समाज


सीआईबीको सातबुँदे सूचनाः अपरिचित फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू

सीआईबीको सातबुँदे सूचनाः अपरिचित फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू

नेपालखबर
पुस १९, २०८१ शुक्रबार २०:३३, काठमाडौँ

केही दिनयता सामाजिक सञ्जालमार्फत फोन वा मेसेज गरी सरकारी कर्मचारी तथा आम नागरिकलाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सजग रहन नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुरोध गरेको छ। 

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक होबीन्द्र बोगटीले शुक्रबार विज्ञप्ति जारी गरी अनलाइन ठगी के कसरी भइरहेको छ भन्ने जानकारी गराएका हुन्। 

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी संदिग्ध फोन नम्बरहरू सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरहरूबाट आएका फोन तथा मेसेजहरू नउठाउन तथा रिप्लाई नगर्न हुनसमेत अनुरोध गर्दछौँ।’

यस क्रममा सीआईबीले हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारमा कर्मचारीहरूको ५ लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी गरिएको सम्बन्धमा अनुसन्धान जारी रहेको जानकारी पनि गराएको छ।

यस्तो छ सीआईबीले जारी गरेको विज्ञप्ति-

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोध

केही दिनयता सामाजिक सञ्जालहरू जस्तै: फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप मेसेन्जर, भाइबर, इमोलगायतका सोसल प्लाटफर्म तथा ई-सेवा, खल्तीजस्ता वालेट तथा बैंक/वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा मेसेज गरी नेपाल सरकारका कर्मचारीहरू तथा आम सर्वसाधारणहरूलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी हुने गरेका घटनाहरूप्रति यस ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता प्रकृतिका अनलाइन ठगीहरूबाट बच्न निम्न कार्यहरू नगर्न हुन सम्पूर्ण आम नागरिकहरूमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) हार्दिक अनुरोध गर्दछ।

१. ई-सेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरूको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने।

२. ई-सेवा, खल्तीलगायत डिजिटल वालेटमा पटकपटक गलत पासवर्ड राखेर वालेट टेम्पोररिली क्लोज गर्ने र त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईंको वालेटमा समस्या आएको छ? म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी माग गर्ने र क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेट वा बैंक खातामा ट्रान्सफर गर्ने।

३. सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने मेसेजहरू पठाउने र विभिन्न किसिमका आर्टिफिसियल इन्टेलिजेन्सले क्रिएट गरेको आवाजबाट कल गरी तपाईंको सामान आएको छ, तपाईंलाई फाइदा हुने खालको व्यापार छ भन्नेजस्ता लिंक पठाई खोल्न लगाउने र लिंक खोल्नेबित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुर्‍याई पैसा ट्रान्सफर गर्ने।

४. अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो/भिडिओ अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्यूआर र बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन भई ठगी गर्ने।

५. हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारमा कर्मचारीहरूको ५ लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणहरूको करोडौँ रकम ठगी गरिएको सम्बन्धनमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

६. यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी संदिग्ध फोन नम्बरहरू सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरहरूबाट आएका फोन तथा मेसेजहरू नउठाउन तथा रिप्लाई नगर्न हुनसमेत अनुरोध गर्दछौँ।

७. यस्ता किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरूको सम्बन्धमा कुनै जानकारी भएमा यस केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन हुन अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad