उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेहरूका लागि निःशुल्क उपचार गर्ने निर्णयपछि जलनपीडितहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन्।
जलन उपचार अभियन्ता उज्ज्वलविक्रम थापा, सांसद विन्दवासिनी कंसाकारका साथमा मन्त्रालय पुगेको जलनपीडितको समूहले विगतमा पटकपटक उठाउँदै आए पनि जलनपीडितका पक्षमा बल्ल महत्त्वपूर्ण निर्णय गरेको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिएको हो।
आफैँ जलनपीडित रहेकी सांसद कंसाकारले भनिन्, ‘विगतमा मैले धेरै स्वास्थ्यमन्त्रीसँग भेटेर कुरा गरेँ। संसदमा प्रस्ताव पनि दर्ता गराएँ। तर सुनुवाइ भएको थिएन। अहिले स्वास्थ्य मन्त्रीज्यूले जलनपीडितका पक्षमा निर्णय गरिदनुभयो। यहाँलाई धन्यवाद।’
जलनपीडितको उपचारका पक्षमा आवाज उठाउँदै आएका अभियन्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्त्वपूर्ण निर्णय भएको बताए। ‘अहिलेसम्म कसैले सम्बोधन नगरेको विषयमा चाँडै नै मन्त्रीज्यूले गर्नुभएको निर्णय महत्त्वपूर्ण छ,’ उनले भने, ‘अब जलनका घटना नहोउन् भनेर सजगता अपनाउन ध्यानाकर्षण गर्दछु।’
उनले रसायन प्रयोग गर्ने सुनचाँदी लगायतका प्रतिष्ठानका कर्मचारीको बिमा गराउन सकिए एसिड दुर्घटनामा राहत पुग्ने बताए।
तनहुँका श्याममणि आचार्यले आफू जलनको पीडामा हुँदा विगतमा पनि मन्त्री पौडेलले साथ दिएको स्मरण गर्दै अहिले भएको निःशुल्क उपचारको निर्णय उदाहरणीय भएको बताए।
झापाकी जलनपीडित ज्योति हरिजनले भोग्नेलाई मात्र पीडा थाहा हुने भन्दै अब महँगो कस्मेटिकलगायतका उपचारको शुल्क घटाउन पहल हुने आशा व्यक्त गरिन्।
मन्त्री पौडेलले आफूले नेता चन्द्र भण्डारीदेखि धेरै पीडितको समस्या देखेको भन्दै भोली कसैले आर्थिक अभावमै ज्यान गुमाउनु वा अंगभंग हुन नपरोस् भनेर निःशुल्क उपचार तथा जलन वार्ड विस्तार गरिएको बताए।
‘मैले उपचार अभाव तथा ढिलाइ भएका धेरैको पीडा आफूले नभोगे पनि देखेको छु,’ उनले भने, ‘यी समस्या समाधान गर्न बजेटमा नपरे पनि पनि आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर उपचार सातै प्रदेशमा अनि नसक्नेलाई निःशुल्क बनाएका हौँ।’
अब विद्युतका कारण हुने जलनमा विद्युत प्राधिकरणबाट उपचार वा बिमाका सम्बन्धमा गर्न सकिने कामका विषयमा पनि गृहकार्य भइरहेको उनले जानकारी दिए।
मन्त्री पौडेलले कस्मेटिक उपचारमा महँगो शुल्क भन्ने गुनासो समाधान गर्नसमेत अनुगमन र नियमन गर्ने वचन दिए।
Shares

प्रतिक्रिया