समाज


वीर अस्पतालकै छेउमा मास्क ‘तस्करी’, २ लाख जरिबाना

वीर अस्पतालकै छेउमा मास्क ‘तस्करी’, २ लाख जरिबाना

सन्तोष न्यौपाने
फागुन २४, २०७६ शनिबार ८:४४,

 सरकारी स्वामित्वमा रहेको मुलुककै जेठो अस्पताल वीर अस्पताल छेउमै मास्कको कृत्रिम अभाव सिर्जना गर्दै अधिक मूल्य लिइरहेको पाइएको छ। अस्पताल आसपासमा रहेका औषधि पसलले मास्क लुकाएको र महँगोमा बेचिहेको पाइएपछि कारबाही गरिएको छ।

शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्दा वीर अस्पतालमा रहेको आयुष फार्मेसीले मास्क लुकाएको र धेरै मूल्यमा बेचिरहेको भेटाएको थियो।

यस्तै केसमा क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई पनि कारबाही गरिएको छ। यी दुबै औषधि पसललाई जनही २ लाखका दरले जरिबाना तिराइएको विभागले जनाएको छ।

ती औषधि पसलहरुले मास्कको अभाव सिर्जना गरेकाले कारबाही गरिएको विभाग प्रवक्ता रवीन्द्र आचार्यले बताए। ‘ती पसलले अधिक मूल्यमा मास्क बेचेको र मास्क लुकाएको पाइएपछि अनुगमत टोलीले २ लाख रुपैयाँ जरिबाना गरेको हो,’ आचार्यले नेपालबखरसँग भने।

ती पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुगमन अधिकृतले तत्कालै २ लाख रुपैयाँ जरिबाना गरेका थिए।

कुनै व्यवसाय वा संघसस्थाले कुनै पनि उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गरेमा, तौल र साइज फेरबदल लगायतका कसुर गरेमा उक्त ऐनको दफा ३८ (ङ)को कसुरमा दफा ३९ बमोजिम अनुगमन अधिकृतले तत्कालै २ देखि ३ लाख रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था छ।

त्यस्तै शुक्रबार नै क्षेत्रपाटी कै एसजे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र महाबौद्धमा रहको आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको छ। ती पसलहरुले बेचिरहेको मास्कको खरिद बिल देखाउन नसकेपछि तत्कालै जरिबाना तिराइएको आचार्यले बताए।

‘कुनै पसलले मास्कको खरिदबिल नदेखाउनुको अर्थ उक्त सामान धेरैमा बेच्नु खोज्नु हो,’ आचार्यले भने, ‘कुनै पनि वस्तुमा २० प्रतिशतभन्दा माथिको नाफा राखेमा त्यसलाई कालोबाजारी मानिन्छ।’

विभागले पछिल्ला केही दिनदेखि औषधि पसलहरुमा आगुमनलाई तीव्र पारेको जनाएको छ। कोरोना भाइरस (कोभिड–१९) को फैलिनसक्ने हल्लासँगै बजारमा मास्कसहित सिटोमोल लगायतका औषधिको अभाव हुन थालेपछि विभागको अनुगमनलाई तीव्र पारेको आचार्यले बताए।

‘औषधि पसलमा अनुगमन नगरेर अन्तै गएको भन्ने हल्ला फैलाइएको छ,’ आचार्यले भने, ‘हामीले औषधि पसलमा पनि निरन्तर रुपमा अनुगमन गरिरहेका छौं।’

पछिल्ला १० दिनदेखि औषधि पसल तथा सर्जिकलहरुमा अनुगमन गरिरहेको आचार्यले बताए।

मंगलबार र बुधबार त्रिुपरेश्वर, क्षेपाटी, थापाथली, लगनखेल लगायतका क्षेत्रमा विभागले अनुगमन गरेको थियो। उक्त अनुगमका बेला नेपाल केयर सर्जिकल सप्लायर्सले मास्कको कृतिम अभाव सिर्जना गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तिराइएको थियो।

अन्य केही पसलले मास्कमा अधिक मूल्य लिने उद्देश्यले खरिब बिल लुकाएको पाइएको थियो।
त्यस्तै, बजारमा मास्कको अभाव बढ्दै गएपछि खाद्यान्न र कस्मेटिक पसलले समेत सर्जिकल मास्क बेच्न थालेका पाइएको छ।

विभागको अनुगमन टोलीले कलंकीको एक कस्मेटिक पसलमा सर्जिकल मास्क बेचिरहेको पाइएपछि कारबाही गरिएको आचार्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad