समाज


कोरोनासँग लड्न सरकारले गर्‍यो स्वास्थ्य संकटकाल घोषणासम्मको तयारी

कोरोनासँग लड्न सरकारले गर्‍यो स्वास्थ्य संकटकाल घोषणासम्मको तयारी

यज्ञराज जोशी
फागुन १९, २०७६ सोमबार ८:२८,

गत मंसिर ५ गते स्वाथ्यमन्त्रीको पदवहाली गरेका भानुभक्त ढकालले आइतबार पत्रकार सम्मेलनमार्फत् आफ्नो सय दिनका कार्यप्रगति सुनाउँदै थिए। अपेक्षा थियो, पत्रकारका प्रश्नोत्तर उनका सय दिनका काम केन्द्रीत होला।

प्रवक्ता डा. विकास देवकोटाले सरसर्ती ढकाल नेतृत्वमा स्वास्थ्य मन्त्रालयले सय दिनमा गरेका नीतिगत तथा प्रणालीगत सुधार, अनुगमन, सेवा प्रवाह र अनुसन्धानको विवरण सुनाएपछि आएको प्रश्नोत्तरको पालोमा लगभग सबै प्रश्नहरु मन्त्रीकै भनाईमा ‘अतिरिक्त काम’ अर्थात् कोराना (कोभिड–१९)सँग सम्बन्धित थिए।

‘आज हामीले सय दिनमा हामीले के गरौं भन्ने विषयमा औपचारिक रुपमा सामुहिक ढंगले जानकारी गराऔं भन्ने उद्देश्यले यो भेटघाट गरेका हौं,’ स्वास्थ्यमन्त्री ढकालले सुरुवातमै भने, ‘सबैले आइलागेको विषय (कोरोना भाइरस)बारे नै धेरै प्रश्न गर्नुभयो। जो हाम्रो सय दिनभित्रको नियमित कार्यभित्र पर्दैनथ्यो। यो अतिरिक्त नचाहेर आइलागेको विषयमा पनि हामीले दुई महिना लाग्नुपर्‍यो।’

चीनबाट आएका एक विधार्थीलाई जनवरी १३ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगमा परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएदेखि आफूहरु यसैमा केन्द्रीत हुनु परेकाले सय दिनमा उत्साहबद्र्धक रुपमा प्रगति विवरण सुनाउन नपाएको उनले गुनासो पोखे।

‘अलिअलि स्वास्थ्य मन्त्रालय बुझेर यसमा सुधारका काम गर्नुपर्यो भनेर कदम चाल्न सुरु गरेको बेला नचाहेको विषय बोकेर त्यतातिर समय खर्चिनुपर्‍यो,’ मन्त्री ढकालले थपे, ‘त्यसैकारण सय दिनमा जति उत्साहद्र्धक रुपमा काम भए भन्नसक्नु पर्यो, परिस्थितिले हामीलाई त्यो ढंगले काम गर्न दिएन।’ यसबीच कोराना रोकथामका कतिपय कुराहरु आफूहरुले गरेपनि त्यसलाई स्थापित गर्न नसकेको उनको बुझाइ छ।

‘विमानस्थलमा सबैजना मेसिनबाट ज्वरो नापेर पास भए पछि मात्रै निस्कन्छन्। तर, हाम्रा कतिपय नेताले समेत विमानस्थलमा कसैले समातेर चेकजाँच नगरेको भन्दै हिँड्ने गरेका छन्’, मन्त्री ढकालले भने, ‘उनीहरुलाई नीरिक्षण भई पास भएर मात्रै गएका छौं सन्देश हामीले सम्प्रेषण गर्न सकेनौं’ उनले थपे।

विमानस्थलको ज्वरो नाँप्ने एउटा थर्मल स्क्यानर बिग्रिएको तथा जनशक्ति अभाव रहेको गुनासो आएपछि शनिबारमात्रै स्वास्थ्य मन्त्रालयको टोलीले अनुगमन गर्दै थप तीन थर्मल मेसिन थपिएको एवं जनशक्ति पनि बढाइन लागिएको उनले बताए।

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना लगायत अन्यगरी २ सय १८ जनाको परीक्षण गर्दा कसैलाई अहिलेसम्म कोरोना संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ।

वुहानबाट ल्याइएका १ सय ७५ जनाको अन्तिम रिपार्ट मंगलबारभित्र आउँदैछ। उनीहरुलाई नेपाल ल्याउने नेपाल वायुसेवा निगमको विमानका १८ जनै चालकदलको स्वास्थ्य रिपोर्टअनुसार सबैजना स्वास्थ्य देखिएको र उनीहरुलाई घर फर्काइएको स्वास्थ्य सचिव खगराज बरालले बताए।

चीनबाहेक भारत, कोरिया र अरुबाट खतरा
विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले बिहीबार नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको थियो। डब्लुएचओले आफ्नो साप्ताहिक ब्रिफिङपछि नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको हो।

त्यसलगत्तै कोरोना भाइरसको रोकथाम तथा निराकरण गर्न बालुवाटारमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले डोकेको बैठकमा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारले मन्त्रीस्तरीय समिति समेत गठन गरेको छ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रणका लागि भएका कामबारे जानकारी लिनुका साथै सरोकारवाला मन्त्रीलाई निरन्तर अनुगमन र निगरानी गर्न निर्देशन दिइएको मन्त्री ढकालले बताए।

‘हिजो चीनसँग मात्रै धेरै भय थियो तर अहिले ६० भन्दा बढी मुलुकमा फैलिएको छ। फैलिएकामध्ये पनि दक्षिण कोरिया, अरब र भारतबाट हामीलाई बढी भय छ,’ ढकालले भने, ‘सरकारको पहिलो लक्ष्य हाम्रो देशको सीमा भित्र छिर्न नदिन के–के गर्नुपर्छ, त्यसकै लागि काम गर्नुपर्छ भन्ने निर्देशन प्रधानमन्त्रीबाट हामीले पाएका छौं।’

थुप्रै देशले कोरोनाको संक्रमण भएका देशमा हुने उडान तथा आवागमनमा बन्देज लगाएका बेला नेपालले पनि त्यस्तो नीति लिनुपर्ने आवाज उठिरहेको छ। प्रधानमन्त्रीसँगको उक्त बैठकमा नेपालले पनि आवातजावतमा प्रतिबन्ध लगाउनेबारे छलफल भएको मन्त्री ढकालले बताए।

‘केही मुलुकमा जाने कुरामा औपचारिक रुपमै बन्देज लगाऔं कि भन्ने छलफल भएको छ। उपप्रधानमन्त्री ज्यूको नेतृत्वमा बनेको कमिटीले एक–दिन औपचारिक निर्णय गर्छौ भनेको छ,’ ढकालले भने। कोरोना संक्रमणको जोखिम बढेपछि यहीबीच सरकारले घोषणा गरेका सगरमाथा संम्वाद तथा भिजिट नेपाल–२०२० कार्यक्रम समेत स्थगित गरिसकेको छ।
देशभित्र हुने भोज भतेर, ठूला कार्यक्रममा मान्छेहरु भेट्दा अँगालो मार्ने, चुम्बन खानेभन्दा पनि टाढैबाट नमस्कार गर्ने शैली विकास गर्न उनले सुझाव दिए।

सरकारको तीन तहको रणनीति
चीनबाट नेपालीहरु ल्याउनुअघि नै विभिन्न अस्पतालहरुमा ४३ वटा आइसोलियसन बेडहरु तयार पारेको थियो। त्यतिबेला काठमाडौंका टेकु, वीर, सिभिल, पाटन लगायत अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको थियो। त्यसबाहेक मुलुकभरका सबै अस्पताललाई समेत तयारी अवस्था रहन निर्देशन दिइएको मन्त्री ढकालले बताए।

कोरोनाविरुद्ध लड्न सरकारसँग तीन चरणको योजना रहेको उनले सुनाए।

रणनीति एक
पहिलो चरणमा कोरोना संक्रमणलाई आउनै नदिन सावधानी अपनाइनेछ। त्यसका लागि विमानस्थलमा कोरोना प्रभावित मुलुकबाट आउने सबै यात्रुको अनिवार्य जाँच, सिमा नाकाहरुमा कडाई गरिएको छ।

रणनीति दुई
दोस्रो चरणमा कोरोना संक्रमण भित्रिए त्यसलाई निर्मूल पार्न सम्पूर्ण जनशक्ति लगाइने छ। जसअन्तर्गत स्वास्थ्यकर्मी तथा अस्पतालहरुलाई आवश्यकअनुसार थपिनेछ।

रणनीति तीन
तेस्रो चरणमा यदि कोरोनाले महामारीको रुप लिए स्वास्थ्य संकटकाल घोषणा गर्ने। यो रणानीतिअनुसार सबै अस्पताललाई उपचारमा प्रयोग गर्ने सरकारको तयारी रहेको मन्त्री ढकालले सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad