समाज


तिहारमा दाजुभाइलाई कस्ता खानेकुरा दिने?

‘तिहारमा म कहिल्यै मिठाई किन्दिनँ, अरूलाई उपहार पनि दिन्नँ’
तिहारमा दाजुभाइलाई कस्ता खानेकुरा दिने?

डा. अरुणा उप्रेती
कात्तिक १४, २०८१ बुधबार १३:३१, काठमाडौँ

नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ। यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीच विभिन्न उपहार पनि लिनेदिने पर्वका रूपमा पनि लिने गरिन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो- तिहार। दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने, टीका लगाउने, पूजा गर्ने र त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई स्नेहपूर्वक उपहार दिने एकदमै राम्रो चलन हो। यो चलन जोगाउनुपर्छ। तर यो पर्व मनाउँदै गर्दा विभिन्न मसला र भोजन दाजुभाइलाई दिँदा त्यस्तो भोजन कस्तो तरिकाले बनाइएको र कस्तो तेल प्रयोग गरिएको छ भनेर विचारचाहिँ गर्नुपर्छ। 

तेलको गुणस्तरले भोजनको गुणस्तरमा पनि असर पार्ने हुँदा आफूले प्रेमपूर्वक दिएको खानेकुराले कुनै असर नगरोस् भन्ने कुरामा ध्यान दिन आवश्यक छ। बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ। त्यसले मुटु र कलेजोलाई हानि पुर्‍याउँछ। यस्तो खाना खाएपछि दाजुभाइलाई समस्या उत्पन्न हुनसक्छ। त्यसमाथि पनि मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरूमा झन् समस्या थपिन सक्छ। त्यसैले दिदीबहिनीले सबैलाई स्वस्थकर हुने घरमा बनाइएका खानेकुराको बढी प्रयोग गरे दाजुभाइलाई ‘माया’ गरेको ठहरिन्छ।

तिहार पर्व मनाइरहँदा सन्तुलित र स्वस्थ खानेकुरातर्फ ध्यान दिन जरुरी छ। यो बेलामा विभिन्न तरिकाले बनाएका बढी मासु खाँदा स्वास्थ्यमा समस्या पनि आउन सक्छ। धेरै चिल्लो, मसला र पिरो राखेर पकाएको मासु स्वादिष्ट त हुन्छ। भात, रोटी, चिउरासँग त्यो स्वादिष्ट मासु खाएर पेट टन्न हुँदा पनि जिब्रो अघाएन र जिब्रोले स्वाद खोज्यो भन्दै पुनः थपेर खाँदा पेटको स्वास्थमा असर गर्छ। जिब्रोको स्वादका आधारमा यसरी मासु र धेरै परिकार तथा अन्य खानेकुरा खाँदा स्वास्थ्यमा अनेक समस्या आउन सक्छन्। त्यसैले संयमित भएर भोजन गर्नुपर्छ।

पर्वका बेला कहिलेकाहीँ धेरै स्वादिष्ट मसलेदार मासु खाएको खण्डमा बिहान टन्न खाएमा दिउँसो खाजा नखाँदा पेटलाई आराम हुन्छ। पेट अटसमटस हुने गरी मासु खाँदा झाडापखाला लाग्ने, पेट दुख्ने समस्या निम्तिन सक्छ। मासुमा रेशादार तत्त्व हुँदैन। त्यसैले मासुसँगै हरियो सागसब्जी, दही, गेडागुडी, दाल फलफुल अनिवार्य रूपमा मिलाएर शरीरलाई चाहिने मात्रा सेवन गरेर सन्तुलित आहार खाँदा स्वस्थ बन्न सकिन्छ। यस्तो साधारण कुराको ज्ञान राखेर दिदीबहिनीले दाजुभाइलाई कसरी स्वस्थ बनाउने पनि विचार गर्नुपर्छ।

पहिला नेपालीलाई मासु खानका लागि दसैँ, तिहारजस्ता चाडपर्व नै कुर्नपर्थ्यो। आजभन्दा ४४/४५ वर्षअघि दसैँ, तिहारमा मासुभात, मासु चिउरा, मिठाई खान पाइन्छ भनेर खुसी भइन्थ्यो । यही बेलामा मात्रै मन लागे जति मासु खान पाइन्थ्यो । अरुबेलामा त एक पाउ ल्याएर परिवारले खाने भएर होला, दसैँ, तिहारका बेला धेरै मासु खाने चलन थियो। अहिले मासु खान दसैँ, तिहारजस्ता चाडपर्वमा पर्खिनु पर्दैन। दैनिक जीवनमा पनि हप्तामा एक/दुईचोटि मासु प्रायः धेरै परिवारमा पाक्छ। मासु मात्रै लगातार खाने अनि दाल, गेडागुडी, हरियो सागसब्जीलाई बेवास्ता गर्दा कब्जियतको समस्या हुन्छ। शरीरलाई चाहिने प्रोटिन तत्त्व प्राप्त गर्न सबै खानेकुरा मिलाएर खानुपर्छ। 

चाडपर्वका बेला मासु बढी खाने तर अन्य स्वस्थकर खानेकुरालाई बेवास्ता गर्दा मधुमेह, युरिक एसिड, अत्यधिक मोटोपन, ग्यास्ट्रिक भएकाहरूलाई झन् समस्या पर्छ। विदेशतिर काँचो मासु काटेर डिपफ्रिजमा राख्छन् र आफूलाई चाहिएका बेला निकालेर पकाउँछन्। हामीकहाँ चाँहि धेरै मासु एकैपटक पकाएर फ्रिजमा राख्ने, त्यसपछि पुनः खाने बेला सबै निकालेर एकैचोटि तताउने, चाहिएको खाने अनि फेरि फ्रिजमा राख्ने गरिन्छ।

यसरी फ्रिजमा राख्दै, बाहिर निकाल्दै खाने अनि फेरि फ्रिजमा राख्ने गर्दा मासुमा भएको पौष्टिक तत्त्व र गुणस्तर घट्छ। खानामा विषालु तत्त्व उत्पन्न पनि हुनसक्छ। धेरै मासु एकैचोटि ल्याएर डिपफ्रिजमा काँचो मासु राख्ने, जति चाहिन्छ, त्यति मात्रै निकालेर पकाउने गर्नुपर्छ। सकेसम्म जुनसुकै खानेकुरा फ्रिजमा राखेको २४ घण्टादेखि ४८ घण्टाभित्र खानुपर्छ। अहिले नसर्ने रोगको बिगबिगी बढेकाले दाजुभाइको स्वास्थ्यमा राम्रो फाइदा गर्ने भोजन दिनुपर्छ। 

यदि कोही दाजुभाइ शाकाहारी छन् भने उनीलाई दही, दूध, पनिर, च्याउ, तोफु, फापर, विभिन्न थरिको रोटी, ढिँडो, चिउराका परिकार आदि खानेकुरा मिलाएर भोजन गराउँदा स्वाद र स्वास्थ्य दुवै पाइन्छ। तिहारमा चाडपर्वमा मिठाई कोसेली लैजान त बन्द नै गर्नुपर्छ। मैले त घरमा आउने पाहुनालाई ‘मिठाई ल्याउँदा पनि नल्याउनुहोस्’ भनेको छु। म पनि अरुकोमा जाँदा फलफूल नै लैजान्छु। फलफूल लैजान सजिलो पनि छ। अलि सम्मान गर्ने व्यक्तिको घरमा जाँदा काजु लैजान्छु। गाउँबाट ल्याएको तामा, कोदो, फापर लैजान्छु। तिहारमा म कहिल्यै मिठाई किन्दिनँ। अरूलाई उपहार दिँदा पनि दिन्नँ। 

तिहारमा रमाइलो गरेर मनाइरहँदा स्वास्थ्य अवस्थालाई चाहिँ ध्यानमा राख्नुपर्छ। यो बेला चिल्लो धेरै खायो भने बिरामी परिन्छ। त्यसको असर दीर्घकालीन रूपमा पनि पर्न सक्छ। पाँच/छ फिटको शरीरका लागि तीन/चार इन्चको जिब्रोले ‘कन्ट्रोल’ गर्न नसक्दा समस्या पर्छ।

दाजुभाइले पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ। यो बेला मासु तरकारी, दालभात, विभिन्न किसिमका परिकार खाइन्छ। भोजनले पेट भर्ने मात्र होइन, यो आनन्द पनि जोडिएको छ। पेट भर्ने घर परिवारसँग पाहुनालाई सँगै खाँदा छुट्टै आनन्द आउँछ। तर यस्तो बेला खानेकुरामा एकदमै विचार गर्नुपर्छ।

दाजुभाइलाई पाहुना बोलाएको बेला विशेषगरी मासु एकदमै चिल्लो र मसलादार साथै हेर्दा राम्रो लाग्ने गरी बनाइन्छ। तर यस्तो मासु धेरै खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने कुरा बुझ्नुपर्छ। स्वास्थ्यलाई नराम्रो असर पर्ने कुरा सकेसम्म दाजुभाइलाई पर्वका बेला दिनु हुँदैन। मासु र भात पकाएर खाँदा पेट भरिए पनि मुख भरिएको छैन भनेर खाइन्छ। 

पर्वका बेला धेरै चिल्लो, गुलियो पदार्थ चिसो पेयपदार्थ, मिठाई खाँदा शरीरमा विशेषगरी कलेजोमा बोसो जम्ने समस्या हुन्छ। त्यही कारणले पनि चाडपर्वमा मासुदेखि मिठाईसम्म चिसो पेयपदार्थदेखि अन्य पेय पदार्थहरूसम्म सेवन गर्दा धेरै विचार गर्नुपर्छ। जुन वस्तुले स्वास्थ्यमा राम्रो असर पार्छ, त्यही खानुपर्दछ। तिहारका बेला ‘ड्राइफुड्स्’का विभिन्न प्रकार जस्तैः काजु किसमिस, बदाम, ओखरको प्रयोग गरेर परिकार बनाउन सकिन्छ। यिनीहरू एकदमै स्वास्थ्यवर्द्धक खानेकुरा हुन्। तर यी खानेकुराको प्रयोग एकैपटक धेरै गर्नु भने हुँदैन।

अलिअलि थोरैथोरै हरेक दिन खाने गरेमा स्वास्थ्यमा सकारात्मक असर पर्छ। भाइमसलामा शरीरलाई चाहिने पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छ। यस्तो खानेकुराको प्रयोग हामीले हलुवा, खिरमा मिसाएर पनि खान सकिन्छ। यसको प्रयोगले खानेकुरा मीठो र स्वस्थकर हुन्छ।

भाइमसलाहरू महँगो हुन्छ। काजु, ओखर आदि थोरैथोरै धेरै प्रकारका खानेकुरा बनाएर खाए पनि पुग्छ सकिन्छ। सस्तो बदामलाई गरिबको काजु भनिन्छ, तिहारमा ‘बदाम’ प्रयोग गरेर विभिन्न परिकार बनाउन सकिन्छ। यो बेलामा दाजुभाइलाई बाहिरबाट ल्याइएका खानेकुरा दिनुभन्दा घरमा नै बनाइएका विभिन्न प्रकारका खानेकुरा स्वस्थकर हुन्छ। बाहिरबाट ल्याइएका प्याकेटका खानेकुरा उपहार दिँदा दाजुभाइको स्वास्थ्यलाई झन् नकारात्मक असर पार्छ। यस्ता खानेकुरा ल्याएर दाजुभाइलाई ‘माया गरेको’ नठाने हुन्छ।

हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यका लागि मनाउँछौँ। त्यसैले उनीहरूको स्वास्थ्यको ख्याल राख्नु दिदीबहिनीको कर्तव्य हो। अहिले उपहारमा पनि अनेक फलफूलको जुस होइन, स्थानीय फलफूल नै दिनुपर्छ। बट्टाको फलफूलको जुसले शरीरमा धेरै बेफाइदा गर्छ। बट्टाको जुसहरूमा एकदमै धेरै चिनीको मात्रा हुन्छ। अहिलेको समयमा चिनीको प्रयोगले मानिसहरूलाई विभिन्न किसिमका समस्या आइपरेका छन्।

त्यसमाथि यदि कसैका दाजुभाइ मधुमेहका बिरामी छन् भने त झनै समस्या हुन्छ। त्यसकारणले बारीमा, पसलमा सजिलै पाइने अम्बा, सुन्तला, अमला हलुवाबेदजस्ता खानेकुराले दाजुभाइको तिहार विशेष बनाऔँ। खानेकुरा घरमा दाल, भात, तरकारी, माछामासु बनाउँदा पनि चिल्लो, पिरो कम गरी बनाउनु पर्छ। स्वादको लागि टमाटर, लप्सी, तिल, सिलाम, आलस, आलुको अचार बनाउन सकिन्छ। अचार खाँदा यसमा हालेको अमिलोमा भिटामीन ‘सी’ हुन्छ, त्यसले रोगसँग लड्ने शक्ति बढाउँछ। सरल र सहज रूपमा पाइने खानेकुराको प्रयोग गरेर पनि तिहार विशेष बनाउन सक्छौँ। 

चाडपर्व भन्दैमा खानेकुरा अव्यवस्थित रूपमा खानु हुँदैन। खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो। चिल्लो, पिरो, अमिलो तथा हरेक प्रकारका खानेकुरालाई व्यवस्थापन गर्न सकिन्छ। हरेक खानेकुरा समयमा खानाले स्वास्थ्य भई चाड मनाउन सकिन्छ। रमाइलो गर्ने हो तर स्वास्थ्यको ख्याल गर्दै गरेका हरेक कुरा हाम्रा लागि लाभदायक हुने गदर्छन्। चाडबाड मनाउँदै गर्दा खानेकुराले आफन्ती तथा दाजुभाइको स्वास्थ्यमा क्षति गर्न हुँदैन। (लेखक पोषणविद् हुन्) रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad