समाज


रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदै

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदै

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०८१ आइतबार ८:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोगपत्र दर्ता हुने भएको छ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो। 

कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज उनीविरुद्ध अभियोगपत्र दर्ता हुने जानकारी दिइन्। 

‘आज अभियोगपत्र दर्ता गर्दै छौँ’, जिल्ला न्यायाधिवक्ता काफ्लेले आइतबार बिहान नेपालखबरसँग भनिन्। 

पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत रवि लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीलगायत ३२ जनाविरुद्ध माथि उल्लिखित तीन अभियोगमा आज मुद्दा दर्ता गर्न लागिएको हो। 

सो प्रकरणमा गत असोज ६ गते पक्राउ परेका छविलाल जोशी हिरासतमा रहेको गत शुक्रबार नै ९० दिन पुगिसकेको छ। रवि भने गत कात्तिक २ देखि प्रहरीको हिरासतमा छन्। 

सम्पत्ति शुद्धीकरण आरोपमा अभियुक्तलाई बढीमा ९० दिन मात्रै हिरासत राख्न पाइने कानुनी व्यवस्थाअनुरूप उनीविरुद्ध शुक्रबार नै अभियोगपत्र दर्ता हुने अनुमान गरिएको थियो। 

तर जिल्ला सरकारी वकिल कार्यालयले आज मात्रै मुद्दा दर्ता गर्न लागेको हो।

जिल्ला सरकारी वकिल कार्यालय प्रमुख काफ्लेले कानुनले व्यवस्था गरेको म्यादभित्रै आज अभियोगपत्र दर्ता गर्न लागिएको दाबी गरिन्। 

‘शुक्रबार मध्यराति १२ बजेसम्म म्याद हो, भोलिपल्ट शनिबार (बिदा) परेकाले आज (आइतबार) मुद्दा दर्ता गर्न लागेका हौँ’, उनले भनिन्।

शुक्रबार भने सोही प्रकरणमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध थप कसुरमा सजायको माग गर्दै जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर गरिएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेका अनुसार गत वर्ष सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएकामा शुक्रबार संगठित अपराधको कसुर पनि थप गरेर उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो। 

यसअघि जीबीसहित १९ जनाविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा चलाइएको थियो।

अघिल्लो मुद्दामा सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको थियो। तर शुक्रबार दायर गरिएको अभियोग पत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो कायम गरिएको काफ्लेले बताइन्। 

उनीहरूलाई सहकारी ऐन अनुसार बिगो भराउन र बिगो बराबरको जरिवाना गराउन माग गरिएको छ। सोही ऐन अनुसार कैद सजायको पनि माग गरिएको थियो।

ती १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि सजाय माग गरिएको छ। जीबी राईविरुद्ध भने क्रिप्टो करेन्सीमा कारोबार गरेको आरोपमा समेत सजाय माग गरिएको छ।

यसअघि सहकारी ठगी आरोपमा २०८० भदौमा अभियोगपत्र दायर भएका सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेलसहितविरुद्ध मुद्दा दर्ता भएको थियो। 

यस्तै सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई, पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध सरकारी वकिल कार्यालयले बिगो बढाउँदै थप कसुरमा सजाय माग गर्दै अभियोगपत्र दायर गरेको हो। 

पूरक अभियोग लगाइएकामध्ये ६ जना कास्की कारागार र ३ जना अन्य कारागारमा छन्। १० जना भने फरार छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad