पटकपटक विवादमा परेका नेपाली सेनाका वरिष्ठ उपरथी बाबुराम श्रेष्ठ अवकाशमा गएका छन्। सरकारले रिक्त रथीमा बढुवा नगर्दा र उपरथीको पदावधि पनि थप नगरेपछि श्रेष्ठ बिहीबारदेखि अनिवार्य अवकाश भएका हुन्।
श्रेष्ठलाई २०७८ कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। तीन वर्षे कार्यकाल पूरा भएसँगै उनी निवृत्त भएका हुन्।
प्रधान सेनापतिले चाहेको अवस्थामा पदावधि थप गर्न सिफारिस गर्न सक्ने सैनिक ऐनमा व्यवस्था छ। सैनिक ऐन २०६३ को दफा १७ (३) मा लामो अवधिसम्म सेवा गरी शारीरिक रूपमा सक्षम रहेका अधिकृतको सेवा नेपाली सेनाका लागि आवश्यक छ भनी मनासिव आधार र कारण खोली नेपाल सरकार समक्ष प्रधानसेनापतिले सिफारिस गरेमा नेपाल सरकारले पदावधि थप गर्न सक्ने उल्लेख छ।
प्रधानसेनापतिले चाहेको भए श्रेष्ठ रथीमा बढुवा हुने सम्भावना बलियो थियो। प्रधानसेनापतिले बोर्ड गठन गरेर बोर्डको सिफारिसमा रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषदबाट निर्णय गराउने व्यवस्था छ।
हाल कार्यरत उपरथीहरूमध्ये उनी नै सबैभन्दा वरिष्ठ हुन्। बलाध्यक्ष रथीमा बढुवा भएको भए उनको सेवा अवधि १७ महिना लम्बिने थियो।
तर, उपरथीको उमेर हद (५७ वर्ष) पूरा हुन ५ महिना बाँकी हुँदै श्रेष्ठले अवकाश हुनु परेको हो। श्रेष्ठ २०२४ फागुन २८ गते जन्मिएका हुन्। रथीमा बढुवा भएको भए उनी ५८ वर्षको उमेरसम्म सेवा गरेर रथीबाट अवकाश हुनेथिए। रथीको उमेर हद ५८ वर्ष हो।
नेपाली सेनामा डेढ महिनादेखि बलाध्यक्ष रथी पद रिक्त भए पनि उनलाई उपरथीबाटै बिदा दिइएको छ। उनलाई अवकाश गराउनकै लागि सेनाले रथी पद डेढ महिनासम्म रिक्त राखेको थियो।
उपरथी श्रेष्ठ पटक–पटक विवादमा तानिएर छानबिनको दायरामा परेका अधिकारी हुन्। उनीमाथि पछिल्लो पटक सैनिक कमान्ड तथा स्टाफ कलेजको शिक्षाधिकृत हुँदा आर्थिक अनियमितताको आरोप लागेको थियो।
सेनाले उक्त प्रकरण छानबिन गर्न कोर्ट अफ इन्क्वायरी गठन गरेको छ। उनीसँगै काम गरेका अधिकारीहरूमाथि अहिले पनि छानबिन चलिरहेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ। तर श्रेष्ठले भने अवकाशमा जाने भएपछि छानबिनबाट मुक्ति पाएका छन्।
यसअघि २७ नम्बर बाहिनीको बाहिनीपति हुँदा भर्ना छनोटमा अनियमितता गरेको आरोप पनि उनीमाथि लागेको थियो। उक्त घटनामा भने उनी कारबाहीमा परेका थिए।
सहायक रथी हुँदा कारबाहीमा परेकै कारण उनी समयमै उपरथीमा बढुवा हुन पाएका थिएनन्। उनीभन्दा पछिका सहदेव खड्का, सन्तोष ढकाल र हिरालाल जोशी उपरथीमा बढुवा भइसकेका थिए।
तीन वर्षअघि उपरथीमा बढुवा हुनासाथ श्रेष्ठले मध्य कमान्डको जिम्मेवारी पाएका थिए। २०४४ सालमा नेपाली सेनाको क्याडेटमा भर्ना भएका श्रेष्ठ हाल सैनिक कमान्ड तथा स्टाफ कलेजको शिक्षाधिकृत थिए।
श्रेष्ठको अवकाशले केसीलाई रथी बन्ने मौका
आफूभन्दा वरिष्ठ उपरथी अवकाशमा गएसँगै मध्य पृतना हेटौँडाका पृतनापति उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा हुने भएका छन्। नेपाली सेनामा दुई जना रथीको दरबन्दी छ। त्यसमध्ये हाल बलाधिकृत रथीमा निर्मलकुमार थापा कार्यरत छन्।
यसअघिका बलाधिकृत रथी अशोकराज सिग्देल भदौ २४ गते प्रधानसेनापतिमा नियुक्त भएका थिए। उनी प्रधानसेनापति नियुक्त भएसँगै एक जना रथी रिक्त भएको हो।
बाँकी रहेका उपरथीहरूमा प्रदीपजंग केसी वरिष्ठ हुन्। उनी पनि बाबुराम श्रेष्ठकै ब्याचका हुन्। तर पछि उपरथीमा बढुवा भएकाले उनको सेवा अवधि बाँकी नै छ। रथीमा बढुवा हुँदा केसी अझै २५ महिना सैनिक सेवामा रहन पाउनेछन्।
उनी रथीको ५८ वर्षे उमेर हदका कारण २०८३ मंसिर १५ गते अनिवार्य अवकाश हुनेछन्। उनको पनि प्रधानसेनापति बन्ने सम्भावना भने छैन।
२०२५ मंसिर १६ गते काठमाडौँमा जन्मिएका उनी २०४४ असोजमा नेपाली सेनामा भर्ना भएका हुन्। उनी २०७८ पुस ८ गते उपरथीमा बढुवा भएका थिए। उनको उपरथीको कार्यकाल अब दुई महिना बाँकी छ। यहीबीचमा उनी रथीमा बढुवा भए सेवा अवधि थपिने छ।
केसीपछिको वरीयतामा उपरथीहरू प्रेमध्वज अधिकारी र दीपककुमार बानियाँ छन्।
अधिकारी जंगी अड्डाको युद्धकार्य विभाग प्रमुख हुन् भने बानियाँ कार्यरथी विभागको विभागीय प्रमुख हुन्। सेनामा वरिष्ठलाई नै बढुवा गर्ने अभ्यासले उनीहरूको अहिले नै रथी बन्ने सम्भावना कम छ।
Shares

प्रतिक्रिया