नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ।
नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सले आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौँमा आयोजना हुनेछ।
गत जेठ महिनामै आवेदन आह्वान गरिएअनुसार देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले यो प्रतियोगितामा सहभागिता जनाउन आफ्नो कन्टेन्टहरु उपलब्ध गराइसकेका छन्।
निर्णायक समूहले यो प्रतियोगिताका लागि प्राप्त कन्टेन्टको मूल्यांकनको आधारमा उत्कृष्ट १०० जना प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश गराउने छन्।
आयोजक संस्थाले निर्णायकको निर्णयका आधारमा आगामी साता मनोनयन सूची सार्वजनिक गर्दैछ। ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिने छ, जसका लागि हरेक विधामा १०-१० क्रिएटरलाई मनोनयनमा समावेश गरिने छ।
प्रतियोगिताको मूल्यांकनका लागि विभिन्न क्षेत्रका अनुभवी चार जना निर्णायक (जज्) रहने छन्।
निर्णायकहरूमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आईएमई ग्रुपका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेकनारायण भट्टराई रहेका छन्।
कार्यक्रमको ग्रान्ड फिनाले हुने स्थान भने पछि घोषणा गरिने छ। प्रतियोगिताको सम्पूर्ण समन्वय तथा व्यवस्थापन स्पर्श मिडिया इन्टरटेन्मेन्टले गरिरहेको छ।
आयोजकका अनुसार यो कार्यक्रमले नेपालमा डिजिटल कन्टेन्ट क्रिएटरहरूको सिर्जनात्मक क्षमता, प्रभाव र योगदानलाई राष्ट्रियस्तरमा सम्मानित गर्दै नयाँ प्रतिभाहरूलाई अघि बढ्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ।
सामाजिक सञ्जालको प्रभाव तीव्ररूपमा बढिरहेका बेला कन्टेन्ट क्रिएटरहरूको मेहनतलाई औपचारिकरूपमा सम्मान गर्ने उद्देश्यले ल्याइएको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ नेपालकै पहिलो प्रकारको अवार्ड कार्यक्रमका रूपमा रहेको आयोजकको दाबी छ।
कार्यक्रमबारे विस्तृत जानकारी, निर्णायकहरूको परिचय, विभिन्न विधा तथा आवेदन प्रक्रियासम्बन्धी विवरण आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ।
Shares

प्रतिक्रिया