स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगञ्ज स्थित नारायणी अस्पताल सुचारु गर्न आग्रह गरेको छ। आइतवारदेखि आकस्मिक सेवासहित सबै सेवा बन्द भए पछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेवा सुचारु गर्न भनेको हो।
शनिबार एकजना मुटुरोगी बिरामीको उपचारकै क्रममा आकस्मिक कक्षमा मृत्यु भएको थियो। बिरामीका आफन्तले चिकित्सकको लापरवाहीका कारण भएको भन्दै हातपात गरेका थिए। जसबाट अस्पतालका डा प्रमोद राम गम्भीर घाइते भएका छन्।
अस्पतालले उनी सहित उपचारमा संलग्न पाँच जना चिकित्सकलाई निलम्बन गरेको छ। चिकित्सकलाई नै निलम्बन गरे पछि अस्पतालको सेवा ठप्प पारिएको हो। आकस्मिक कक्षको बाहिर ‘हामी हड्तालमा छौँ। हाललाई सेवा दिन असमर्थ छौँ’ लेखिएको छ।
अस्पतालको सेवा ठप्प भए पछि स्वास्थ्य मन्त्रालयले सेवा सूचारु गरी घटनामा संमलग्नलाई कानुनी कारबाहीमा ल्याउन भनेको छ।
मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले जारी गरेको विज्ञप्तिमा अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
‘घटनापछि बिरामीको जीवन बचाउन दिनरात सेवामा खटिने स्वास्थ्यकर्मीबाट कुनै त्रुटी हुन गएमा त्यसको छानबिन तथा न्यायका लागि प्रचलित कानुनबमोजिम हुने व्यवस्था विद्यमान छ। मन्त्रालय यस प्रकारका हिंसाका घटनाप्रति शून्य सहनशीलताको नीति पुनः दोहोर्याउँछ,’ विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले स्वास्थ्य क्षेत्र एक अत्यन्त सम्वेदनशील क्षेत्र रहेको भन्दै उपचारमा संलग्न हुने सेवाग्राही र सेवा प्रदायक सबैले यो सम्वेदनशीलता बुझ्नु महत्वपूर्ण रहको जनाएको छ।
‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सबैलाई सेवा सुचारू गर्नु हुन, स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन हुन र सर्वसाधारण सबैलाई अस्पतालको सम्वेदनशीलतालाई बुझेर सेवा निरन्तर हुने वातावरण बनाइदिनु हुन अनुरोध छ। त्यसैले सबैलाई संयमित हुन र अस्पतालको सेवा सुचारु गर्न आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

Shares

प्रतिक्रिया