दसैँको बेलामा गाउँबाट काठमाडौँ उपत्यकामा खसी बिक्री गर्न आएका व्यापारीहरुले काठमाडौँ महानगरपालिकाको अकर्मण्यताका कारण खसी हराएको आरोप लगाएका छन्।
बुधबार बिहान काभ्रेपलाञ्चोकबाट काठमाडौँको भृकुटीमण्डपमा खसी बेच्न आएका व्यापारीहरूले महानगरका कर्मचारीहरू आएर बाँधेका खसी खोलेर छोडिदिएपछि ३ वटा खसी हराएको गुनासो गरे।
काभ्रेबाट खसी विक्री गर्न आएका व्यापारी कालबहादुर साहले बिहान खसी ल्याएर बाँधेको र महानगरका कर्मचारी आएर यहाँ नराख भन्दै बाँधेका खसीहरू फुकाएर केही पर लगेर छोडिदिएपछि हराएको गुनासो गरे।
उनले विपद्को बेलामा दिनरात नभनि हिँडेर ल्याएका खसीहरू हराउँदा दसैँ नै खल्लो भएको पनि जिकिर गरे।
‘यहाँ खसी बाँधेका थियौँ, बाँधेपछि लल गइहाल, लैजाओ भन्यो। हामीले लगेनौँ। उहाँहधले आएर सबै डोरी फुत्काएर छोडिदिनुभयो। नगरपालिकाको कर्मचारीहरूले त्यसो गर्नुभयो। ३ वटा खसी हराए। त्यस्तो भयो, अब के गर्न सकिन्छ र? हामी बिहान ४ बजे आइपुगेका हौँ। खसी निकालेर बाँधेका थियौँ। त्यस्तो गरिदिए,’ उनले भने।
अर्का खसी व्यापारी काभ्रेपलाञ्चोककै कृष्णप्रसाद पाण्डेले गत सालको भन्दा यस वर्ष सस्तोमा बेच्नुपरेको गुनासो गरे।
उनले गाउँमा अहिले खसी महंगो रहेको तर शहरमा सस्तो रहेको बताउँदै सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भएको पनि बताए।
‘पोहोरको भन्दा अहिलेको स्थितिमा गाउँमा महंगो, यहाँ सस्तो छ। पोहोर ६५०÷६६० मा बेचेका थियौँ। अहिले त्यत्तिमै दिँदा पनि लैजाँदैनन्। सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भयो। भाडा पनि डबल प¥यो। यहाँबाट फर्काएर लगे हामीले खाल्डामै हाल्नुपर्छ। बिक्री त जसरी भए नि सिध्याएर जानुपर्छ। तर घाटा खाएर बेच्नुपर्ने भयो,’ उनले भने।
अर्का काभ्रेपलाञ्चोक जिल्लाकै खसी व्यापारी सोनाम मोक्तानले बजारमा भाउ नरहेको गुनासो गरे। उनले उपभोक्ताहरू किन्न नआएको गुनासो गरे।
‘बजारमा खासै भाउ छैन, पहिलाको जस्तो, बेच्न पाएको छैन। बाढी, पहिरो खसेको छ, सहज छैन, ल्याउन। ३ दिन हिँडाएर ल्यायौँ काभ्रेका महाभारतबाट। लगभग १५ हजार भाडा लाग्यो। बजारको रेटमै बेचेका छौँ,’ उनले भने।
यता उपभोक्ता मानबहादुर श्रेष्ठ भने गत सालको भन्दा यस वर्ष अझै महंगो भएको गुनासो गर्छन्। ‘महंगो रहेछ, आवश्यक परेपछि किन्नैप¥यो,’ उनले भने।
दसैँ अगाडिको मनसुनजन्य विपत्तिका कारण यस वर्षको दसैँ उल्लासमय बन्न सकिरहेको छैन। विपद्का कारण सडक आवागमन कतिपय स्थानहरूमा अवरुद्ध हुँदा दशैँका लागि काठमाडौँ भित्रिने खसी, बोका, च्याङ्ग्राहरू कम आएको बताइरहेको बेलामा काठमाडौँमा आएका खसीबोका पनि बिक्री नभएको व्यपारीहरूको गुनासो छ।
Shares

प्रतिक्रिया