मनसुनी वायुको प्रभावले यतिबेला (बिहीबार बिहान) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश आकाश बादलले ढाकेको छ। कोसी र बागमती प्रदेशमा साधारणतया र मधेस प्रदेशको आकाशमा आंशिक बादल लागेको छ। अनि बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि केही स्थान, लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेश तराईका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
यस्तै राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थान साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेश र कोसी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।गण्डकी र बागमती प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।
काठमाडौँमा कति बेला छ वर्षाको बढी सम्भावना?
आज काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बिहान भने काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ।
‘कतै कतै सिमसिम पानी पनि परिरहेको छ’, उनले बिहान साढे ७ बजेतिर नेपालखबरसँग भने, ‘तर यो क्रम बिस्तारै घट्दै जाने देखिएको छ। घाम पनि देखिन सक्छ। तर दिउँसो फेरि बादल बढ्दै गएर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

आज यी जिल्लामा छ बाढीको जोखिम
आज पश्चिमका पाँच जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढी महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु, नवलपरासी-पश्चिम र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
सचेत गराउँदै अगाडि भनिएको छ, ‘उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’
बाढीबारे विस्तृत जानकारी तल



Shares

प्रतिक्रिया