समाज


नौमती र पञ्जेबाजा घन्काएर सहिदका छोरीहरूले गरेको क्रान्ति


सीताराम बराल
मंसिर १२ , काठमाडौँ

केही वर्षअघिसम्म विवाह, व्रतबन्ध लगायतका धार्मिक–सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा र नौमती बाजा बजाउने जिम्मा निश्चित समुदायको मात्र थियो।

तर, झापा चारपाने माइतीघर भएका तीन दिदीबहिनीहरू क्रमशः शान्ता दाहाल (पौडेल), शोभा दाहाल (बिमली) र सुशीला दाहाल (पोख्रेल) ले पनि यो पेसा अँगालेका छन्।

ब्राम्हण समुदायका महिलाहरूले यसरी समूह गठन गरेर व्यावसायिक रूपमा बाजा बजाउन थाल्नु अवश्य पनि सामाजिक–सांस्कृतिक क्रान्ति नै हो। 

यस्तो ‘सामाजिक–सांस्कृतिक क्रान्ति’ को अगुवाइ गरिरहेका शान्ता, शोभा र सुशीला खासमा पञ्चायती शासनविरुद्ध संघर्ष गर्दागर्दै सहादत प्राप्त गरेका एक क्रान्तिकारीका छोरीहरू हुन्।  

तत्कालीन ‘नेकपा’ पूर्व कोसी प्रान्तीय कमिटी अन्तर्गत झापा जिल्ला कमिटीले २०२८ मा झापामा सशस्त्र संघर्ष सुरु गरेको थियो। त्यो सशस्त्र संघर्षका अगुवामध्येका एक थिए रामनाथ दाहाल।

पञ्चायती प्रशासनले झापा संघर्षमा दमन गर्‍यो। दर्जनौँ क्रान्तिकारीहरू पक्राउ परे। त्यसमध्ये इलाम जेल सार्ने बहानामा झापा जेलबाट निकालिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको झापा–इलामको सिमानामा रहेको सुखानी जंगलमा लगी २१ फागुन २०२८ मा हत्या गरिएको थियो।  

रामनाथ दाहाल तिनै सहिद हुन्, जसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्युनिस्ट पार्टीमा संगठित गरेका थिए। भूमिगत हुनुअघिसम्म ओलीले दाहालकै घरमा बसेर आफ्नो अध्ययनलाई अघि बढाएका थिए।   

नातामा ओली सहिद रामनाथ दाहालका साला पर्ने भएकाले उनका छोरीहरू प्रधानमन्त्री ओलीलाई अहिले पनि ‘मामा’ भनेर सम्बोधन गर्छन्। 

शान्ता, शोभा र सुशीला सुखानीमा मारिएका तिनै सहिद रामनाथ दाहालकी जेठी श्रीमती जमुना दाहालतर्फका जेठी, साइँली र कान्छी छोरीहरू हुन्।  

उनीहरू अहिले आर्ट स्टुडियो नामक समूहमा आबद्ध छन्। यसको स्थापना सहिद दाहालकी जेठी छोरी शान्ताले नै गरेकी हुन्, अध्यक्ष उनै छिन्। नौमती बाजा समूह यसै अन्तर्गतको हो। 

रामनाथ दाहाल २८ मंसिर २०२९ मा घरबाटै पक्राउ परे। सँगै रहेका ओली भने उम्किन सफल भए। भनिन्छ, ओलीलाई जोगाउनकै लागि दाहाल आफू पक्राउ परेका थिए।

पक्राउ परेका रामनाथ अन्य चार क्रान्तिकारीहरूसँगै सुखानीमा मारिए।   

बुबा रामनाथको हत्यापछि दाहालकी जेठी श्रीमती जानुकाले छोरीहरूलाई दुःखका साथ हुर्काइन्।

उमेर पुगेपछि उनीहरूको घरजम भयो। यसैक्रममा तीनैजना दिदीबहिनी वैदेशिक रोजगारीको सिलसिलामा इजरायल पनि पुगे। 

यसमध्ये जेठी शान्ता सानैदेखि नाच्ने गाउने गर्थिन्। सानैदेखिको प्रतिभा र इजरायलबाट फर्केपछिको फुर्सदिलो समयको उपयोगका लागि उनले आर्ट समूह स्थापना गरेकी हुन्। 

यो समूह स्थापना गर्दा शान्तालाई प्रोत्साहन दिने कोही थिएनन्, निरुत्साहित गर्नेहरू भने बग्रेल्ती थिए। 

तैपनि शान्ताले हिम्मत हारिनन्। माहिली मञ्जु दाहाल (प्रसाईं) सक्रिय राजनीतिमा थिइन्। त्यसैले, बाँकी दुई बहिनीहरू शोभा र सुशीलालाई लिएर उनले आर्ट स्टुडियो स्थापना गरिन् र नौमती बाजा समूहलाई अघि बढाइन्। 

समूहको स्थापनापछि उनीहरूले बाजा बजाउन सिके। त्यसपछि उनीहरूको समूहले विभिन्न कार्यक्रममा गएर नौमती बाजा बजाउन सुरु गर्‍यो। 

यसरी बाजा बजाउन सुरु गरेको पनि पाँच वर्ष पुगिसकेको छ।

उनीहरूको नौमती बाजा समूह झापामा निकै लोकप्रिय भइसकेको छ। निम्तो पाएका सबै स्थानमा पुग्न उनीहरूलाई भ्याइनभ्याई हुन्छ।

शान्ताका भनाइमा पहिले उनलाई निरुत्साहित गर्नेहरू अहिले आफ्ना परिवारका सदस्यहरूलाई पनि यो समूहमा सामेल गरिदिन आग्रह गर्दै आउँछन्। 

झापाबाहेक उनीहरू भारतका कलकत्ता, आसाम, कालिम्पोङ, दार्जिलिङ, खर्साङ, मिरिक, सिक्किम पनि पुगिसकेका छन्। 

केही वर्षअघि सिक्किमको राजधानी गान्तोकमा भानु जयन्तीका दिन उनीहरूको प्रस्तुतिबाट मुख्यमन्त्री पी.एस. गोले समेत प्रभावित भए। 

यो समूहको प्रस्तुतिबाट प्रभावित उनले नेपाली संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै समूहलाई एक लाख भारतीय रूपियाँबाट पुरस्कृत गरे।  

‘विदेशमा जाँदा नेपाली संस्कृति संरक्षण गरेको भनेर हामी प्रोत्साहन र सम्मान पाउँछौँ,’ शान्ता गुनासो गर्छिन्, ‘तर, आफ्नै देशमा भने त्यस्तो प्रोत्साहन छैन।’ 

उनीहरूका बुबा रामनाथ दाहालले ५ दशकअघि राजनीतिक क्रान्तिका लागि आफ्नै जीवनको बलिदान दिएका थिए। तिनै सहिदका छोरीहरू सामाजिक–सांस्कृतिक क्रान्तिको वाहक बनेका छन्।  

भिडिओ :

मंसिर १२, २०८१ बुधबार ६:५३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad