समाज


फुली लगाए पनि जिम्मेवारीविहीन भए ८ डीआईजी

फुली लगाए पनि जिम्मेवारीविहीन भए ८ डीआईजी

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १८:६, काठमाडौँ

नेपाल प्रहरीका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) जिम्मेवारी विहीन भएका छन्। मंसिर १७ गते सरकारले उनीहरुलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरे पनि पदस्थापन अझै गरेको छैन।

नेपाल प्रहरीको डीआईजीमा ध्रुवबहादुर राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक बढुवा भएका थिए। 

उनीहरुलाई तीन दिनअघि नै दज्र्यानी चिन्ह प्रदान गरिसकिएको छ। तर जिम्मेवारी भने तोकिएको छैन। अहिले पनि नेपाल प्रहरीको डीआईजी दरबन्दी भएका कार्यालय  एसपीले चलाइरहेका छन्। 

डीआईजीहरु भने जिम्मेवारीविहीन छन्। उनीहरु एसएसपी हुँदा ध्रुवराज राउत प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल, भोलाबहादुर रावल गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा, गणेश चन्द नेपाल प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुसन्धान महाशाखा नक्साल र सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा कार्यरत थिए।

यस्तै सुशील सिंह राठौर कोसी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा विराटनगर, उमाप्रसाद चतुर्वेदी नेपाली राजदूतावास (कन्सुलर) नयाँ दिल्ली, हिमालयकुमार श्रेष्ठ लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल र डम्बरबहादुर विश्वकर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत थिए। 

विक कार्यरत विमानस्थलमा डीआईजी नै खटाइने गरिएको छ। उनी हाल सोही स्थानमा काम गरिरहेका छन्। तर अन्य प्रहरी भने जिम्मेवारीविहिन भएका हुन्।  

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर जिल्ला दौडाहा र प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेकाले डीआईजीको पदस्थापन गर्न ढिलाइ भएको गृह मन्त्रालयको भनाइ छ। 

गृह मन्त्रालयका एक अधिकारीले भने, ‘प्रदेशसहित महत्त्वपूर्ण कार्यालयमा जिम्मेवारी हेरफेर गर्ने तयारी छ। प्रधानमन्त्री बाहिर भएकाले हुन नसकेको हो। प्रधानमन्त्री आउनु भयो। अब आईजीपी र गृहमन्त्रीले यो मिलाउनुहुन्छ।’

पदस्थापन नहुँदा प्रहरी प्रधान कार्यालयका अपराध अनुसन्धान विभाग, प्रशासन विभाग, कार्य विभाग, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महिला बालबालिका निर्देशनालय, प्रदेश समन्वय विभाग र साइबर ब्युरोका दरबन्दी रिक्त भएका छन्। मंसिरदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि डीआईजीको पद खाली भएको छ।  

यीमध्ये तीनवटा दरबन्दीका डीआईजीलाई भने अन्य कार्यालयमा खटाइँदै आएको छ। महिला बालबालिका निर्देशनालय, प्रदेश समन्वय र साइबर ब्युरोमा दरबन्दी हुने  डीआईजीलाई भरतपुर तालिम शिक्षालय, त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल र ट्राफिक प्रहरी महाशाखामा काजमा खटाइँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad