मोरङको पथरीशनिश्चरे नगरपालिकामा घरेलु धारिलो हतियारसहित १० जना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पथरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति अन्दाजी ११:३० बजेको समयमा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ९ र १० को सिमानामा पर्ने डाँस खोलाको झोलुंगे पुल प्रकृतिको खोला किनारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। शंकास्पद अवस्थामा फेला परेका उनीहरूको साथबाट कट्टु, खुर्पा, मार्तल, सानो हाते बन्चरो, चेन र भाला जस्ता धारिला घरेलु हतियार तथा औजारहरू बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ बस्ने १८ वर्षीय एबिन राई, १९ वर्षीय सुप्रिम राई र १८ वर्षीय रिदम तामाङ रहेका छन्। यसै गरी वडा नम्बर १० त्रिवेणी चोक बस्ने १९ वर्षीय युजिन राई, सोही स्थानका १८ वर्षीय अपिल राई र २२ वर्षीय अभिषेक थापा पनि नियन्त्रणमा परेका छन्।
प्रहरीका अनुसार वडा नम्बर ९ बस्ने १८ वर्षीय निसान माझी र सोही उमेरका सुसन ठटाल तथा वडा नम्बर १ शिखर चोक बस्ने १८ वर्षीय आरिया धिमाल र सोही ठाउँकी १८ वर्षीया कृपा लिम्बुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान सुरु गरिएका उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र कसूर मुद्दामा थप अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय माेरङका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। पक्राउ परेकाहरूमाथि थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। उनीहरू घरेलु हतियारसहित मध्यरातमा किन निस्किएका थिए भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन।

प्रतिक्रिया