प्रदेश १ काे आइतबार बसेको प्रदेश सभा बैठकमा नेकपा संसदीय दलको तर्फबाट बोल्दै सांसद गोपालचन्द्र बुढाथोकीले अस्पतालमा चिकित्सकहरु रुघाखोकी र ज्वरोको बिरामीलाई समेत कोरोनाको आशंका भन्दै उपचार गर्न आनाकानी गर्ने गरेको विषय उठाए।
सोही विषयमा सोमबार नेपालखबरसँग कुरा गर्दै बुढाथोकीले अर्का प्रदेश सांसद पूर्णप्रसाद राजवंशीलाई ज्वरो आएर अस्पताल जाँदा झापाकै बिएण्डसी अस्पतालले उपचार नै नगरी एम्बुलेन्सबाटै कोरोना (कोभिड–१९)को आशंकामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको उदाहरण सुनाए।
‘पूर्णजीलाई ज्वरो आएको रहेछ। त्यसैको उपचारका लागि उहाँ अस्पताल जानुभयो,’ बुढाथोकीले भने, ‘ज्वरो आएकाले कोरोना लागेको आशंकामा अस्पतालमा डाक्टरले उनको उपचारै गर्न मानेनन। धरानलाई रिफर गरिदिएछन।’
कोरोनाको आशंका लागेर उपचार नपाएका सांसद राजवंशी सोमबार दिउँसो नेपालखबरसँग कुरा गर्दा झापाकै अर्को अस्पताल बिर्ता सिटीमा उपचार सकी डिस्चार्ज भइसकेका थिए।
‘जनै खटिराका कारण निकै टाउको दुख्ने, ज्वरो आउने भएर म अस्पताल पुगेको थिएँ। बिएण्डसी अस्पतालले कोरोनाको लक्षण भन्ने आशंकामा उपचार नै गर्न मानेन। अहिले अर्को अस्पतालमा उपचार गराएर म डिस्चार्ज भैसकेको छु,’ नेपालखबरसँग उनले भने।
उपचारमा खटिएका विर्ता सिटीका चिकित्सक सुधीर गिरीले पनि राजवंशीलाई जनै खटिरासँगै ज्वरो आएको र उपचार पश्चात डिस्चार्ज गरिसकिएको जनाए।
‘ज्वरो आएको विरामीलाई पनि कोरोनाको आशंकामा उपचार नगर्ने गैरजिम्मेवारिपन देखिएको छ,’ सांसद राजवंशी भन्छन्, ‘साथीहरुले पनि सदनमा यो कुरा उठाउनुभएको छ। स्वस्थ भएपछि म पनि यो कुरा उठाउँछु।’

बिएण्डसी अस्पतालले भने सांसद राजवंशीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि यस क्षेत्रका लागि सरकारले नै तोकेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान सुझाइएको जनाएको छ।
अस्पतालका जनसम्पर्क अधिकृत श्रमिक गिरीले भने, ‘अस्पतालको हाताभित्र छिर्नु अघि नै हामीले हेल्थ डेस्कमा ज्वरो नाप्छौं। ट्राभल हिस्ट्री हेर्छौ। यदि कोही शंकास्पद देखिए त्यहीबाट रेफर गर्छौ। बुढाथोकीलाई पनि ५–७ दिनदेखिको ज्वरो आएकाले रोकेर राख्नुभन्दा उपचार हुने धरान पठाएका हौं।’
कोरोनाका बिरामीहरुको उपचार गर्नु आफूहरुको पनि दायित्व भएको बताउँदै सुरुमा आफ्ना चिकित्सकहरु सुरक्षित गर्ने उपकरणहरु सरकारले उपलब्ध गराउनुपर्ने उनले बताए।
यस्तै जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका अनुसार विराटनगरको नोबेल मेडिकलबाट आशंकाकै भरमा काठमाडौं पठाइएका एक व्यक्तिको रिपोर्ट समेत नेगेटिभ (संक्रमित नभएको) आएको छ।
यता सरकारले प्रदेश २ मा पर्याप्त आवश्यक सामाग्री नपठाएका कारण चिकित्सकहरु दोधारमा देखिए। कोरोना नमूना परिक्षणको जिम्मा पाएको नारायणी अस्पतालकी प्याथोलोजिस्ट डा. निरा पाठकले हालसम्म नमूनाहरु काठमाडौं पठाउने साधन नै आइनपुगेको बताइन्।
‘आजै बसेको अस्पतालको बैठकले शंकास्पद बिरामीको नमूना संकलन गरेर चाँडै टेकुस्थित प्रयोगशालामा पठाउने निर्णय भएको छ,’ डा. पाठकले नेपालखबरसँग भनिन्, ‘तर नमूना पठाउने साधनहरु भने आइपुगेका छैनन्। एन–९५ मास्क पनि पर्याप्त छैन। हामीले माग गरेका छौं।’
उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा सुट भने उपलब्ध भइसकेको उनले जनाइन्।
स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठले यसअघि विभागको ५ सदस्यीय टोलीले देशभरको अवस्था जाँचबुझ गरेर आइसकेको र कुन ठाँउमा के आवश्यक छ त्यहीअनुसार सामानहरु पठाउन थालिसकेको जनाए।
‘टोलीले प्रदेश तथा स्थानीय निकायमा जाँचबुझ गर्ने तरिका तथा आवश्यक जनशक्ति तथा सामानहरुको विवरण लिएर आइसकेको छ। त्यसैको सुझाव अनुसार हामीले सामानहरु पठाइँरहेका छौं। थप आवश्यक भएअनुसार व्यवस्था गरिनेछ’ उनले भने।
देशको मुख्य सरुवा रोग अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले टेकु अस्पतालमा हालसम्म चिकित्सकहरु सशंकित नरहेको तर बाहिर त्यसो भएको हुनसक्ने बताए।
‘यसअघि डेंगुको उपचारका क्रममा हाम्रा स्टाफहरु विरामी पर्दा समेत हामीले सेवा दिएका थियौं,’ उनले भने, ‘टेकूमा बिरामीसँग सशंकित हुने अवस्था छैन। तर, कतिपय स्वास्थ्यकर्मीहरु डराउने, तर्सिने हुनसक्छ। त्यो व्यक्तिपिच्छे फरक व्यवहार हुन्छ।’

प्रतिक्रिया