धनुषा जटहीकी बेच्नी सदाको घरमा आइतबार छोरीको विवाहको तामझाम थियो। आँगनमै विवाहका लागि मरबा (मण्डप) बनाइएको थियो। टेन्ट गाडिएको थियो। लाउडस्पिकरमा घन्किएका गीतले विवाह उत्सवमा झनै रौनकता थपेको महसुस हुन्थ्यो।
धनुषाको भुतही पटेर्वाबाट आउने वर वरातीलाई स्वागत गर्न र खुवाउन विभिन्न परिकारहरु पाक्दै थियो। स्वयम्वरका लागि बेच्नीकी १९ वर्षीया छोरी पूजा हातमा मेहेन्दी लगाएर बसेकी थिइन्। सोह्र सिंगारमा सजिएकी दुलही पूजाको मुहारमा बेग्लै चमक थियो भने मनभित्र अथाह उत्साह।
साँझ परेपछि जन्तीलाई स्वागत गर्न विवाह घरमा आएका आफन्त, नातागोता, छिमेक, गाउँसमाज सबै तयार भएर बसे। उनीहरु उल्लासपूर्वक बेहुला र जन्तीको बाटो कुरिरहेका थिए। तर, एकैछिनमा विवाह घरको उत्साह निराशामा परिणत भयो। स्वयम्वरका लागि उत्साहपूर्वक सजिएकी दुलहीको चम्किलो मुहारमाथि कालो बादल मडारियो।
बेहुलीको भेषमा सजिएर बसेकी पूजा सदा
यसको कारण थियो ‘बेहुलापक्ष अब नआउने’ भन्ने खबर।
‘दाइजोका रुपमा पहिले नै मोटरसाइकल नदिएकाले अब जन्ती आउँदैनौँ, यो विवाह हुँदैन,’ केटापक्षले फोनमा दिएको जानकारी थियो यो।
धनुषाको नगरलाइन नगरपालिका २ जटहीका सुकदेव सदाकी छोरी पूजाको विवाहका लागि धनुषाको भुतही पटेर्वा निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशीलसँग २ आना सुन र एउटा झण्डै २ लाख रुपैयाँ पर्ने मोटरसाइकल दाइजोमा दिने भनेर टुंगो लागेको थियो।
त्यसै अनुसार आर्थिक अवस्था अत्यन्त कमजोर भएपनि बेच्नी सदाले छोरीको विवाहका लागि ५ लाख रुपैयाँ चर्को ब्याजमा लिएर सबै तयारी गरेकी थिइन्। तर दाइजोमा भनेको मोटरसाइकल अगाबै दिन नसक्दा विवाह नै रोकिएपछि बेच्नीको परिवार अहिले निकै तनावमा छन्।
बेहुला नआएपछि अस्तव्यस्त बनेको बेहुलीको घर र उपस्थित आफन्तहरु।
बेच्नीले ३ दिनभित्रै आफूले भनेको मोटरासइकल दिने भन्दै विवाह नतोड्न केटापक्षसँग हार–गुहार गरिन्। रातिमै १०–१२ जना आफन्त र समाजका गन्यमान्य व्यक्तिको समूह बेहुलाको घरमा पुगे। बेहुलापक्षलाई जसरी पनि विवाहको लागि मनाउनका लागि एक लाख रुपैयाँका साथमा बेहुलीका बुबा सुकदेवको नागरिकता पनि उनीहरुले लगेका थिए।
‘एक लाख रुपैयाँ नै तत्काल लिनुस्, नागरिकता बन्धक राख्नुस्। हामीले मोटरसाइकल भोलि नै उपलब्ध गराइदिन्छौँ। यो विवाह इन्कार नगर्नुस् भनेर हाम्रो पक्षबाट गएका सबैले बिलौना गरे। तर, केही चलेन,’ पूजाकी आमा बेच्नीले भनिन्, ‘केटालाई नै भगाइदिए। केटालाई हेर्न समेत दिएननन्।’
विवाहका लागि तयार गरिएको मण्डप
बेच्नीले छोरीको विवाहको लागि ५ लाखा रुपैयाँ ऋण काढेर तयारी गरेको र सबै बर्बाद भएकाले विवाह नगर्ने बेहुला पक्षलाई कडा कारबाही गर्न प्रशासनसँग माग गरिन्।
‘पाँच लाख रुपैयाँ साहु महाजनसँग ऋण काढेर विवाहको लागि सबै खर्च गरें। यो क्षतिपुर्ति हामीलाई उपलब्ध गराउन र केटापक्षलाई कारबाही गराउन सहयोग गरिदिनुस्.’ बेच्नी सदाले गुहार गर्दै भनिन्।
उनले अब त्यो केटासँग छोरीको विवाह समेत गर्न नसक्ने बताइन्।
विवाह रोकिएपछि छोरी पूजाले बेहुलापक्षलाई कारबाही हुनुपर्ने माग गरेकी छन्।
जन्ती नआउने खबरपछि निराश अवस्थामा आमा बेच्नी सदा र छोरी पूजा सदा
‘मोटरसाइकल नै नदिएको कारण विवाह नगर्ने केटासँग बिहे गरेर म के गरौँला र? भोलि कुनै बहानामा कुटपिट गर्छन्। हत्या नै गरिदिन सक्छन्,’ पूजाले भनिन्, ‘तर, विवाह गर्ने समय तोकेर बिहे नगर्ने र अरुको प्रतिष्ठामाथि आँच पुर्याउनेलाई कडा कारबाही हुनुपर्छ।’
दाइजोको कारण विवाह रोक्नेलाई कारबाहीको दायरामा ल्याउने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए।
‘दाइजो कसुरमा मुद्दामा छोरापक्षलाई कारबाही गर्न सकिन्छ,’ प्रजिअ कँडेलले नेपालखबरसँग भने, ‘तर, त्यसको लागि छोरी पक्षले जाहेरी दिनुपर्यो। हामी कारबाही प्रक्रिया अघि बढाउँछौं।’

प्रतिक्रिया