समाज


सशस्त्र प्रहरी स्कुलको ११ करोड पुग्यो ट्राभल्स सञ्चालकको खातामा

इन्सपेक्टर र ट्राभल्स सञ्चालक हिरासतमा
सशस्त्र प्रहरी स्कुलको ११ करोड पुग्यो ट्राभल्स सञ्चालकको खातामा

उजिर कार्की
असार २२, २०८३ सोमबार १९:३, काठमाडौँ

काठमाडौँको कीर्तिपुरस्थित सशस्त्र प्रहरी विद्यालयकी लेखापाल सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कल्पना गुरुङ र उनका साथी ट्राभल एजेन्सी सञ्चालक लीला लामालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

गएको शनिबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि सोमबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो।

अदालतले पहिलोपटक ७ दिनको म्याद दिएको परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। विद्यालयको करिब ११ करोड रुपैयाँ हिनामिना भएको भन्दै सशस्त्र प्रहरीले काठमाडौँ परिसरमा जाहेरी दिँदै पक्राउ गरेर अनुसन्धानका लागि पत्र पनि पठाएको थियो।

कल्पना ६ वर्षदेखि उक्त विद्यालयमा लेखापाल छिन् भने लीला लामा उनका साथी हुन्। विद्यालयमा उठेको रकम सशस्त्र प्रहरी कल्याण महाशाखाअन्तर्गतको कोषमा जम्मा गर्नुपर्ने भए पनि कल्पनाले नगरेको र रकम विद्यालयको खातामा पनि नरहेको पाइएको थियो।

कल्पनाले कल्याण महाशाखाले ताकेता गरेपछि २ पटक १५ र थप एकसाता गरी २१ दिन समय लिएकी थिइन्। तर आफैँले भनेको म्यादमा पनि रकम जम्मा नभएपछि सशस्त्र प्रहरीले आन्तरिक छानबिन गरेको थियो।

सशस्त्र प्रहरीले आफ्नो कल्याण महाशाखा मातहत रहने गरी विद्यालय सञ्चालन गरेको हो। विद्यालयको आम्दानी हरेक आर्थिक वर्षको असार मसान्तसम्ममा कोषमा जम्मा गर्नुपर्छ।

कल्याण महाशाखाले आफू मातहत रहेका पेट्रोलपम्प, विद्यालय, सुपथ मूल्यका पसललाई गत जेठमै रकम जम्मा गर्न ताकेता गरेको थियो। अन्य निकायको रकम जम्मा भए पनि विद्यालयको रकम भने जम्मा हुन सकेन।

त्यसपछि लेखापाल गुरुङलाई बोलाएरै सोधपुछ गरिएको थियो। त्यतिबेला उनले दुई साताको समय माग गरेकी थिइन् र दुई सातामा जम्मा गरिसक्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

तर उनले त्यो अवधिमा रकम जम्मा गर्न सकिनन्। फेरि अर्को एक हप्ता थप समय मागिन्।

त्यो अवधिमा पनि विद्यालयको रकम कोषको खातामा आउन सकेन। त्यसपछि सशस्त्र प्रहरीले कानुन निर्देशनालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) युवराज अर्यालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

कल्याण मातहत रहेको विद्यालयको सम्पूर्ण खर्च महाशाखाबाटै दिने र आम्दानी पनि सोही कोषमा जम्मा हुने गरेको छ।

समितिले अनुसन्धान गर्दा विद्यालयमा उठेको रकम आफ्नो खातामा नरहेको पत्ता लगायो। विद्यालयको रकम अर्कै व्यक्तिको खातामा (लीला लामा) गएको खुलासा भयो।

त्यसपछि थप अनुसन्धान आफ्नो कार्यालयबाट नभई नेपाल प्रहरीबाटै हुनुपर्ने निष्कर्षमा पुगेको थियो।

सशस्त्र प्रहरीले थप अनुसन्धान गरी कारबाही अगाडि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्राचार गरेको थियो।

सशस्त्र प्रहरीको पत्रपछि लेखापाल गुरुङ र विद्यालयको रकम गएको भनिएका लीला लामालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिररहेको काठमाडौँ प्रमुख एसएसपी दिलिप घिमिरेले बताए।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई पत्र पठाइसकेको र प्रहरीले नै अनुसन्धान गरिरहेको बताए।

सशस्त्र प्रहरीले विद्यालयका प्रमुख एसपी रामजंग पाण्डेलाई पनि जिम्मेवारीबाट अलग गरिसकेको छ। विद्यालयमा एसपी लेखनाथ खनाललाई खटाइएको छ।

रकम कति र कसरी हिनामिना भएको छ भन्ने विषय अब नेपाल प्रहरीको अनुसन्धानपछि नै प्रस्ट हुने सशस्त्र प्रहरी प्रवक्ता कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad