समाज


झ्याप्लेखोला घटनाबारे धादिङ प्रहरीमाथि छानबिन हुँदै, घटनास्थलबाट फर्कियो समिति

झ्याप्लेखोला घटनाबारे धादिङ प्रहरीमाथि छानबिन हुँदै, घटनास्थलबाट फर्कियो समिति

छानबिन समितिका संयोजक एसएसपी सिद्धिविक्रम शाह, पृष्ठभूमिमा झ्याप्लेखोला पहिरो


उजिर कार्की
असोज २०, २०८१ आइतबार २२:३८, काठमाडौँ

पहिरोमा पुरिएर ३५ जनाको ज्यान गएको धादिङको झ्याप्लेखोला घटनामा प्रहरीको लापरबाहीबारे छानबिन भइरहेको छ। एकातिर रात्रिबस सञ्चालनमा रोक लगाएको अवस्थामा निर्बाध गाडी चलेको र अर्कोतिर झ्याप्लेखोलमा थुनिएका तथा पुरिएका यात्रुको समयमै उद्धार हुन नगरेको विषयमा सार्वजनिक आलोचना भएपछि प्रहरीले आन्तरिक छानबिन थालेको हो। 

खराब मौसमका कारण हुन सक्ने बाढी पहिरोको खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनलाई रात्रि बस सञ्चालनमा रोक लगाउन निर्देशन जारी गरिएको थियो। 

तर जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला सुरक्षा समितिले उक्त सूचना र निर्देशनलाई कार्यन्वयन नगर्दा एउटै दुर्घटनामा असोज ११ गते राति झ्याप्लेखोलामा ३५ जनाको ज्यान गएको थियो। झ्याप्लेखोला नागढुंगानजिकै काठमाडौँ र धादिङको सिमानामा पर्छ।  

उक्त घटनामा प्रहरीको पनि लापरबाही देखिएपछि प्रहरी प्रधान कार्यालयले एसएसपी सिद्धिविक्रम शाहको नेतृत्वमा छानबिन समिति बनाएको छ। समितिमा डीएसपी र इन्सपेक्टरसहित तीन जना छन्। 

उक्त समितिले आइतबार धादिङको सदरमुकाम पुगेर जिल्ला सुरक्षा समिति र प्रहरी नेतृत्वसँग सोधपुछ गरेको छ। यस्तै घटनास्थलको पनि अवलोकन गरेर टोली आइतबार फर्किएको छ। 

निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले घटनाको भालिपल्टै छानबिन समिति गठन गरेका थिए। समितिलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन भनिएको छ। 

तर लापरबाही गरेका कारण धादिङका एसपी र सीडीओको भने तत्काल सरुवा गरिएको थियो। एसपी गौतम केसीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको छ।

त्यसअघि नै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई तानेर गृहमन्त्रालयका सुमन घिमिरेलाई जिम्मेवारी दिएको थियो।

धादिङमा नयाँ एसपी दीपेन्द्र शाहीलाई खटाइएको छ। 

उक्त पहिरोमा तीन वटा गाडी पुरिएका थिए। ७ वटा गाडीमा क्षति पुगेको थियो। ३ वटा गाडीमा सवार ३५ यात्रुको घटनास्थलमै ज्यान गएको थियो। पहिरोले गाडी पुरिएपछि पनि प्रशासनले भने निक्कै ढिलो मात्रै जानकारी पाएको थियो। 

उक्त प्रशासनले गाडी नरोक्दा पहिरोमा ठूलो मानवीय क्षति भएको भन्दै लापरबाहीमा संलग्नलाई कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ।

यस्तै गृह मन्त्रालयले पनि पहिरो प्रभावित ८ वटा जिल्लामा छुट्टाछुट्टै सहसचिवलाई छानबिनका लागि खटाएको छ। 

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा सहसचिव नेतृत्वको टोली खटिएको छ।

काठमाडौँमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपलाञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ 

कार्यदललाई बाढी–पहिरोबाट प्रभावितहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कामबारे सुझाव दिने जिम्मेवारी तोकिएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव पनि प्रतिनिधि छन्। कार्यदललाई आगामी असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad