समाज


छठकै गीत गाएर चर्चा कमाएकी गायिका सिन्हा, छठमै अस्ताइन्

छठकै गीत गाएर चर्चा कमाएकी गायिका सिन्हा, छठमै अस्ताइन्

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १६:३७, वीरगञ्ज (पर्सा)

छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहेकी ७२ वर्षीया गायिका सिन्हाको मंगलबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

भोजपुरी तथा मैथली भाषाकी लोकगायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै आएका छन्। 

उनले गाएको छठसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा,भैया गैल मुंगेर’ लगायत गीत चर्चित छन्।

वीरगञ्जका कलासाहित्य क्षेत्रमा अनुरागीहरूले पनि लोकगायिका सिन्हाको निधनले स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन्। नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकगायिका सिन्हालाई भोजपुरी गीतका उज्जवल नक्षेत्रको रुपमा स्मरण गरे।

‘सिन्हाले लोकआस्थाका रुपमा मनाइने पर्व छठको गीतलाई आफ्नो सुुमुधुर आवाजमार्फत जनस्तरमा पु¥याउनुभएको छ। उहाँले गाउनुभएका छठका गीत अहिले पनि वीरगञ्जका विभिन्न छठ घाटहरुमा गुञ्जिरहेका छन्’, उनले भने, ‘लोकगायिका सिन्हाले भोजपुरीसँगै चर्चित हिन्दी गीतहरु पनि गाउनुभएको छ।’

प्रतिष्ठानका पूर्वसचिव उपाध्यायले लोकगायिका सिन्हाको निधनले भोजपुरी कला र साहित्य क्षेत्रले अपूरणीय क्षति बेहोरेको बताए। ‘सिन्हा जस्तो लोककलाकार पाउन भोजपुरी कला र साहित्य क्षेत्रले अझै धेरै समय कुर्नुपर्ने हुन्छ’, उनले भने, ‘गीत, साहित्य, सङ्गीतले भूगोल र सीमालाई हेर्दैन। साहित्य, कला र सङ्गीत विश्वसँग जोडिएका विषय भएकाले पनि उहाँको निधनले हामी स्तब्ध भएका छौँ।’

पूर्वसचिव उपाध्यायले सिन्हा भोजपुरी कला र गीतप्रति रुचि र लगाव राख्ने अनुरागी भएको स्मारण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे। 

लोकगायिका सिन्हाको जन्म भारतको विहार राज्यमा भएको थियो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य एवं नेपाल भोजपुरी समाजको सहसचिव अजमत अली अन्सारीले भारतीय लोकगायिक सिन्हाको निधनले भोजपूरी गीतले महान श्रष्ठा गुमाएको बताउँदै उनलाई स्मरण गरे।

‘भारतीय हिन्दी गीत, सङ्गीतमा जसरी लता मङ्गेशकरलाई चिनिन्छ, त्यस्तै गरी भोजपुरी गीतका क्षेत्रमा शारदा सिन्हालाई चिन्ने गरिन्छ’, उनले भने, ‘सिन्हाले छठका गीत गाएर प्रसिद्धि कमाउनुभयो। छठकै समयमा उहाँको निधन भएकाले गीतका अनुरागीहरूलाई मर्माहत बनाएको छ।’ 

भारतीय लोकगायिका सिन्हाले भारतको लब्धप्रतिष्ठित पद्यश्री र पद्यभुषण अवार्डसमेत प्राप्त गरेकी छिन्। उनका एक छोरा र एक छोरी छन्।

लोकगायिका सिन्हाको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad