मानव बेचबिखनको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वआन्तरिक मामिला मन्त्री लीलावल्लभ अधिकारीको बयान सकिएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसन्धान अधिकारीले मंगलबार दिनभर जिल्ला सरकारी वकिल कार्यालयमा सरकारी वकिलको रोहवरमा बयान लिएका थिए।
बयानको क्रम सकिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।
अधिकारीमाथि मानव बेचबिखन र लिखतसम्बन्धी कसुर (किर्ते) अभियोगमा मुद्दा चलाउने तयारी छ।
यस प्रकरणमा अनुसन्धानको क्रम भने जारी रहेको प्रहरीले बताएको छ।
अधिकारी मोरङ क्षेत्र नं २ (ख) बाट निर्वाचित एमालेका सांसद हुन्। उनले मानव बेचबिखन कसुरमा संलग्न रहेको आरोप लागेपछि मन्त्री पदबाट राजीनामा दिएका थिए। उनलाई एमालेले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिसकेको छ।
अधिकारी तीनजना युवक लिएर भनिएको ‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर २०२४’ मा सहभागी हुन हङकङ हुँदै जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। जापानको अध्यागमनले उनीहरूलाई त्यहाँ ४८ घण्टा नियन्त्रणमा राखेर कात्तिक १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काइदिएको थियो।
यस प्रकरणमा प्रहरीले अधिकारीसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।पक्राउ पर्नेमा अधिकारीसँगै जापान जानेहरू केपीलासगढी गाँउपालिका-४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐसेलुखर्क गाँउपालिका-२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका-५ का २१ वर्षीय कन्चन देवकोटा रहेका छन्। उनीहरूलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो।
उनीहरूको बयानबाट संलग्नता खुलेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका-७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका-९ का ३० वर्षीय वीरबहादुर सुनुवार त्यसपछि प्रकाउ परेका थिए।
यी ६ जना हिरासतमा रहेकै बखत पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा पुगे। अधिकारी समातिएपछि प्रहरीले खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई प्रहरीले पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया