२,

सत्तारुढ नेकपाको सचिवाल बैठक आज (आइतबार) बिहान साढे ११ बजे बस्दै छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने बैठकमा पछिल्लो समय पार्टीमा देखिएको विवाद, एमसीसी सम्झौता अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदन लगायतका विषयमा छलफल हुने सचिवालय स्रोतले जनाएको छ।

गएको बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली रुष्ट बनेका छन्।

प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने बताउँदै राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिँदै आएका छन्।

तर, ओली बाहेक सचिवालयका अधिकांश सदस्य भने गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने अडानमा छन्।

शुक्रबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटारमा बसेको ओली बाहेकका शीर्ष नेताको बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयनमा जोड दिएको थियो।

अध्यक्ष प्रचण्डसहित पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतले भने पार्टीले गरेको निर्णय कार्यान्वयन नगरे ओलीलाई प्रधानमन्त्रीबाटै हटाउनेसम्मको चेतावनी दिएका छन्। यसले नेकपाको आन्तरिक कलह छताछुल्ला भएको छ।

नेकपाभित्र बढेको कलहले कतै पार्टी नै फुट्ने त होइन भन्ने सम्मका अड्कलबाजी सुरु भएका छन्।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले भने आजको सचिवालय बैठकले पार्टीभित्र देखिएका सबै समस्याको समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजाने विश्वास व्यक्त गरेका छन्।

आज बिहान ट्विट गर्दै रिमालले भनेका छन्, ‘पार्टी नेतृत्वले अहिलेको संवेदनशीलता र जिम्मेवारी पूर्ण रूपमा बुझेको छ। विश्वास छ, आज ११ः३० मा बस्ने सचिवालय बैठकले सबै समस्याको समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानेछ।’

पार्टीमा आन्तरिक विवाद चुलिएको बेला सुरु हुन लागेको नेकपा सचिवालय बैठकलाई चासोको साथ हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad