समाज


नेपाली र विदेशी युवकको समलिंगी विवाह पहिलोपल्ट दर्ता, हिन्दु र क्रिस्चियन विधिमा कर्मकाण्ड

नेपाली र विदेशी युवकको समलिंगी विवाह पहिलोपल्ट दर्ता, हिन्दु र क्रिस्चियन विधिमा कर्मकाण्ड

प्रजित बुढाथोकी र अमेरिकी जोय फोस्टर एलिस। तस्बिरः नीलहीरा समाज


नेपालखबर
असोज २५, २०८१ शुक्रबार ९:२६, काठमाडौँ

नेपाली र अमेरिकी युवकको एक जोडीले बिहीबार समलिंगी विवाह गरेको छ।

नेपाली युवक प्रजित बुढाथोकी र अमेरिकी जोय फोस्टर एलिस वैवाहिक सम्बन्धमा बाँधिएका हुन्। २७ वर्षीय बुढाथोकी धरानका हुन् भने ३० वर्षीय एलिस अमेरिकाको न्युयोर्कका हुन्।

बिहीबार काठमाडौँको नक्सालमा भएको वैवाहिक कार्यक्रममा दुई ब्राम्हणले हिन्दु धार्मिक संस्कारअनुसार मन्त्रोच्चारण गरी विवाहको विधि पुर्‍याउन सहयोग गरेका थिए। त्यसलगत्तै क्रिस्चियन धर्मगुरुसामु उनीहरूले औँठी साटासाट गर्दै विवाहको शपथ पनि लिए। अनि ती धर्मगुरुले दम्पती घोषणा गरी सफल वैवाहिक जीवनका लागि आशिर्वाद प्रदान गरे।

उनीहरूले यस विवाहलाई नेपाली–विदेशी नागरिक भएर गरेको पहिलो वैधानिक समलिंगी विवाह भनेका छन्।

उनीहरूले धरान उपमहानगरपालिका वडा नं ११ को कार्यालयमा समलिंगी विवाह दर्ताको प्रक्रिया सम्पन्न गरेपछि धार्मिक संस्कारअनुरुप विवाह गरेको बताएका छन्।

उनीहरूले विवाहका लागि पशुपतिनाथ क्षेत्रबाट दुईजना ब्राम्हण बोलाएका थिए।

सर्वोच्च अदालतले लैंगिक अल्पसंख्यकको विवाह पञ्जीकरणका लागि अलग्गै बहीखाता राख्न सर्वोच्च अदालतले आदेश दिएपछि स्थानीय तहमा यो विवाह दर्ताको प्रक्रिया सम्भव भएको उनीहरूले बताएका छन्।

यसअघि लमजुङको दोर्दी गाउँपालिकाका सुरेन्द्र पाण्डे र माया गुरुङले समलिंगी विवाह दर्ता गराएका थिए।

'प्रेमको जित हुन्छ'
लैंगिक अल्पसंख्यकहरूको पक्षमा काम गर्दै आएको सामाजिक संस्था नीलहीरा समाजले प्रजित र जोयको जोडीको यस सफलतालाई प्रेमको जित भनी टिप्पणी गरेको छ। साथै यस घटनालाई कोशेढुंगाका रुपमा अर्थ्याउँदै नेपालमा विवाहको समानताको वकालतलाई थप प्रेरित गर्ने अपेक्षा गरेको उक्त संस्थाले उल्लेख गरेको छ। 

वैवाहिक कार्यक्रमको तस्बिरसमेत सार्वजनिक गरी उक्त संस्थाले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘आज नील हिरा समाजले नवविवाहित जोडी प्रजित र जोईसँग अन्तर्क्रिया गर्ने र बधाई दिने अवसर पाएको छ। प्रेममा पर्ने, आत्मा खोज्ने र विवाहको यो महत्त्वपूर्ण कोशेढुंगामा पुग्नका लागि चुनौतीहरू पार गर्ने उनीहरूको सुन्दर यात्राले हामीलाई गहिरो प्रभाव पारेको छ र नेपालमा विवाह समानताको लागि हाम्रो वकालतलाई प्रेरित गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad