माथिल्लो भेगमा हिमपोखरी फुटेर आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेका २० वटा घर, होटलसहित स्वास्थ्यचौकी र विद्यालय समेत बगायो।
यो ठूलो दुर्घटनाबाट मानवीय क्षति भने भएन। स्थानीयले दिएको जानकारी अनुसार, ५५ वर्षीय ङिमा नुरू शेर्पा पहिरोपछि बेपत्ता भएका थिए।
स्थानीयले दिएको सोही जानकारीलाई आधार मानेर दुई दिनसम्म प्रहरीले शेर्पाको खोजी गर्यो। थामेको बस्तीमा पसेको बाढीदेखि दूधकोसी नदीको तटसम्म पुगेर प्रहरीले उनको खोजी गरेको थियो।
तर, शेर्पा एकाएक दुई दिनपछि आइतबार (भदौ २) अपरान्ह भेटिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार शेर्पा बाढी आउँदा थामेमै थिए।
उनी राम्रोसँग सुन्न र बोल्न सक्दैनन्। उनी बाढी आएको दिन (साउन ३२) थामेमै रहेको स्कुलमा रात बिताएका रहेछन्।
‘बाढी आउँदा उहाँ (ङिमा नुरू शेर्पा) थामेमै हुनुहँदो रहेछ,’ भुसालले नेपालखबरसँग भने, ‘बाढी अघिसम्म गाउँमै देखेका अन्यले नदेखेपछि बेपत्ता भए भनेर प्रहरीलाई खबर गरेको रहेछ।’
त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। शुक्रबार राति बाढीले क्षतविक्षत बनाएको विद्यालयको भवनछेउमा शेर्पाले रात काटेका रहेछन्।
‘रातभर त्यहि स्कुलमा बसेर उहाँ भोलिपल्ट बिहानै माथितिर लाग्नुभएछ,’ भुसालले भने।
भुसालका अनुसार, थामेको माथिल्लो गाउँमा पनि उनको अर्को छ। सोही घरमा गएर उनी शनिबार बिहानैबाट बसेको उनले जानकारी दिए।
शेर्पाको थामे बस्तीमा खोजी भइरहेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई भेटिएको खबर गरेका थिए।
थामेको बाढीपछि अहिले दूधकोसीले आफू बग्ने धार बदल्न थालेको छ। नदीले धार बदलेर कटान गर्न थालेपछि वडा नम्बर ३ मा पर्ने टोकटोक गाउँका ३ घरमा क्षति पुगेको छ भने ४ वटा जोखिममा परेको गाउँपालिकाले जनाएको छ।
बाढीपछि नदीले कटान बढाउँदै लगेर वडा नम्बर ३ स्थित टोकटोक गाउँ जोखिममा परेको छ।
वडा नम्बर ३ का वडाध्यक्ष नुरु जाङ्बु शेर्पाले जोखिमयुक्त घरका व्यक्ति, पशुचौपाय र सामानहरू सुरक्षित ठाउँमा सारिएको जानकारी दिए।
‘यो क्षेत्रमा बलौटे (बालुवासहितको लेदो) माटो धेरै छ, माथिबाट पनि बालुवा नै बगाएर आएको छ,’ वडाध्यक्ष शेर्पाले भने, ‘विस्तारै विस्तारै नदीले धार परिवर्तन गरेर बस्तीतिर गइरहेको छ।’
नदीको सतह केही कम भएको भए पनि बस्ती छेउमा कटान गर्दै गइरहेको पनि उनले जानकारी दिए।
खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ।
Shares

प्रतिक्रिया