ad ad

समाज


रक्सी खाने पैसा नदिँदा ससुरामाथि ज्वाइँले गरे गाेली प्रहार

रक्सी खाने पैसा नदिँदा ससुरामाथि ज्वाइँले गरे गाेली प्रहार

शैलेन्द्र महतो
फागुन २३, २०७६ शुक्रबार १४:१४,

गोली प्रहारबाट गम्भीर घाइते भएका महोत्तरीको मनरासिसवा नगरपालिका ३ बस्ने ६२ वर्षीय सहदेवप्रसाद यादवको स्वास्थ्य अवस्थमा सुधार आएको छ।

आइतबार विहान २ बजे घर बाहिर पिसाव गर्न निस्कँदा उनीमाथि गोली प्रहार भएकाे थियाे। दायाँ कोखमा गोली लागि गम्भीर घाइते यादवलाई जनकपुरस्थित जानकी हेल्थकेयरमा भर्ना गरी उपचार गरिएकाे छ। पाँचदिन हस्पिटलको आइसीयू कक्षमा राखेर उपचार गरिएपछि उनकाे अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। उनलाई बिहीबारदेखि हस्पिटलको नर्मल वार्डमा राखेर उपचार भइरहेको छ।

बदमास ज्वाइँले गोली हाने
उपचारमै रहेका घाइते सहदेवप्रसाद यादवले आफूलाई आफ्ना कान्छो ज्वाइँ महोत्तरीको औरही नगरपालिका १ का सन्तोष यादवले गोली प्रहार गरेको बताएका छन्।

‘मध्यरातमा पिसाव फेर्न उठेको थिएँ। श्रीमती पनि म सँगै उठेकी थिइन्। मैले मोबाइलमा टर्च बालेको थिएँ। घर बाहिर निस्किँदा ३ जनालाई देवालको भित्तामा लुकेको देखेँ। एकजना मेरै ज्वाइँ थियो। हेर्ने बितिकै मोबाइलको उज्यालोमाथि २ गोली प्रहार गर्‍याे। एउटा गोली छेउबाट गयो। अर्को मेरो कोखमा लाग्यो। म ढलेँ’ घाइते यादवले नेपालखबरसँग भने।

जाडरक्सी सेवन गरी पटक पटक रुपैयाँ पैसा ऋण माग्ने र नदिँदा छोरीलाई कुटपिट यातना दिएको कारण ज्वाँइसँग सम्बन्ध चिसिएको घाइते यादवको भनाइ छ।

‘७/८ महिना अघि ५ लाख रुपैयाँ खोजिदिन भनेका थिए। मसँग पैसा थिएन। अरुसँग दिलाइदिन खोज्दा पनि उपाय भएन। त्यसपछि पटक पटक फोन गरी तथानाम गाली, धम्की दियो। मैले पनि केहि कुरा भने। त्यहिबेलादेखि ममाथि दुस्मनी साँध्दै आएका थिए’, यादवले भने, ‘ज्वाँइ पहिलादेखि नै बदमास छन्। अन्तमा मलाई हत्या नै गर्न खाेजे। भगवानको कृपाले बाचेँ। उनीमाथि कडा कारबही हुनुपर्छ।’

घाइते यादवका २ छोरा वैदेशिक रोजगारीमा विदेश छन्। उनका दुई बुहारीसमेत घरमा नभएको बेला गोली प्रहार भएको थियो। यादव अवकाश प्राप्त शिक्षक हुन्।

ज्वाइँमाथि किटानी
यादवमाथि गोली प्रहार गर्ने उनका ज्वाइँ सन्तोष यादवलाई प्रहरीले प्रक्राउ गरेको छ। घटना भएकै दिन साँझ उनलाई पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।

नायव उपरीक्षक बुढाथोकीले भने ‘ससुरा ज्वाइँमा पैसा लेनदेनकै विवादको कारण गोली प्रहार भएको अहिलेसम्मको अनुसन्धानले खुलेको छ। थप अनुसन्धान भइरहेको छ।’

ससुरा पक्षले ज्वाइँ सन्तोषलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गाएको छ। घटनाको भोलिपल्ट घाइते यादवका भाइले ज्वाइँमाथि किटानी जाहेरी दर्ता गराएकोे प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .