समाज


यस्तो छ पक्राउ परेका पूर्वमन्त्री अधिकारी र बिचौलियाबीचको ह्वाट्सएप संवाद

यस्तो छ पक्राउ परेका पूर्वमन्त्री अधिकारी र बिचौलियाबीचको ह्वाट्सएप संवाद

उजिर कार्की
कात्तिक २६, २०८१ सोमबार २०:२७, काठमाडौँ

जापानमा मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लव अधिकारीले बिचौलियाहरुसँग गरेको संवाद प्रहरीलाई बुझाएका छन्। 

जापानको विमानस्थलबाट तीनजनासहित फिर्ता भएपछि आफू अनुसन्धानमा तानिने देखेर उनले पहिले नै केही संवादहरु प्रहरीलाई बुझाएका थिए। आइतबार मोरङस्थित निवासबाटै पक्राउ परेपछि उनको थप संवाद पनि प्रहरीले फेला पारेको हो। 

यसअघि उनले आफूलाई मोरङकै गोपाल गौतमले जापान पठाएको र उसैमार्फत सबै प्रक्रिया अगाडि बढाएको बताएका थिए। अन्य कसैलाई पनि आफूले नचिन्ने अधिकारीको भनाइ थियो। गौतम र अधिकारी मोरङको एउटै क्षेत्रका हुन्। अधिकारी मोरङ क्षेत्र नं २ (ख) बाट निर्वाचित एमालेका सांसद हुन्। 

तर जापानको नारिता विमानस्थलमा समातिएपछि उनले गोपाल गौतमलाई ह्वाट्सएपमा म्यासेज गरेका थिए।

नेपालबाट जाँदै गर्दा गोपालले नै मन्त्रीलाई सोधेका छन्, ‘केही असजिलो भए खबर पाऊँ, मोहन भाइ एयरपोर्टबाहिर पर्खिएर बसिराखेको छन् अरे। तपार्इंको सिद्धिएपछि भेट हुन्छ।’ 

नारिता विमानस्थलमा रोकिएपछि मन्त्रीले अक्टोबर ३० मा गौतमलाई म्यासेज पठाएका छन्, ‘फटाहाको फेला परियो। मलाई त अवैध मान्छे सप्लाइ गर्न पो प्रयोग गरेका रहेछन्। अब अनुसन्धान हुन्छ। ककसको केके भूमिका छ? त्यो महेश भन्ने मान्छे को हो? कस्ले मेरो नामको किर्ते सही गरेर नक्कली कार्ड बनाई ती मान्छे पठायो? ती सबै अनुसन्धानमा सहयोग पुगोस्। अरु नेपाल आएपछि कुरा हुन्छ।’

त्यसपछि गौतमले सोधेका छन्, ‘कहाँ हुनुहुन्छ? के भयो? कहिले आउनुहुन्छ? आउनू, जे गर्नुपर्छ गरौँला।’

मन्त्री अधिकारी फेरि थप्छन्, ‘मैले तपाईंबाहेक कसैलाई चिनेको छैन। पासपोर्ट पनि तपाईंलाई दिएको हो। भिसाको लागि पनि बोलाइएन। मान्छे को–को हो जाने भनी अन्तिम उड्ने दिनसम्म पनि भनिएन। काठमाडौँबाट उड्दा पनि म एक्लै उडेको, एक्कासि हङकङ एयरपोर्टमा पो सर नमस्कार हामी पनि हजुरकै नेतृत्वमा जापान सम्मेलनमा हिँडेको भन्दा म छक्क परेँ। मैले जिन्दगीमा कहिल्यै नदेखेका। नभेटेका कहिल्यै नाम नसुनेका व्यक्तिसँग त्यो हङकङ भेटले नै मेरो मन अमिलो भयो। मलाई त यिनीहरुले अवैध मानिस जापान छिराउने माध्यम पो बनाएका रहेछन्, मेरो पूरै नक्कली आईडी बनाएर। मैले चिनेको थिएन। चिन्दिनँ भने इमिग्रेसनमा। त्यसपछि त म ठगिएको रहस्य पूरै उजागर भैहाल्यो। उनी मलाई गालीगलौज गर्न रुन कराउन थालिहाले। धन्न मानव तस्कर हुनबाट बच्न सफल भएँ। अब अनुसन्धानमा सघाउनु होला म तपाईंबाहेक अरुलाई चिन्दिनँ।’ 

गौतमको जवाफ छ, ‘त्यो आयोजक भाइसँग पनि कुरा गरौँला। मलाई त थाहा थिएन। कार्यक्रम मात्रै बुझेको हो मन्त्री जाने, अरुको थाहा छैन। म नि जान्दिनँ। आउनू। बसेर सबै बुझौँला र जे गर्नुपर्छ गरौँला काम्रेड।’

गौतमले यसै जान मिल्ने भए आफैँ जाने पनि उल्लेख गरेका छन्।

‘त्यसरी जान मिल्ने भए म आफै गइहाल्थेँ नि। पाउँदैन अरुलाई भनेको थियो र पो मैले कोसिस गरिनँ,’ उनले भने।

त्यसपछि पनि उनले लगातार म्यासेज गर्छन्। 

‘मलाई भेट्नु है काम्रेड अनि जे गर्नुपर्छ गरौँला।’ 

‘कति बजे आइपुग्ने हो काम्रेड। म आउँछु अनि जे गर्नुपर्छ गरौँला।’ 

‘आइपुगेपछि फोन पाऊँ हजुर म आइहाल्छु। केही थाहा छैन के भाको हो अनि जे गरौँला।’ 

‘कता हो काम्रेड? भेट हुँदैन?’ 

गौतमले लगातार सोधे पनि त्यसपछि मन्त्रीले कुनै जवाफ दिएका छैनन्। मन्त्रीले जापानमा रोकिएपछि उनले दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) सँग कुरा गरेका थिए। कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी चन्द्रकुबेर खापुङ र प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोका डीआईजी राजन अधिकारीसँग जापानमा रोकिएको र फर्किन लागेको बताएका थिए। 

आफूलाई जापान पठाउने र आफूसँगै जापान जाने व्यक्तिमाथि पनि अनुसन्धान गर्न भनेका थिए। तर ती व्यक्तिहरुलाई चिन्दिनँ भने पनि मन्त्री अधिकारी र जापान जाने एक युवकको लागि सँगै कोठा बुक गरिएको पाइएको छ। 

उनले मोरङकै गोपाल गौतमले आफूलाई पठाउने सबै व्यवस्था मिलाएको र आफूले उनैलाई पासपोर्ट बुझाएको बताएका थिए। जानुभन्दा दुईदिन अघि मात्रै भिसा लागेर पासपोर्ट फिर्ता आएको उनको भनाइ छ। 

यस्तै उनले कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी खापुङलाई पनि आफू जापानमा अप्ठेरोमा परेको भन्दै म्यासेज गरेका छन्। 

आइतबार पक्राउ परेका अधिकारी र त्यसअघि नै पक्राउ परेका ६ जनाविरुद्ध प्रहरीले दुई वटा कसुरमा अनुसन्धान अगाडी बढाएको छ। काठमाडौँ ल्याउनासाथ अधिकारीलाई हिरासतमा राख्न अनुमतिका लागि अदालतमा उपस्थित गराइएको थियो। जिल्ला अदालतबाट सोमबारसम्म हिरासतमा राख्न अनुमति पाएको प्रहरीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ को दफा ४ को उपदफा २ को (ग) र मुलुकी अपराध संहिता २०७४ को लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। 

मंगलबार पुनः सातै जनालाई म्याद थपका लागि एकसाथ अदालतमा उपस्थित गराइनेछ।

निवर्तमान मन्त्री अधिकारीलाई पक्राउ गर्नु पहिले नै प्रहरीले उनीसँगै जापान गएका तीन जना र नक्कली कागजात तयार गर्ने तथा रकम अशुलेर जापान पठाउनमा संलग्न तीन जनालाई पक्राउ गरेको थियो। 

जापानको विमानस्थलबाटै अध्यागमन विभागले फर्काएका खोटाङको केपीलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐसेलुखर्क गाँउपालिका २ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका ५ का २१ वर्षीय कन्चन देवकोटा सुरुमा पक्राउ परेका थिए। 

उनीहरुलाई विमानस्थलबाट पक्राउ गरेर अनुसन्धान गर्दा थप व्यक्तिको संलग्नता खुलेको थियो। उनीहरुमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका ७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका ९ का ३० वर्षीय वीरबहादुर सुनुवार रहेका छन्। 

अधिकारी र तीन युवा जापानमा हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर २०२४’ मा सहभागी हुन तीन युवासहित हङकङ हुँदै नारिता अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। 

मन्त्रीसँगै गएका तीन युवासँग कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नाममा जारी भएको नक्कली कर्मचारी परिचय पत्र समेत फेला परेको छ। जापानको भिसा लगाउन र कार्यक्रममा जान उक्त परिचयपत्र समेतको प्रयोग भएको थियो। 

कात्तिक ११ गते क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ हुँदै उनीहरु जापानको नारिता विमानस्थल पुगेका थिए। तर नारिता विमानस्थलस्थित अध्यागमनले उनीहरुलाई प्रवेश निषेध गरेको थियो। 

अध्यागमन कार्यालयले जापान प्रवेशमा रोक लगाएपछि ४८ घण्टापछि कात्तिक १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएका थिए। 

जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको थियो। 

अध्यागमन कार्यालयले चलानी नम्बर ७८१ मार्फत उनीहरुमाथि थप अनुसन्धान गर्न पत्राचार गरेको थियो। अध्यागमन कार्यालयले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो। त्यसको दुई दिनपछि कात्तिक १६ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको थियो। 

त्यसपछि परिसरले नै ६ जनामाथि अनुसन्धान अगाडि बढाएको छ।

सँगै जापान गएका तीनजनाको नक्कली परिचय पत्रको हस्ताक्षरमा मन्त्री अधिकारीलाई निमित्त कार्यालय प्रमुख उल्लेख गरिएको छ। 

यीसहितका नक्कली कागजात तयार गरेकाले किर्ते कागजात सम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेको हो। यस्तै जापान जाने युवाहरुले भने १३ लाख रुपैयाँसम्म तिरेको बताएका छन्। उनीहरुले रकम तिरेको प्रमाण पनि फेला परेको प्रहरीको दाबी छ। 

अधिकारीले भने आफू मानव बेचबिखन कसुरमा संलग्न रहेको आरोपपछि मन्त्रीबाट राजीनामा दिएका थिए। उनलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी निलम्बन पनि गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad