समाज


भैँसेपाटी हनी-ट्रयाप : एसपी थापा जोगिए, फरार इन्सपेक्टर शाहीविरुद्ध मुद्दा चलाउन सीआईबीको राय

भैँसेपाटी हनी-ट्रयाप : एसपी थापा जोगिए, फरार इन्सपेक्टर शाहीविरुद्ध मुद्दा चलाउन सीआईबीको राय

प्रहरी निरीक्षक बिनु शाही र प्रहरी उपरीक्षक कमल थापा


उजिर कार्की
मंसिर ४, २०८१ मंगलबार २१:३२, काठमाडौँ

ललितपुरको भैँसेपाटीमा प्रहरी समेतको मिलेमतोमा भएको हनी ट्रयाप घटनाको अनुसन्धान टुंगिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार अनुसन्धान सकेर फाइल र पक्राउ परेका चारजनालाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा बुझाइएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। 

सीआईबीको अनुसन्धान प्रतिवेदनमा प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रतिवादी बनाउन सिफारिस गरिएको छ। यसमध्ये चारजना पक्राउ छन् भने प्रहरी निरीक्षक शाही र दर्शन पोखरेल फरार छन्। 

यो मुद्दाको अनुसन्धानमा तानिएका प्रहरी उपरीक्षक (एसपी) कमल थापा भने जोगिएका छन्। हनी ट्रयापको घटनामा उनको संलग्नता पुष्टि हुनेसम्मको प्रमाण नदेखिएको सीआईबी प्रमुख एआईजी दीपक थापाले बताए। 

हनी ट्रयापको गिरोहसँग कनेक्सन देखिएपछि एसपी थापामाथि पनि सीआईबीले अनुसन्धान गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी थापालाई त्यहाँबाट प्रहरी प्रधान कार्यालय तानिएको थियो। 

कमल थापा र गिरोहबीचमा संवाद तथा भेटघाट भएको देखिए पनि यही घटनामा संलग्नता पुष्टि हुन नसकेको सीआईबीको निष्कर्ष छ।

सीआईबीले अनुसन्धानका क्रममा उनीसँग सोधपुछ समेत गरेको थियो। अनुसन्धान प्रतिवेदनमा थापाको बयान कागज पनि संलग्न गरिएको छ।
 
‘अहिले अनुसन्धान भइरहेको आपराधिक लाभ सम्बन्धी कसुर पुष्टि हुने गरी उहाँको संलग्नता यो मुद्दामा देखिएन। हामीले सोही अनुसार सरकारी वकिल कार्यालयमा प्रतिवेदन पठाएका छौँ। थप निर्णय सरकारी वकिल कार्यालयबाट हुन्छ,’ सीआईबी प्रमुख थापाले भने। 

भैँसेपाटी प्रभागकी तत्कालीन प्रमुखसमेत रहेकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई भने प्रतिवादी बनाउन सिफारिस गरिएको छ। उनलाई यसअघि नै निलम्बन गरिसकिएको थियो। 

घटना सार्वजनिक भएपछि उनलाई प्रभागको प्रमुखबाट हटाइएको थियो। यस्तै जिल्ला प्रहरी परिसर ललितपुरले छानबिन समिति पनि बनाएको थियो। छानबिन समितिले सोधपुछका लागि बोलाउँदा पनि उनी उपस्थित भएकी थिइनन्। पटकपटक बोलाउँदा पनि इन्कार गरेपछि शाहीको समेत संलग्नता देखिएको र आवश्यक कानुनी कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको थियो। 

समितिको सिफारिसपछि जिल्ला प्रहरी परिसर ललितपुरले शाहीसहित ६ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। पक्राउ पुर्जी जारी भएलगत्तै शाही भने फरार भएकी थिइन्। 

उनलाई सीआईबीले समेत फेला पार्न नसकेकाले फरारकै सूचीमा राखेर प्रतिवादी बनाउन राय दिएको एआईजी थापाले नेपालखबरलाई बताए। 

प्रहरी निरीक्षक शाहीले आफ्ना सवारी चालकमार्फत रकम लिएको आरोप छ। शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाललाई भने पक्राउ गरेरै अनुसन्धान गरिएको थियो। हाल हिरासतमा राखिएका हमाल पनि प्रहरीबाट निलम्बित छन्। 

सुनसरीको इटहरीकी सुस्मा विक, इटहरीकै ताज इस्लाम र भीमादेवी थापालाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। उनीहरूलाई पनि प्रतिवादी बनाउन राय सीआईबीको छ। 

एक व्यवसायीलाई भैँसेपाटी प्रभागमा ल्याएर रकम बार्गेनिङ गरेको र उनीसँग ३० लाख रुपैयाँ लिएर छाडिएको आरोप छ। गिरोहले भीमादेवीको खातामा रकम जम्मा गरेको थियो। रकम जम्मा गर्न प्रहरी पनि साथै गएको दाबी गरिएको थियो। अनुसन्धानबाट यी कुराको पुष्टि भएको सीआईबीको भनाइ छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख लोकबहादुर कटुवालले सीआईबीबाट अनुसन्धान प्रतिवेदन आइसकेको बताउँदै उक्त प्रतिवेदन अध्ययनपछि मुद्दाबारे निर्णय लिने बताए। 

‘सीआईबीले आज प्रतिवेदन बुझाएको छ। मैले हेर्न पाएको छैन। अब प्रतिवेदन अध्ययन गरेर अभियोजन बारे निर्णय हुन्छ,’ जिल्ला न्यायाधिवक्ता कटुवालले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad