समाज


कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन एनपीएलका लागि चितवनमा अनुबन्ध

कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन एनपीएलका लागि चितवनमा अनुबन्ध

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १६:३४, काठमाडौँ

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि जान निकोल लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ। चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन्।

यसअघि चितवनले मर्रस्यन्ट डी ल्याङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ।

बायाँ हाते २३ वर्षीय नामिबियाका यी ब्याट्सम्यानले गत फ्रेबुअरीमा टी–ट्वेन्टी आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए। (अहिले सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन्)

नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उनले सो कोसेढुङ्गा पार गरेका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमा शतक बनाएका थिए।

एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा) कीर्तिमान तोडेका हुन्। कुशलले गत वर्ष चीनको हन्झाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ वर्षमा शतक पूरा गरेका थिए। 

दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन्।

चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटने खुसी व्यक्त गरेका छन्। ‘त्रिवि क्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ। यो मैदानले मलाई टी– ट्वेन्टी क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिङ्स खेल्ने अवसर दिएको छ। अब नेपाली क्रिकेट समर्थकका अगाडि चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ,’ उनले भने।

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी–इटन र मल्ल एकै टोलीमा भएको कारण एनपीएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरे।

‘नेपाली क्रिकेट समर्थकहरूले उनलाई गत सिजन त्रिवि मैदानमा कुशलको कीर्तिमान तोडेको देखेका थिए। अब दुवै धुरन्धर खेलाडी एउटै टोलीबाट खेल्नेछन्। आफ्नो सिट बेल्ट बाँध्नुहोस्’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad