संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकारको उम्मेदवार बनाउन नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीलाई विशेष बढुवा दिने निर्णय भएको छ।
संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकारमा उम्मेदवार बन्न रथी तह आवश्यक भएपछि सरकारले उनलाई विशेष बढुवा (स्थानीय बढुवा) गर्ने निर्णय गरेको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।
रथीमा बढुवा भएर सैन्य सल्लाहकारका लागि आवेदन दिइसकेका अधिकारीको राष्ट्र संघबाट स्वीकृति आउन भने बाँकी छ।
‘यो प्रतिस्पर्धा हो, अन्य देशबाट पनि आवेदन परेको हुनसक्छ। यसमा नेपालका तर्फबाट अधिकारीको आवेदन परेको हो। अब प्राप्त आवेदनमध्येबाट राष्ट्र संघले छान्ने छ,’ सैनिक मुख्यालय उच्च स्रोतले भन्यो।
अधिकारी नेपालको हकमा उपरथीकै हैसियतमा रहनेछन्। राष्ट्र संघको सैन्य सल्लाहकारका लागि रथी तह नै आवश्यक पर्ने भएकाले विशेष बढुवा (स्थानीय बढुवा) दिएर आवेदन गरिएको हो।
‘नेपाल सरकारले बढुवा गर्दै लोकल लेबलको रथी भनेर पदोन्नति गरेर पठाएको छ। यसको मतलब यही प्रयोजनका लागि मात्रै अधिकारी रथी बन्नेछन्,’ सैनिक स्रोतले भन्यो, ‘राष्ट्र संघबाट छनोट नभए अधिकारी उपरथी नै रहनेछन् र निर्मलकुमार थापाको अवकाशपछि नियमित समयमा रथी बन्नेछन्।’
छनोट भए उनले राष्ट्र संघमा रथीको हैसियत पाउनेछन् तर नेपालमा भने आफ्नो पालोमा मात्रै दज्र्यानी चिन्ह लगाइनेछ। बलाधिकृत रथी सिग्देल अब करिब एक वर्ष सेवामा रहनेछन्। त्यसपछि ५८ वर्षे उमेर हदका कारण उनको अवकाश हुनेछ।
गत भदौ २४ गते अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएपछि एक रथी पद रिक्त भएको हो।
२०७८ फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। २९ गते दज्र्यानीचिन्ह लगाएका उनको कार्यकाल अब साढे चार महिना बाँकी छ।
तर प्रधानसेनापतिले आवश्यक ठानेमा उनको कार्यकाल थप हुनसक्ने कानुनी व्यवस्था छ। प्रधानसेनापतिको सिफारिसमा सरकारले उपरथीको कार्यकाल एक वर्ष थप गर्न सक्छ। एक वर्ष उपरथीको कार्यकाल थप भएमा एक वर्षपछि रथीमा बढुवा हुने भएकाले अधिकारीको कार्यकाल पनि अर्को एक वर्ष थप हुनेछ। उपरथीको भन्दा रथीको उमेर हद एक वर्ष बढी छ।
अधिकारी सैनिक सल्लाहकार बन्न सफल भएमा नेपाली सेनाले हालसम्मकै उच्च तहमा प्रतिनिधित्व गर्ने छ। यसअघि निर्मलकुमार थापा संयुुक्त राष्ट्र संघको शान्ति मिसनमा सिरियामा फोर्स कमान्डर छन्। नेपाली सेनाले राष्ट्र संघमा पाएको यो नै उच्च तह हो। तर हाल शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने नेपाली सेनाले त्यो भन्दा उच्च तहमा दाबी पेस गरेको हो।
अधिकारी २०६९ चैतमा महासेनानी र २०७५ भदौमा सहायक रथीमा बढुवा भएका थिए।
उपरथीमा बढुवा भएपछि उनले राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा जिम्मेवारी पाएका थिए। त्यसपछि पृतनापति भएका अधिकारी हाल सैनिक मुख्यालयको युद्ध कार्य विभागको प्रमुख छन्।
राष्ट्र संघको सैन्य सल्लाहकारमा नियुक्त भए अधिकारीले राष्ट्र संघका महासचिवलाई सिधै रिपोर्टिङ गर्नेछन्।
नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भएको थियो। नेपाली सैनिक हाल संयुक्त राष्ट्र संघका ११ वटा मिसनहरुमा कार्यरत छन्। यसमध्ये नेपाली सेनाका ५ हजार ९१८, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १४३ गरी ६ हजार १४१ जना शान्ति सैनिक कार्यरत छन्।
Shares

प्रतिक्रिया