खेल


पहिलो अन्तर्राष्ट्रिय गाेल गर्ने पेमा भन्छिन्ः फुटबलले दिन्छ महिलालाई सशक्त पहिचान (भिडियाे)

पहिलो अन्तर्राष्ट्रिय गाेल गर्ने पेमा भन्छिन्ः फुटबलले दिन्छ महिलालाई सशक्त पहिचान (भिडियाे)

लक्ष्मी जि.सी
फागुन २३, २०७६ शुक्रबार १३:५९,

नेपालको महिला फुटबलको ऐतिहासिक प्रसंगहरु आउँदा नछुट्ने एउटा नाम हो पेमा लामा।

सन् १९९९ मा फिलिपिन्समा भएको एशियन च्याम्पियनसिपमा उज्वेकिस्तानविरुद्ध नेपालका तर्फबाट अन्तराष्ट्रिय गोल गरेर उनले नेपालको खेलमा इतिहास रचेकी थिइन्।

त्यसअघि कुनै पनि नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा गोल गर्न सकेका थिएनन्।

२१ वर्षअघि गरेको त्यहि गोलकै कारण उनलाई सबैभन्दा बढि स्मरण गरिन्छ। त्यहि गाेलले उनकाे एउटा यस्ताे पहिचान बनायाे, जसलाई नेपाली खेल इतिहासले बिर्सन सक्तैन र अरू कुनै खेलाडीले उनकाे त्याे रेकर्ड ताेड्न पनि सक्तैन। 

‘त्यो बेला गोल गर्छु, पहिलो गोलकर्ता बन्छु भन्ने नै थिएन,’ त्यो ऐतिहासिक क्षण सम्झदै पेमाले नेपालखबरसँग भनिन्।

PemaLama 2

मकवानपुरको हेटौडामा जन्मेकी पेमा विद्यालयस्तरबाट सिधै राष्ट्रिय टोलीमा छनोट भएकी थिइन्।

‘त्यतिबेला कुनै क्लव थिएन। अञ्चलबाट प्रतियोगिताहरु हुने गर्थे। मैले पनि अञ्चलबाटै खेलेँ,’ उनले खेलजीवनमा स्थापित हुँदै गर्दाको समय स्मरण गरिन्। ‘विद्यालयमा हुँदा मेरो दौड अति छिटो थियो रे। मलाई रोक्नै गाह्रो हुन्थ्यो भनी शिक्षकहरु भन्नुहुन्थ्यो। खेलका धेरै नियम थाहा थिएन तर गोल गर्नुपर्छ भन्ने मात्र थियो।’

उनी राष्ट्रिय टोलीबाट धेरै प्रतिस्पर्धामा सहभागी भइन्। ‘तर कति खेलेँ र कति वर्ष खेलेँ भन्ने नै याद छैन। यत्ति थाहा छ, राष्ट्रिय टोलीबाट अन्तिम पटक १९९९ फिलिपिन्समा खेलेको हुँ,’ उनले भनिन्।

मिरा चौधरीको कप्तानीमा नेपाली टोली त्यहाँ प्रतिस्पर्धा गरेको थियो।

‘राष्ट्रिय टोलीमा किरण बज्राचार्य, मञ्जु, बिना, चन्द्र, लुना, लिला लगायतका खेलाडी थियौं। कतिको नाम त बिर्सि पनि सकियो,’ विगत स्मरण गर्दै उनले भनिन्। ‘त्यो बेला बर्थ डे कप भन्ने फुटबल प्रतियोगिता हुन्थ्यो, त्यसमा कप्तानी पनि गरेँ।’

अहिलेको जस्तो धेरै खेल नहुने हुँदा नियमित खेल्न नपाउने गरेको उनले बताइन्। उनले फुटबल कति वर्ष खेलिन् र कतिवटा प्रतिस्पर्धामा सहभागी भइन् भन्ने तथ्य तथ्यांक पनि उनलाई याद छैन।

राष्ट्रिय टोलीबाट बाहिरिएपछि उनी रेफ्रिमा छनोट भइन्। सन् २००० मा फिफा रेफ्री बनिन्। बीचमा ३ वर्षजति उनी विदेशमैं बसिन्।

PemaLama 3

फुटबलमय बाल्यकाल
उनको परिवारको वातावरण नै फुटबलमय हुनेहुँदा उनमा बाल्यकालदेखि नै त्यसको सोझै प्रभाव पर्यो।

पेमाको घरमा नै ‘बुद्ध क्लव’ का सक्रिय सदस्यहरू थिए। ‘घरमा बुवा, दाजु सबैजना फुटबलमा नै होमिएका थिए। त्यही नसाले मलाई पनि छोयो,’ पेमाले भनिन्, ‘दाजुहरु निर्मल लामा, सिद्धार्थ लामा, जीवन लामा, निमा लामा, देवेन्द्र लामा, रत्न लामा उहाँहरु सबै फुटबलमा नै भएको कारण पनि त्यही क्षेत्रमा स्थापित हुन मलाई सजिलो भयो।’

एथलेटिक्स, भलिबल लगायतका खेल पनि उनले खेलिन तर पारिवारिक वातावरणका कारण पनि उनले अन्ततः फुटबलमै आफ्नो भविष्य देखिन्। त्यसलाई नै करियरको रुपमा रोजिन् र अहिलेसम्म त्यसमै निरन्तर लागिपरेकी छन् विभिन्न भूमिकामा।

फुटबलको नशा त अझै छ, तर शरीरले भने दिँदैन। ‘भेट्रान कपको आयोजना भयो भने खेल्नेछु,’ यसो भनिरहँदा उनको आवाज जोशले भरिएको थियो।

सामान्य खेलाडीबाट, राष्ट्रिय टोलीसम्म र क्याप्टेन हुँदै रेफ्रीसम्म बनिसकेकी पेमा अखिल नेपाल फूटबल संघ (एन्फा) अन्तर्गतकाे महिला कमिटीको अध्यक्ष बनिसकेकी छन्।

‘अहिले जहाँ जे छु फुटबल कै कारण छु,’ उनले भनिन्। ‘अब महिला फुटबलको समग्र विकासमा जोड दिन लाग्नेछु। अब खेलाडी मात्र नभएर कोच, रेफ्रीसम्म ध्यान दिनुपर्छ।’

पहिलेको तुलनामा फुटबलमा धेरै विकास हुँदै गएको उनको अनुभव छ।

‘पहिले फुटबल पुरुषको लागि भनेर मात्र सोचिन्थ्यो। महिलाका लागि फुटबल प्रतियोगिता नै हुन्थेनन्। तर अहिले फुटबलका गतिविधि धेरै फराकिलाे भैरहेकाे छ। खेलेर नै केही गर्छु भनेर आएका खेलाडी पनि छन्। खेलले नै रोजगारी पनि दिएको छ,’ पेमाले बताइन्।

पछिल्लो समय फुटबलमा स्ट्राइकर सावित्रा भण्डारी साम्बा, गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, रेनुका नगरकोटी जस्ता राष्ट्रिय टोलीमा भएका खेलाडीलाई उनले निकै संभावना भएका खेलाडीको रुपमा लिन्छिन्। त्यसअघिका अनु लामा, निरु थापा पनि निकै राम्रा खेलाडी भएको उनको विश्लेषण छ।

तर यिनै खेलाडी सधैं टोलीमा नरहने हुँदा नयाँनयाँ खेलाडीको विकासमा ध्यान दिनुपर्ने उनको जोड छ। ‘अब नयाँ राष्ट्रिय खेलाडीको खोजि गर्नुपर्छ। टोलीमा नयाँ खेलाडी ल्याउन अति नै जरुरी छ,’ उनले थपिन्।

PemaLama 4

परिवर्तनकाे माध्यम फुटबल
फुटबललाई हेर्ने उनको दृष्टिकोण भिन्न छ। फुटबल समाज परिवर्तनको एउटा सशक्त माध्यम हुने उनको विश्वास छ।

‘फुटबलले धेरै कुरा परिवर्तन गर्न सक्छ। फुटबल कै कारण विश्वमा धेरै परिवर्तन आएको छ। हामीले पनि त्यस्तै गर्नसक्छौ,’ उनले भनिन्, ‘नेपालकै खेलाडीको कुरा गर्ने हो भने पनि सावित्रा भण्डारी साम्बालाई अहिले धेरैले चिन्छन्। विदेशमा पनि उनका धेरै फ्यान छन्। यो फुटबलकै कारण संभव भएको हो।’

सावित्रालगायत कैयाैं खेलाडीकाे अहिले देश  विदेशसम्मा जुन पहिचान बनेकाे छ, त्याे फुटबलका कारण बनेकाे बताउँदै पेमा भन्छिन्, 'खेलले महिलालाई निकै सशक्त बनाउँछ। समाजमा परिवर्तनकाे जबर्जस्त माध्यम बन्नसक्छ महिला फुटबल।'

उनी नयाँ पुस्ताका खेलाडीलाई धेरै अवसर भएको देख्छिन्। ‘उनीहरुले रोजगारी पनि पाएका छन्। ३ विभागीय टोली (सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी) लाई धन्यवाद पनि दिन चाहन्छु,’ उनले बताइन्, ‘उनीहरुले खेलाडीलाई रोजगारी दिएका छन् त्यसले धेरै सजिलो भएको छ। पहिले अहिलेको जस्तो अवस्था थिएन।’

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .