कला


फिल्म छायांकनको क्लिप टिकटकमा राख्दा स्पटब्वायविरुद्ध मुद्दा, ५१ लाख क्षतिपूर्ति माग

फिल्म छायांकनको क्लिप टिकटकमा राख्दा स्पटब्वायविरुद्ध मुद्दा, ५१ लाख क्षतिपूर्ति माग

नेपालखबर
साउन ११, २०८३ सोमबार १५:१५, काठमाडौँ

फिल्म छायांकनका क्रममा चार मिनेटको क्लिप टिकटकमा राखेपछि ‘महाराजधिराज’ का निर्माताले स्पटब्वायविरुद्ध मुद्दा हालेका छन्। उनीहरूले स्पटब्वायबाट ५१ लाख क्षतिपूर्ति भराउन माग गरेका छन्। 

फिल्म ‘महाराजधिराज’को टिमले छायांकनको भिडिओ मोबाइलमा तानेर टिकटकमा हालेपछि कथावस्तु र गोपनियता भंग भएको दाबी गरेको छ। यसमा ६ दिनको छायांकन खेर गएको जनाएका छन्। फेरि छायांकन गर्नुर्दा ५१ लाख रुपैयाँ क्षति भएको दाबी गरेका छन्। स्पटब्वायबाट त्यही बराबरको क्षतिपूर्ति भराउन माग गरेका छन्। 

फिल्म निर्माण टिमका तर्फबाट नेत्रबहादुर विष्टले जिल्ला प्रहरी कार्यालय, काठमाडौँमा जाहेरी दिएका थिए। त्यसमा उनले स्पटब्वाय सुदीप भनेर चिनिने २७ वर्षीय मनोज अधिकारीविरुद्ध साउन ५ गते किटानी जाहेरी दिएका हुन्। 

यसमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको थियो। उनले आफूले एक मिनेट २० सेकेन्डका तीन वटा क्लिपलाई जोडेर टिकटकमा भिडिओ राखेको स्वीकारेका थिए। 

टिकटकमा राख्ने वितिक्कै फिल्मको टोलीले हटाउन भनेको उनले बताएका छन्। त्यसपछि आफूले टिकटकमा राखेको १० मिनेटभित्रै हटाएको बताएका छन्। अहिले टिकटकमा फिल्मको भिडिओ छैन। 

निर्माण टिमले दिएको जाहेरीका आधारमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौँमा साउन ६ गते मुद्दा दायर भएको थियो। 

यसमाथि साउन ७ गते जिल्ला अदालतका न्यायाधीश मावधप्रसाद सुवेदीको इजलासमा सुनुवाइ भएको थियो। अदालतको आदेशपछि अधिकारी त्यही दिन रिहा भएका थिए। 

उनलाई विद्युतीय कारोबार ऐन, २०८३ को दफा ४८ को उपदफा (१) बमोजिम गोपनीयता भंगको कसुरमा सजाय माग गरिएको छ। उनीविरुद्धको मुद्दा जिल्ला अदालतमा जारी रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad