शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै बढ्दा अधिकतम तापक्रम भने घटेको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बिहीबार ५.७ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम शुक्रबार ह्वात्तै बढेर ८.९ डिग्री सेल्सियसमा उक्लिएको छ।
तर बिहीबार १९.४ डिग्री सेल्सियस रहेको काठमाडौँको अधिकतम तापक्रम घटेर शुक्रबार १८.६ डिग्री सेल्सियसमा ओर्लिएको छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने दिउँसोचाहिँ बादल लाग्यो र घाम त्यति लाग्न पाएन भने अधिकतम तापक्रम घट्छ।
मौसम महाशाखाकी मौसमविद् निर्मला रेग्मीका अनुसार बिहीबार रातभर काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको थियो।
हेर्नुहोस् देशभरको तापक्रम सूची

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँदयाम लागेको छ। यो सिजन फेब्रुअरीसम्म रहन्छ।
Shares

प्रतिक्रिया