समाज


हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर

हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर

नेपालखबर
पुस ९, २०८१ मंगलबार २१:३१, सिमकोट (हुम्ला)

हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ। सोमबार रातिदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरूद्ध हुन पुगेको हो।

आज बिहान पनि जिल्लामा हिमपात हुनुका साथै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा अवरूद्ध हुन पुगेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ। नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका जहाजले हुम्लामा हिमपातका साथै मौसम खराब हुँदा आफ्नो उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख मोहन सिंहले बताए।

नेपालगञ्जदेखि निजी जहाज समिट, सीता र ताराका साथै सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले आफ्नो उडान भर्दै आएका थिए। मङ्गलबार जिल्लाको मौसम खराब हुँदा जहाजले आफ्नो उडान गर्न नसकेको बताइएको छ।
   
यस्तै, सदरमुकाम सिमकोटदेखि चल्दै आएका सवारीसाधनसमेत अवरूद्ध भएका छन्। हिमपातले सिमकोटदेखि खार्पु, उत्तरी हिल्सालगायत गाउँमा पुग्ने सडकमा हिउँले आवतजावतमा समस्या हुने भएपछि सवारीसाधनसमेत आवतजावतमा रोकिएका छन्। यस्तै, जिल्लाका दक्षिण भेगमासमेत सवारीसाधनले आवतजावत गर्न नसकेको बताइएको छ।
   

सोमबार दिउँसो मौसम सफा रहे पनि रातीदेखि फेरबदल हुँदा जिल्लामा हिमपात सुरू भएको हो। सोमबार राति ३ः३० बजेदेखि हिमाली जिल्ला हुम्लाको सिमकोट आसपाससहित उत्तरी भेगमा हिमपात भएको हो। सदरमुकाम सिमकोटमा आज बिहानसम्म दुई इञ्चसम्म हिउँ जमेको थियो भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको बताइएको छ।

जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ। चिसोका साथै दोस्रो पटक हिमपात हुँदा आवतजावतमा समस्या बनाएको छ। हिमपातले उत्तरी नाम्खासहित सिमकोटको जनजीवन थप प्रभावित भएको छ। चिसोले यहाँका नागरिकलाई दैनिक जीवनमा कष्टकर बनाएको छ। साथै सदरमुकाम सिमकोटमा दैनिक सेवाग्राहीको भिडभाड हुने कार्यालय आज सुनसान छ।
 
नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ। सदरमुकाम सिमकोटको तापक्रम माइनस सात डिग्रीमा पुगेको छ। उत्तरी भेगको तापक्रम माइनस १० डिग्री पुगेको छ। जिल्लाको दक्षिण भेगमा भने हावाहुरीका साथै वर्षा भएको छ।

जिल्लामा दोस्रो पटक हिमपात हुँदा बालबालिका, वृद्धवृद्धा बालबालिकालगायत सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आग्रह गरेका छन्। हिमपहिरो खस्ने आसपासका बस्तीमा सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad